श्रीमानले छाडेपछि बेसहारा बनेका थारु दिदीबहिनीले पाए घर

पूर्वी चितवनका समाजसेवीको अगुवाइमा दशैँका बेला बेसहारा अवस्थामा रहेका दिदीबहिनीले नयाँ घर पाएका छन्। कालिका नगरपालिका-५ का ती दिदीबहिनीका लागि आर्थिक सहयोग सङ्कलन गरी घर निर्माण गरिएको हो।

वर्षातको समयमा लाठीले बोरा अडाएर त्यहीँभित्र जीवन गुजारिरहेका उनीहरुलाई यहाँका सामाजिक अगुवाले सहयोग जुटाएर घर बनाइदिएका हुन्। निषेधाज्ञाको समयमा दुःख परेकालाई सहयोग गर्न सङ्गठित भएको अगुवाको समूहले सहयोग जुटाएर घर निर्माण गरेको हो।

खैरहनी नगरपालिका वडा नं ८ का मुरलीप्रसाद गजुरेल, प्रेम रिमाल, कमल पाठक, अशोक न्यौपाने र लेखबहादुर पुनले एक महिना लगाएर घर निर्माण गरिदिएका हुन्। गजुरेलले भने, ‘त्यहाँ ६२ वर्षकी मुसरी महतो र ४८ वर्षीया बहिनी फोहोरी महतोको अवस्था बिजोग देखेर हामीले सहयोग जुटाएर घर बनाएका हौं।’

स्थानीय पत्रकार सन्तकुमार चौधरीले उनीहरुको अवस्थाका बारेमा समाचार लेखेपछि गजुरेलसहितको अगुवाले शुरुमा उनीहरुलाई छ महिना खानाको व्यवस्था गरेको बताए।

गजुरेलका अनुसार लाठीले बोरा अडाएर मुसल्धारे वर्षातमा बसेको देखेर अगुवाहरुले शुरुमा त्रिपाल, म्याट र टर्च लाइट सहयोग गरेको थियो। उनीहरुकै दुई बहिनीको थोरै जग्गाको छेउमा गजुरेलको समूहले घर बनाइदिएको हो। घर बनाउन रु तीन लाख खर्च भएको उहाँको भनाइ छ।

घर निर्माणका लागि स्वदेश र विदेशबाट दाताले रु तीन लाख ४६ हजार पठाएका छन्। १४ फिट चौडाइ र २० फिट लम्बाइको टिनले छाएको चिटिक्कको घरमा दिदीबहिनी बस्न शुरु गरेका छन्। दाताको नाम लेखेर औपचारिकरूपमा हस्तान्तरण गरिने उनले जानकारी दिए। ती दिदीबहिनीका लागि दाताकै सहयोगमा लत्ताकपडा र भाँडावर्तनको व्यवस्था पनि गरिएको छ।

पत्रकार चौधरीले आफ्नो क्षेत्रमा समाजिक अगुवाहरुले नमूना काम गरेको बताए। मानवीय सेवामा यो उदाहरणीय काम भएको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सहसचिवसमेत रहेका चौधरीले बताए। ती दिदीबहिनीमध्ये जेठीको माडीमा र बहिनीको भण्डारामा विवाह भएको भए पनि श्रीमानले छाडेपछि स्थानीयवासीको गाईभैँसी चराउने काम गर्दै आएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *