झापा विद्रोह र जनयुद्धका नायकहरूको राजमा थारूविद्रोह अपराध ठहरियो : बाबुराम भट्टराई

कैलालीको टीकापुर घटनामा उच्च अदालत दिपायलले सांसद रेशमलाल चौधरी र लक्ष्मण थारूसहित ८ जनालाई जन्मकैद सुनाएको भन्दै पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन्।

बिहीबार अबेर सुनाइएको फैसलामाथि ट्वीटरमा प्रतिक्रिया दिँदै भट्टराईले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकलम दाहाललाई संकेत गर्दै यस्तो फैसला आउनु अन्यायपूर्ण भएको बताएका छन्।

‘यथास्थितिको रक्षार्थ कानुन/अदालत बन्छन्। अत:उत्पीडित थारूजातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन! विडम्बना झापाविद्रोह र जनयुद्धका नायकहरूको राजमा थारू विद्रोह अपराध ठहरियो! यो अन्याय सैह्य छैन। थारू नायकहरूलाई सलाम!’, भट्टराईले ट्वीटमा लेखेका छन्।

टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको इजलासले जिल्ला अदालत कैलालीको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनवाइ गर्दै रेशम चौधरीसहित ७ जनाको हकमा जन्मकैदको फैसला सदर गरेको हो।

७ भदौ २०७२ को टीकापुर घटना मुद्दामा यसअघि रेशमसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। उच्च अदालतले तीमध्ये ७ जनाको सजाय सदर गरेको छ भने चार जनाको सजाय घटाएको छ।

यो पनि पढ्नुस्:

टीकापुर घटनाको फैसला उल्टियो, रेशमसहित ७ जनाको फैसला सदर, ४ जनाको सजाय घट्यो 

लक्ष्मण थारुलाई जन्मकैद, संगम, दिल र जीतबहादुरलाई जनही दस वर्ष सजाय




Leave a Reply

Your email address will not be published. Required fields are marked *