पूर्वमाओवादीहरुलाई ओली आबद्ध नेकपामा लाग्न मन्त्री गौरीशंकर चौधरीको आह्वान

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सहिद तथा घाइते परिवारको माग सम्बोधन गर्न आफू नेकपा ओली खेमामा आएको प्रष्टीकरण दिएका छन्। उनीविरुद्ध उनकै निर्वाचित कैलाली निर्वाचन क्षेत्र नं.३ मा भइरहेको निरन्तरको विरोध प्रदर्शनलाई मत्थर पार्न उनले सार्वजनिकरुपमै प्रष्टीकरण आशयको अभिव्यक्ति दिएका हुन्।

उनले आफू आएको प्रधानमन्त्री ओली निकट नेकपामा लाग्न पूर्वमा‌ओवादीहरुलाई आह्वानसमेत गरेका छन्। सडकबाट सहिदका सपना पूरा गर्न नसक्ने भन्दै उनले संस्थापन पक्ष अर्थात् ओलीसँग लागेर आगामी निर्वाचनमा दुई तिहाइ सिट जिताउन आह्वान गरे।

नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई आरोप लाग्ने गरेको छ, तपाईँहरु प्रचण्डलाई छाडेर किन जानुभयो भनेर। कमरेड प्रचण्डले हामीलाई लिएर तत्कालीन नेकपामा मिलाए। स्वार्थ मिल्दासम्म बस्ने, नमिल्दा छोडेर जाने? उहाँ पद लोलुप हो कि, हामी?’

उनले अगाडि थपे, ‘प्रचण्ड पनि प्रधानमन्त्री भए, तर सहिद परिवार, घाइतेहरुको लागि के गरे? म सत्तामा रहेर सहिद परिवारलगायतको मुद्दा सम्बोधन गर्न यता आएको हुँ।’ त्यस्तै, उनले प्रचण्ड-माधव समूहलाई एकै पार्टीमा मिलेर जानुपर्ने बताउँदै आगामी हुने निर्वाचनमा आफुहरुले दुई तिहाइ बहुमत ल्याएर देखाउने दाबी गरे।




One thought on “पूर्वमाओवादीहरुलाई ओली आबद्ध नेकपामा लाग्न मन्त्री गौरीशंकर चौधरीको आह्वान

  1. त जस्ता दलाल ले भनेर हुन्छ?ओलि भनेको एक दम खराब नेता हो,ओलि पछि हिड्ने नेता र जन्ता कहिल्य भलो हुदैन।मुलबासी मधेशी दलित लाई सिध्याउने नीति भएको सङ्घियता गणतन्त्र धर्म निरपेक्ष लोकतन्त्र लाई सकेर राजतन्त्र एकात्मक हिन्दुराज्य लाद्नु खोज्ने डिजाइन भएको नेता को पछि अब कोहि नलाग्नु।ओलि ग्रुप लाई कसै ले भोट नदिनु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *