मोर्चाद्वारा उच्च अदालतको फैसला जलाउने निर्णय

थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनामा उच्च अदालत दिपायलले गरेको फैसला जलाउने भएको छ। राजनीतिक घटनालाई सम्बाद र छलफलको माध्यमबाट समाधान गर्नुको थारुहरु जन्मकैद फैसला सुनाउनु दुर्भाग्य रहेको भन्दै आपत्ति जनएको छ।
‘आत्मसम्मान, पहिचान, न्याय, अधिकार एवं विकासको लागि निरन्तर हुँदै आएको शान्तिपूर्ण थरुहट संर्घषमा होमिएका निहत्था नेता कार्यकर्ताहरुमा षड्यन्त्रपूर्वक लगाइएका झुठा मुद्दामा न्यायालयले आफ्नो विवेक गुमाउँदै सरकार पहिचानविरोधी राजनितिक दल नेताहरुको निर्देशन, दबाब एंव प्रलोभनमा परी पूर्वग्रही ढंगले राति १० बजे गरेको फैसला नेपालको न्याय प्रशासन एंव राजनीतिक वृत्तमा कालो दिन हो। अदालतको यस फैसलाले मुलकमा अझै द्वन्द्व बढेर जाने निश्चिन्त छ। यस फैसलाप्रति हाम्रो मोर्चाको घोर असहमति रहेको छ,’ महासचिव तुल्सी प्रसाद चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मोर्चाले अदालतको अन्यायपूर्ण यो फैसलाको प्रतिलिपि सबै जिल्लाहरुमा सो फैसलाको विरोध गर्दै जलाउने र यसको विरुद्धमा मोर्चाका सबै तह तप्कामा एकजुट भई लागि पर्न आह्वानसमेत गरेको छ।

‘टीकापुर घटना राजनितिक घटना हो। यस घटनालाई राजनीतिकरुपमै सम्बाद, छलफल र निर्णयगरी राज्यसरकारले समस्याको समाधान गर्न आग्रह गर्दछौं। आफैँले गठन गरेको गृसचन्द्रलाल आयोगको प्रतिवेदनलाई सरकारले लुकाएर भ्रमको खेती गर्दै थरुहट आन्दोलनलाई कमजोर बनाउन, दबाउन जुन हर्कत गर्दै आएको छ यो लोकतन्त्रको दुर्भाग्य हो। सरकारले न्यायलयलाई समेत प्रभावित गरी टीकापुर घटनालाई झनै पेचिलो बनाउने कार्य गर्दै आएको छ। यसबाट मुलुकको हित हुन सक्दैन। यसर्थ टिकापुर राजनितिक घटनालाई राजनितिक हिसाबमा समाधान गरी उनीहरुले उठाएका जायज माग, मुद्दा र विगतमा भए गरिएका सहमति सम्झौता कार्यान्वयन गर्न जोरदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै थरुहट थारुवान् राष्ट्रिय मोर्चा कैलालीले धनगढीमा पत्रकार सम्मेलन गरेर उच्च अदालतको फैसला राजनीतिक पूर्वाग्रही ढंगले आएकाले आपत्ति जनाएको छ। ‘राजनीतिक पूर्वाग्रह राखी फैसला गरेको प्रति हाम्रो आपत्ति छ,’ मोर्चा कैलालीका संयोजक माधव चौधरीले भने ‘उच्च अदालतको फैसला प्रति हाम्रो गम्भीर खेद प्रकट छ।’

टीकापुर मुद्दालाई राजनीतिकरुपले समाधान गर्नुपर्ने उनले बताए। यदि राजनीतिकरुपले समाधान नभए राज्यविरुद्ध सशक्त सघर्षमा उत्रिने उनले पत्रकार सम्मेलनमा चेतावनी दिए। जनता समाजवादी पार्टी कैलालीका अध्यक्ष गया प्रसाद कुश्मीले टीकापुर घटना राजनीतिक आन्दोलन रहेको बताए। पहिचान सहितको सङ्घीयता हुन पर्छ भन्ने माग राख्दै थारुहट आन्दोलन गरिएको भन्दै उक्त आन्दोलनमा क्रममा घटेको घटनालाई राजनीतिकरुपले समाधान गर्नुपर्ने उनको भनाइ थियो । कुस्मीले उच्च अदालतले गरेको फैसला सचाइनुपर्ने समेत बताए।

‘यो मुद्दा राजनीतिक मुद्दा हो,’ उनले भने ‘राजनेताहरूले राजनैतिक रूपमै सम्बोधन गरेर यसको निकास निकाल्नुपर्छ। ’ राजनीतिक रूपले टीकापुर घटनाको निकास नभए देश अर्काे द्वन्द्वमा जाने उनको चेतावनी थियो ।

त्यस्तै मोर्चाका केन्द्रीय सल्लाहकार कृष्ण थारुले राज्यले थारुहरूमाथि दमन गरेको बताए। ‘न्यायको लडाइ जारी राख्दै सर्वोच्च अदालत जाने उनले बताए । ‘यदि सर्वोच्च अदालतबाट पनि न्याय नपाए हामी आन्दोलनको घोषणा गर्छाैं,’ उनले भने।

यो पनि पढ्नुस्:

टीकापुर घटनाको फैसला उल्टियो, रेशमसहित ७ जनाको फैसला सदर, ४ जनाको सजाय घट्यो 

लक्ष्मण थारुलाई जन्मकैद, संगम, दिल र जीतबहादुरलाई जनही दस वर्ष सजाय




Leave a Reply

Your email address will not be published. Required fields are marked *