कैलाली र बर्दियाका थारू बस्ती डुबानमा, १९ वर्षीया नविना चौधरी बगेर बेपत्ता
कैलालीमा लगातारको अविरल वर्षापछि आएको बाढीले करिब १ हजार बढी घर डुबानमा परेका छन्। जिल्लाको भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाका बस्तीहरु डुबानमा परेका हुन्। त्यस्तै, जिल्लाको पहाडी जिल्ला चुरे गाउँपालिकाका स्थानीयहरु पहिरोले प्रभावित भएका छन्।
कैलाली जिल्लाको दक्षिण पूर्वी क्षेत्र बाढीले प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। मोहना, पथरैया, काडा र कान्द्रा नदीमा आएको बाढी बस्तीमा पस्दा बस्ती डुबानमा परेका हुन्। नदीको जलस्तर बढ्ने क्रममा रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको पनि सूचना अधिकारी जोशीले बताए।
यता कैलारी गाउँपालिकाको वडा नम्बर ५ अन्र्तगत मनकापुर, बन्दरगौरी, बैजपुर, सपना शिविरसहित वडा नम्बर ७ को बर्का वसन्ता, छटकपुर बसन्ता, रामपुर, नारायणपुर लगायतका गाउँ डुबानमा परेका छन्। कैलारीका पालिका अध्यक्ष राजसमझ चौधरीका अनुसार कटैनी नदीमा आएको बाढीले वसन्ता, छटकपुर बसन्ता, रामपुर, नारायणपुर लगायतका गाउँमा डुबान भएको हो। अहिले जनप्रतिनिधि, सशस्त्र प्रहरी, स्थानीय लगायतले पीडितको उद्धार गरिरहेको अध्यक्ष चौधरीले बता्रए। कैलारी गाउँपालिका उनले आफ्नो हालसम्मकै ठूलो बाढी देखेको दाबी गरे। गाउँपालिकास्थित वडा नं ७ पुरै र वडा नं ५ का अधिकांश घर डुबानमा परेको बताउँदै उनले उद्धारको कार्य जारी रहेको बताए।
यसैबीच कैलालीमा माछा मार्ने क्रममा बगेर एक युवती बेपत्ता भएकी छन्। धनगढी उपमहानगरपालिका-१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीया नविना चौधरी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी वेदप्रकाश जोशीले जानकारी दिए। चौधरी नालामा बगेको खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी टोली परिचालन भएपनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको जनाइएको छ।
बर्दियामा बाढीबाट बस्ती डुबान
अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती ढुवानमा परेका छन्। बुधबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिकाअन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुवानमा परेका छन्।
जिल्लाको कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर-७ बाजुरोली टोलका ३०, ठाकुरबाबा नगरपालिका–७ र ५ का ३५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद बास्तोलाले जानकारी दिए। नदी र खोलामा पानीको सतह बढने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन नदीमा माछामार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको प्रजिअ बास्तोलाले जानकारी दिए।
बर्दियालगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भएपछि बबई नदीले खतराको तह पार गरेको छ। बबई नदीको चेपाङमा पानीको सतह ६ दशमलव १३ मिटर पुगेको छ। ५ दशमलव ५० चेतावनी र ६ दशमलव १० मिटरलाई खतराको तह मानिन्छ। बर्दियाको कर्णाली राजापुरमा २४ घण्टामा दुई सय ६७ दशमलव ४ मिलीमिटर वर्षा मापन गरिएको छ।
Facebook Comment