कांग्रेसले देशव्यापी आन्दोलन गर्ने, विभिन्न सहरमा खटाइए केन्द्रीय नेता

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहारको विरोधमा कांग्रेसले साेमबार गर्ने विरोध प्रदर्शनमा शीर्ष नेतालाई जिल्लामा पठाइने भएको छ । देशका मुख्य स्थानमा हुने कार्यक्रममा शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

विरोध प्रदर्शनमा प्रयोग हुने नाराहरु ‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार’ ‘जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा’, ‘औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन,’ ‘बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ केन्द्रबाटै तय गरिएको छ । यी नाराबाहेक अन्य नारा प्रयोग नगर्न कांग्रेसले निर्देशन दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पार्टीले तय गरेको छ । सहमहामन्त्री प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषाको कार्यक्रम सम्बोधन गर्नेछन् ।

कृष्णप्रसाद सिटौलाले महोत्तरी, चित्रलेखा यादवले सप्तरी, रामशरण महतले चितवन र अर्जुननरसिंह केसीले पोखरामा हुने कार्यक्रममा सहभागी हुने तय भएको छ । केन्द्रीय सदस्य गगन थापाले कैलाली, प्रदीप पौडेलले कञ्चनपुर, एनपी साउदले अछाममा सम्बोधन गर्ने भएका छन् । प्रदर्शनमा सहभागी हुन जिल्ला सभापतिको मागअनुसार केन्द्रीय सदस्यहरू जाने कांग्रेसले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *