कुखुरा चोरेको भन्दै नरेश चौधरीको हत्या, बाबु-छोरा पक्राउ

दाङ देउखुरीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

कुखुरा चोर्न खोजेको आरोपमा राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती निवासी १८ वर्षीय नरेश चौधरीको कुटपिटबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।

बिहीबार बेलुका छिमेकी २५ वर्षीय ओमप्रकाश घर्ती र उनका ६० वर्षीय बुबा खलबहादुर घर्तीको कुटपिटबाट चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए।

कुखुरा कराएपछि घर्ती परिवारले नरेशलाई कुखुरा चोर्न गएको आरोप लगाएको थियो। त्यो आरोपपछि चौधरी घर्तीको घरमा आए। त्यसपछि घर्तीको कुखुरा फर्ममै उनीहरु बीच विवाद भयो। त्यही क्रममा बाबु-छोरा मिलेर हात र लठ्ठीले चौधरीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।

घाइते चौधरीलाई उनकी आमाले राति नै घर लगे पनि उपचार गर्न नलगेको हुँदा अत्यधिक रक्तश्रावका कारण उनको घरमै मृत्यु भएको प्रहरीले जनाएको हो। ‘हामीलाई बिहान मात्र घटना बारे जानकारी आयो। त्यहाँ पुग्दा उहाँको मृत्यु भैसकेको थियो,’ भट्टले भने, ‘छिटो अस्पताल लग्न सकेको भए बचाउन सकिन्थ्यो।’

चौधरीको शव भने पोष्ट मार्टमका लागि लमही अस्पतालमा लगिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *