थारू भाषा बिगारेको होइन, सपारेको
साउन २९ को हमार पहुरा डटकम तथा गोरखापत्रको पाठक पत्रमा ‘भाषा बिगार्ने छुट छ ?’ तथा साउन ३ को हमार पहुरा डटकम तथा गोरखापत्रको साउन १० को विचार पृष्ठमा ‘थारू भाषिक शुद्धतामा प्रश्न’ शीर्षकमा लेखक महेश चौधरीले लेख्नुभएको लेखमा मेरो ध्यानाकर्षण भएको छ । जेठ २१ गते गोरखापत्रको थारू भाषा पृष्ठमा प्रकाशित ‘बन्डा बन्डीमे थारू भासा साहिट्यके भौगर खिट्कोराइ’ शीर्षकको यस पंक्तिकारको लेखको केस्रा केस्रा केलाई महेशजीले औंल्याउनुभएको त्रुटिबारे ‘थारू भाषिक शुद्धतामा प्रश्न’ लेख केन्द्रित छ । पाठकपत्रको रुपमा रहेको ‘भाषा बिगार्ने छुट छ ?’ लेख पनि त्यसैको परिपूरकको रुपमा रहेको छ । साथै, थारू भाषाको पृष्ठ संयोजकको नाताले कृष्णराज सर्वहारीले गोरखापत्र, नयाँ नेपाल, थारू भाषा पृष्ठ आफ्नै पारामा सम्पादन र लेखन कार्य गरेको महेशजीको भनाइबारे केही बुँदागत तथ्य राख्न चाहन्छु ।
१. हाल नेपालका सबै भाषाभाषी आफ्नो पहिचानका लागि उद्धत छन् । पहिचानको सवाल बोक्ने भाषा पनि एक हो । यसै तथ्यलाई मध्यनजर गर्दै गोरखापत्रले नेपालीबाहेक विभिन्न ३८ भाषामा नयाँ नेपाल पृष्ठ प्रकाशन गरिरहेको छ । विश्वमै यो नौलो उदाहरण हो । यसै पृष्ठमा विभिन्न भाषामा प्रकाशित कथा, कविता, निवन्धको सङ्कलन धेरैजसो भाषाको लागि पहिलो पुस्तकको रूपमा प्रकाशित हुने ऐतिहासिक गौरव प्राप्त गरेका छन् । तर लेखनको कुनै खास शैली नहुँदा सुरु सुरुमा विभिन्न भाषाभाषीले एकै शब्द पनि फरक ढंगले लेखे । त्यसैले, लेखनको खास शैली हुनुपर्दो रहेछ भन्ने महसुस भएपछि एउटा लेखनशैली बनाई विभिन्न भाषाभाषीले प्रयोग सुरु गरेका छन् । यसैको परिणाम हो, थारू भाषा पृष्ठको संयोजन पनि ।
२. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा २०७३ साउन १ देखि ३ गतेसम्म दाङको घोराहीमा ‘डंगौरा थारू भाषाको वर्ण निर्धारण’ निर्धारण गोष्ठी सम्पन्न भएको थियो । गोष्ठीमा थारू कल्याणकारिणी सभाका प्रतिनिधि, थारू पत्रपत्रिकाका सम्पादक, थारू शिक्षक, थारू भाषावीद् लगायतको उपस्थिति थियो । सो गोष्ठीले निम्न बुँदा प्रस्ताव गरेको थियोः
क) डंगौरा थारू भाषामा १६ वटा स्वर वर्ण र ३० वटा व्यञ्जन वर्णसहित ४६ वर्ण हुने सम्भावना ।
ख) डंगौरा थारूमा देवनागरीका (ञ्, ण्, श, ष, क्ष्, त्र्, ज्ञ्, त्, थ्, द् ध्)–११ उच्चारण नहुने हुँदा प्रयोग गर्न छोड्ने प्रस्ताव ।
ग) डंगौरा थारू भाषामा लामो उच्चारण (दीर्घ) नहुँदा सबै शब्द ह्रस्व लेख्ने प्रस्ताव ।
घ) नाम, थर र स्थान अपवादको रूपमा बाहेक जस्तो बोलिन्छ, त्यस्तै लेख्ने प्रस्ताव ।
३. २०७३ साउनभन्दा अगाडि विना कुनै आधार लेखन कार्य भइरहेकोमा त्यसपछिका अंकमा उक्त गोष्ठीबाट प्रस्तावित लेखनअनुसार गोरखापत्र दैनिकको थारू पृष्ठमा लेखन शैली अंगालिएको हो । आफूखुशी कुनै सनक, लहडको भरमा ल्याइएको होइन । छविलाल कोपिलाको सम्पादनमा दाङबाट प्रकाशित भइरहेको क वर्गको लावा डग्गर साहित्यिक त्रैमासिकमा पनि सोही वर्ण पहिचानको प्रस्ताव अनुसार लेखन कार्य भइरहेको छ । पछिल्लो पुस्ताका प्रंकाशित करिब ९० प्रतिशत पुस्तक यही शैलीमा प्रकाशित छ ।
४. महेशजीले मैले लेखेको लेखमा एक सय अठारवटा शब्द बिगारिएको जुन इंगित गर्नु भएको छ , सोही वर्ण पहिचानअनुसार लेखिएकोले देखिएको हो । जस्तो कि नेपाली भाषाको ‘कोदालो’ शब्दमा निहित ‘द’ ब्यञ्जनलाई आधार मान्दै थारू भाषामा पनि ‘कोदरा’ लेख्नुपर्ने तर्क उहाँको छ । जबकि डंगौरा थारू उच्चारण ‘कोडरा’ नै हो ।
५. मानक लेखनको लागि माथि वर्णित यो प्रस्तावित आधार हो, यो नै अन्तिम सत्य होइन । जजसले थारू भाषामा निरन्तर कलम चलाइरहेका छन् । एउटा मानक लेखन हुनुपर्छ भन्ने सवालमा कसैको दुइ मत छैन । थारू भाषाको पहिलो पत्रिका गोचाली (२०२८) का संस्थापक सम्पादक महेश चौधरी थारू भाषाप्रतिको लगावप्रति सबैको सम्मान छ । तर २०२८ सालमै प्रयुक्त लेखनशैली अहिले पनि कायम हुनुपर्छ भन्ने भनाइ तर्कसंगत हुँदैन, छैन । महेशजी संगको सहलेखनमा ‘थारू भाषा सिकौं’ (२०६८, साझा प्रकाशन) पुस्तक उहाँ र मेरो दुइ जनाको मात्रै सरसल्लाह गरी लेखिएको थियो । यसमा कुनै भाषावीद्को सुझाव लिइएको थिएन । अहिले प्राडा माधवप्रसाद पोख्रेल, थारू भाषामै विद्यावारिधि गरेका डा कृष्णप्रसाद पौड्याल, डंगौरा थारू वर्ण पहिचानका सहजकर्ता पदम राइलगायत भाषावीद्हरूले डंगौरा थारू भाषामा ञ्, ण्, श, ष, क्ष्, त्र्, ज्ञ्, त्, थ्, द् ध् व्यञ्जन उच्चारण नहुने विचार व्यक्त गर्नु भएकोले ती व्यञ्जनको प्रंयोग नगरिएको हो ।
६. अहिले गोरखापत्र नयाँ नेपाल पृष्ठमा माझी, ताजपुरिया, तामाङ, धिमाल, राजवंशी, मेचे लगायतका संयोजकहरूले सबै लेखाइ ह्रस्व अंगालेका छन् । मगर संयोजकले सबै लेखाइ दीर्घ अंगालेका छन् । अहिले सामाजिक सञ्जालमा नामी लेखकहरूले पनि आफ्नो स्ट्याटस लेखनमा ह्रस्व, दीर्घमा निकै गल्ती गरेको देखिन्छ । ह्रस्व, दीर्घको उच्चारणले अर्थमा कुनै फरक नदेखिदा लेख्यउन्मुख भाषाहरूलाई लेखनमा एउटै शैली अपनाइएको हो ।
७. शब्दकोश, ब्याकरण बनाउन मुख्य भूमिका खेल्ने निकाय भनेको नेपाल प्रज्ञा प्रतिष्ठान हो । विभिन्न भाषामा नेपाली अनुवादसहित लेख छापिने प्रतिष्ठानको अर्द्धवार्षिक प्रकाशन बहुभाषिक सयपत्री हो । यसको पछिल्लो अंक ३७ (२०७६ वैशाख–असोज) मा माझी, ताजपुरिया, तामाङ, धिमाल, राजवंशी, बाम्बुले राई भाषाको लेखको सबै शब्द ह्रस्व प्रयोग भएको छ ।
८. २०७५ चैतमा रूपन्देहीको सैनामैनामा ‘पाँचौ थारू साहित्यिक सम्मेलन’ सम्पन्न भएको थियो । भाषा बहसको प्यानल छलफलपछि ‘हल महेशको पक्षमा आयो र कार्यक्रम अन्त्य भयो । तर, त्यही कार्यक्रममै संयोजक सर्वहारीले म यसलाई स्वीकार गर्दिनँ’ भनेर बाहिरिनुभयो भन्ने उहाँको भनाइ मिथ्यापूर्ण छ । वास्तवमा कार्यक्रममा महेशजीले २०२८ सालमा आफूहरूले थारू भाषाको पत्रिका गोचाली प्रकाशन गर्दा अहिलेका भाषावीद्हरू कहाँ थिए ? उनीहरूले दिएको सुझाव हामीले किन मान्ने ? सुरुमा जस्तो लेख्थ्यौं, त्यस्तै लेख्छौं भन्ने तर्क राख्नु भएको थियो । उहाँको समग्र लेखको आशय पनि त्यस्तै छ ।
९. डंगौरा थारू मानक लेखनको बहस अघि बढेसंगै पूर्बी क्षेत्रका थारूभाषीहरू पनि मानक लेखन बहस अघि बढाएका छन् । ‘पाँचौ थारू साहित्यिक सम्मेलन’मा पूर्वी थरुहटको बोलीमा त्, थ्, द् ध् व्यञ्जन रहेको निचोड थियो । सिल इन्टरनेशनलको सहयोगमा गोष्ठी गरी तयार पारिएको मध्यपूर्वी थारू-नेपाली शब्दकोष र ब्याकरणमा ञ, ण, श, ष, क्ष, त्र, ज्ञ को प्रयोग छैन ।
१०. थारू भाषामा विविधता छ । रेडियो नेपाल सुर्खेत र धनकुटाबाट क्रमशः पश्चिमा (डंगौरा) र पूर्वी थारू भाषाको समाचार प्रंसारण भइरहेको छ । जबकि ती समाचारभन्दा चितवन, सप्तरी-सिरहा, बारा-पर्सा यी तीन क्षेत्रको भाषिका फरक छ । पश्चिममा कठरियाको फरक छ । त्यसैले, जसरी गोरखापत्रमा राई भाषामा पहिले पृष्ठ संयोजन हुन्थ्यो, अहिले त्यो हराएर चाम्लिङ र बान्तवा दुइ पृष्ठ आएको छ, त्यसरी नै थारू भाषामा डंगौरा र पूर्वी थारू भाषा पृष्ठ आउनुपर्ने बहसको अर्को पाटो हो ।
११. हाल डंगौरा थारू भाषामा सबैभन्दा बढी साहित्य सिर्जना भएका छन् । पृष्ठ संयोजकको हिसाबले विभिन्न लेखकका लेख र आफ्नै लेख पनि २०७३ साउन १ देखि ३ गतेसम्म दाङको घोराहीमा ‘डंगौरा थारू भाषाको वर्ण निर्धारण’ निर्धारण गोष्ठीले प्रस्ताव गरेको सुझावअनुसार नयाँ नेपाल थारू भाषा पृष्ठमा प्रयोग गरिएको छ । अन्य क्षेत्रबाट प्राप्त लेख, समाचारमा सम्पादन गरिएको छैन ।
१३. र, अन्त्यमा महेशजीलगायत अन्य लेखक महोदयहरुले थारू भाषाको कुरा थारू भाषामै लेखेर बहस अघि बढाए सुनमा सुगन्ध हुनेछ । त्यसैका लागि थारू भाषा पृष्ठ गोरखापत्रमा छ । हामीले कसैको लेख सम्पादन गर्ने गरेका छैनौं । डंगौरा थारू भाषामा लेखनशैली ल्याइएको हो, बिगारेको होइन ।
Facebook Comment