थारुहरुको नयाँ वर्ष ‘माघ पर्व’

बपकी सगर गैनु हाँ मुरिया लहान
सखिए हो सेंडुरा छुटल पानी घाट।
पुस माघको जाडो महिनामा थारु जातिले आफ्नो भेषभुषा,संस्कृतिमा सजिदै आफ्नै मौलिक सांगितिक झन्कारसँगै माघ पर्व मनाउँछन् । गालामा चाउरी परेका बुढाबुढीहरु पनि १६ वर्षे जवानीको जोशमा मादल, कस्तार, मुजुरा, ताली अनि मघौटा नाचको गीत संगीतमा झुम्मिन्छन् । करिब एक महिना अघिदेखिको तयारीमा जुटेका थारु समुदाय अनदीको झोल, ढिकुरीको स्वादमा रमाउदै नयाँ वर्ष मनाउछन् । नेपाल राष्ट्र आफैमा एक बहुभाषिक,बहुधार्मिक मुलुक हो । यहाँ बाह्रै महिना कुनै न कुनै चाड पर्व ,मेलापर्व, महोत्सव, परिरहन्छ । भर्खरै पुसको १५ गतेका दिन गुरुङ्ग जातिको ल्होसार सकिएको केही दिन यता थारु समुदायको महान पर्व माघी घरघरमा प्रवेश गरिसक्छ । यस पर्वलाई सवै नेपालीहरु बेग्लाबेग्लै ढङ्गबाट मनाए पनि थारु समुदायको आफ्नै खालको मौलिक संस्कार, संस्कृति रहेको छ । थारु समुदायमा यस पर्वलाई नयाँ वर्ष, उन्मुक्ति दिवस, सद्भाव एवम् खुशियालीको रुपमा मनाउँछन् ।

माघ पर्व मुलतः ३ दिनसम्म धुमधामका साथ मनाइन्छ । पुसको अन्तिम दिन माछामासु जोहो गरी आफ्ना चेलीबेटीलाई गोचारिन्छ । सोही दिन साँझ बरघरको आँगनमा आगो बाली रातभर धुनी जगाइ ढुमरु गीत गाइन्छ । भोलिपल्ट माघको १ गतेका दिन बिहानै नजिकको खोला नदीमा गई नुहाइन्छ । नुहाइ सकेपछि नदीमा पुजाअर्चना गरी दाजुभाइ एकआपसमा सेतो चामलको टिका लगाइन्छ । त्यसपछि घरमा आएर नुन, मासको दाल र चामल ३-३ पटक अँजुली भरि भरि छुट्टै ढकियामा राखिन्छ । जसलाई निस्राउ कहर्ना भनिन्छ । यो निस्राउ कोशेलीको रुपमा आफ्ना दिदीबहिनीलाई दिने चलन छ । निस्राउ भाग छुट्याइ सकेपछि घरमा सबभन्दा बुढा बाजे, बज्यै, आमा, बुवाबाट ढोग गरी आशिर्वाद लिइन्छ ।

खानपिन गर्दै गाउँभरिका मान्यजनबाट ढोग सेवा लिई आशिर्वाद लिने क्रम जारी रहन्छ । माघ २ गतेका दिन गाउँको बडघरको आँगनमा जम्मा भई अगुवा छान्ने, विकास निर्माणको योजना बनाउने छलफल गरिन्छ । जसलाई बखेरी बसेको भनिन्छ । थारु परिकार ढिकुरी, अनदीको झोल, सँुगरको मासु, मुलाको अचार, तरुल,गैँजी आदि बनाइ आफन्तजन,इष्टमित्रहरुलाई खुवाइपिवाइ गरि मनाइन्छ । आफन्तहरु बीच खाने खुवाउने क्रम हप्ता दिन सम्म चल्छ ।

त्यसबेलाको समयमा थारुहरु कृषि पेशामा निर्भर भएकै कारण मंसिर पुसको जाडोमा धान दाइँ गरी घरघरमा अन्न भित्र्याएकाले फुर्सदिलो समय हुने, अर्काको घरमा काम गर्न बसेको बर्ष पुगेर घरपरिवारसँग भेटघाट हुने भएकाले अत्यन्तै खुशियालीको रुपमा मान्दै आएको पाइन्छ । आजभोलि माघ पर्वलाई थारुहरुको विभिन्न संगठनहरुले जिल्ला व्यापी एवं राष्ट्रिय रुपमा महोत्सवको रुपमा भव्यताक साथ मनाउन सुरु गरेको पाइन्छ । देश विदेशका विभिन्न सहरहरुमा माघ मिलन, माघ महोत्सवको रुपमा मनाउने प्रचलन बढ्दै गएको पाइन्छ । थारुहरुको छाता संगठन थारु कल्याण कारिणी सभा लगायत विभिन्न अन्य थारु संगठन मिलेर माघ १ गते काठमाडैाँको टुडिखेलमा माघ महोत्सव मनाउदै आइरहेका छन् । यसले पनि माघको महत्व चारैतिर बढ्दै गएको अनुभूत गर्न सकिन्छ । वर्तमान समयमा पहिलेको जस्तो धेरै फुर्सदिलो मान्छे कम छन् । समयको परिवर्तनसँगसँगै थारु समुदायका मानिसहरु पनि विभिन्न पेशा, व्यवसाय,उद्योग धन्दामा व्यस्त भएकाले पहिलाको जस्तो जमघट हुन सक्ने स्थिति ज्यादै कम छ । त्यसैले माघ पर्व गाउँघरमा औपचारिकतामा सीमित हुँदै छ । केही जागरुक युवा बुद्धिजीवी सर्कलले गाउँघर जिल्लामा विभिन्न नयाँ ढङ्ंगबाट माघ पर्वको संरक्षण संवद्र्धन गर्ने उद्देश्यले मनाउदै आएका छन् ।

हरेक पर्वको आ–आफ्नै विशेषता हुन्छन् । पर्व भन्ने वित्तिकै खानु पिउनु रमाइलो गर्ने सँग सरोकार राखिन्छ । वास्तवमा यस्ता पक्षलाई मात्र ध्यान दिँदा यसको अन्य सामाजिक, सांस्कृतिक अस्तित्व ओझेलमा पर्न सक्छ । माघ आयो, थारुहरुको घरमा मिठो गुलियो अनदीको झोल हुन्छ, ढिकुरी रोटी हुन्छ , नाचगान हुन्छ भन्ने खालका कुराले माघ पर्वको वास्तविकता झल्कन सक्दैन । यो पर्व अरु जातिले पनि मनाउँछन् तापनि थारु जातिसँग जोडिएर यस पर्वलाई किन हेरिन्छ त ? प्रश्न गम्भिर छ । तल्कालीन समयमा गाउँस्तरमा राज्यको उपस्थिति नै थिएन । त्यतिबेला थारु जातिले माघी पर्वमा छलफल बहस अन्तरक्रिया गरी राज्यको उपस्थिति विना आफ्नो देशलाई माया गरे गाउँको विकास निर्माणका लागि योजना बनाइ सडक बाटो आफै बनाए । खानेपानी,धारा, पाटी पौवा, धार्मिक स्थल, कुलो पैनी आदि मर्मत गर्ने कार्य गरे । यस्ता सकारात्मक पक्षहरु छन् जुन कुरा हामी सबैले अनुकरण गर्न सके समाज र राष्ट्रलाई नै फाइदा पुग्न सक्छ ।
माघ पर्व एउटा सद्भाव सौहार्दको प्रतिक मानिन्छ । छरछिमेकमा पारस्पारिक सम्वन्ध विग्रिएको, झैझगडा भई बोलचाल समेत बन्द भएको दाजुभाइ दिदीबहिनीहरु बीच एकआपसमा सेवा ढोग लागी बिग्रिएको सम्वन्धलाई शुभकामना आदानप्रदान गरी सम्वन्ध सुधार्ने, पारस्पारिक सहमति गरेर आफ्नो गाउँठाउँको विकास गर्ने योजना बनाउने प्रचलन छ । विभिन्न जातजाति,वर्ण, वर्ग, धर्म रहेको यो देशमा सबैको पहिचान बचाउन राज्यको ध्यान पुग्न सके नयाँ वर्षको हर्ष उल्लाससँगै साँच्चै थारुहरु मात्र होइन सम्पूर्ण नेपालीलाई उन्मुक्ति मिलेको अनुभुति हुने थियो ।

माघ वर्षै पिच्छे आउँछ जान्छ । यो क्रम चलिरहन्छ । थारु जातिमा यसको छुट्टै सामाजिक तथा सांस्कृतिक महत्व देखिन्छ । गाउँको साझा सवाल, विकास निर्माण, अगुवा छान्ने प्रजातान्त्रिक परिपाटी ज्यादै घत लाग्दो चलन छ । माघ पर्व विगतका पूर्खाले जसरी मनाए त्यसको राम्रा पक्षलाई अनुकरण गर्दै आजका पुस्ताले नयाँ चिन्तन, सोच र योजना बनाइ नयाँ कार्यको थालनी गर्न सकियो भने मात्र यस पर्वको महत्व झल्कन्थ्यो । हिजोको दिनमा हाम्रा पूर्खाहरुले माघ जस्तो महान पर्वमा घरको आर्थिक अवस्था अनुसार कुन छोरा कमैया बस्ने ,कुन छोरीको विवाह गर्ने,घर छुट्टिने कि नछुट्टिने, घरको मुली को हुने , कुन छोरीलाई कमलहरी बनाउने जस्ता छलफल गरिन्थ्यो भने अबका दिनमा थारु समुदायका आमाबुवा अभिभावकले कुन छोरालाई डक्टर पढाउने ,इन्जिनियर पढाउने, छोरीलाई नर्स पढाउने कि जेटिए पढाउने, आर्थिक अवस्था सुधार्न कस्तो व्यवसाय गर्ने आदि नयाँ सोच र विचारको चिन्तन गर्न जरुरी छ ।

संस्कृतिको मौलिकपनको संरक्षण गर्दै समयानुकूल बनाउनु आजको आवश्यकता छ । संस्कृति भन्ने कुरा विज्ञानको सापेक्षतामा हुनु पर्छ । कतिपय परम्पराका नाममा गलत संस्कारले बढावा पाइरहेको हुन सक्छ । त्यसतर्फ नयाँ पुस्ताको ध्यान जान जरुरी छ ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *