काठमाडौंमा गुरही पर्वको उल्लास, फोटो फिचर हेर्नुस्

काठमाडौं बस्ने थारूहरूले गुरही पर्व मनाएका छन् । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा थारू समुदायका युवा युवतीले गुरही ‘असराए’का हुन् । पश्चिम तराईका थारू समुदायका बालबालिकाहरूले मनाउने यो पर्व पछिल्लो समय युवा पुस्ताले पनि मनाउन थालेका छन् ।

चम्पन साँस्कृतिक समूहका अध्यक्ष एवं कार्यक्रम संयोजक नन्दुराज चौधरीले गुरही पर्वलाई प्रवद्र्धन गर्न काठमाडौंमा मनाएको बताए । उनले विसं २०७३ सालदेखि गुरही पर्व मनाउँदै आए पनि बीचमा कोरोना महामारीले गर्न नसकेको बताए ।

‘हामीले कोराना महामारीअघि चार वर्ष लगातागर गुरही मनाएका थियौं । दुई वर्षपछि फेरि मनाएका छौं । हाम्रो उद्देश्य भनेकै यो पर्वलाई बचाउनु हो । नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हो,’ उनले भने ।
कार्यक्रममा शिव चौधरीले गुरहीबारे कार्यत्रपत्र प्रस्तुत गरेका थिए । उनले बालबालिकामा यो पर्व लोकप्रिय भए पनि पछिल्लो समय लोप हुँदै गएको बताए । पुस्तान्तरण गर्नका लागि भए पनि यो पर्वलाई बचाउनुपर्ने उनको भनाइ थियो ।

‘केही वर्ष अघिसम्म यो पर्व हाम्रा गाउँ घरमा उल्लासममय वातावरणमा मनाइन्थ्यो । तर हाम्रा छोराछोरी अहिले आधुनिकतामा रमाउन थालेका छन् । हामीले पनि छोरा छोरीलाई आफ्नो सँस्कृतिबारे बताउन हिचकिचाइरहेका छौं । अब पनि हाम्रा चाडपर्वको संरक्षण नगर्ने हो भने लोप भएर जानसक्ने खतरा छ,’ उनले भने । उनले सरोकारवालाहरूको यसतर्फ ध्यानाकर्षण गराए ।

के हो गुरही पर्व ?
नाग पञ्चमीको दिनमा मनाइने यो पर्वले भाइ र बहिनीबीचको प्रेम र अटूट सम्बन्धलाई स्मरण गराउने थारू लेखक दिलबहादुर चौधरी बताउँछन् । ‘भाइ बहिनीबीचको माया प्रेमको प्रतीकको रूपमा मनाइने यो पर्वमा केटी÷महिलाले गुडिया (पुतला) अर्थात् गुरिया फाल्ने गर्छन् र केटा–पुरुषले सोंटा, कोर्रा, लट्ठीले पिट्छन् र दुबै पक्ष रमाउँछन्,’ उनी भन्छन्, ‘अर्थात भाइ, बहिनीले वा महिला, पुरुषले पुतलासँगै दुर्गुण, अवगुणलाई फाल्ने, रोगब्याध, दुःखकष्टलाई फाल्ने र नसताओस् भनी कामना गर्ने, गल्ती नदोहो¥याउने वाचा गर्ने, आपसमा माया प्रेम साट्ने, स–साना बालबालिकाहरूप्रति माया दर्शाउने पर्व हो ।’

गुरही पर्वसम्बन्धी विभिन्न किम्बदन्ती रहेको लेख चौधरीको भनाइ छ । चौधरीका अनुसार एक किम्बदन्तीमा एक जना ब्यक्ति त्यौहार मान्न आफ्नो बहिनीलाई बोलाउन गएको थियो । बहिनीको बिहा धनी घरमा भएको थियो । गरिब दाजुलाई देखेर उनी मान मर्यादामा बेवास्ता गरिन् । उनको बेवास्ता र अपमानका कारण दाजु घर फिर्ता भए । बहिनी एक्लै माइती आइन् । बहिनीको बानी ब्यहोराका कारण माइती पक्षले पनि जति गर्नुपर्ने हो, मानमर्यादा गरेन । बिदाईको दिनमा माइती पक्षले बहिनीलाई नदी पार गरेपछि, अब कहिल्यै नआउनु भनी बिदाई गरे रे । बिदाईको दिनमा नाग पञ्चमी थियो । त्यसबेला देखि नै कपडाको गुरिया (गुरही)लाई पिट्ने र नदीमा सेलाउने चलन चलेको हो भन्ने भनाइ पनि छ ।

तस्बिरहरु : Dul brave Photography

]




Leave a Reply

Your email address will not be published. Required fields are marked *