गाँजा विवादमा अभिषेक चौधरीको हत्‍या, एक जना पक्राउ

बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी छन्।

बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको शव फेला परेको थियो। उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

शव भेटिएको अघिल्लो दिन मङ्गलबार राति ९ः३० बजे घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। मृतक र अभियुक्त दुवै लागुऔषध दुव्र्यसनी रहेको प्रहरीको भनाइ छ।

यसरी भयो हत्या

मृतक अभिषेकले रविनलाई रू.१०० दिएर गाँजा किन्न पठाएका थिए। रविनले गाँजा किनेर ल्याएको र सेवन गर्ने वेलामा अभिषेकले ‘तँलाई दिन्न, के गर्छस्?’ भनेर गाली गलौज गरेर एक झापड हिर्काएका थिए।

अभिषेकसँग रहेका अन्य साथीले समेत रविनलाई कान तानेर जिस्काएका थिए। त्यसपछि आफू अपमानित भएको महसुस गरेर रविनले आफ्नो घर गएर दाउराको थाकमा राखिएको बञ्चरो लिएर आएका थिए।

अभिषेकले मोबाइलको टर्च बालेर भुइँमा घोप्टो परेर केही खाने चिज बनाउँदै गरेको अवस्थामा उनले पछाडिबाट बञ्चरोले टाउकोमा प्रहार गरेका थिए। “घटना हुनुमा लागुऔषध दुव्र्यसन कारक रहेको देखिन्छ”, प्रहरी प्रमुख कोइरालाले भने, “गाँजा खान नपाएपछि र अपमानित भएको महसुस गरेर अभियुक्तले हत्या गरेको बुझिन्छ।”

घटनापछि मृतकका साथीको पहिचान गर्ने क्रममा अरू सबै सम्पर्कमा आए पनि रविन नआएकाले शङ्का लागेर खोजी गरेको उनको भनाइ छ। प्रहरीले रविनलाई कनकाई–७ त्रिवेणी टोलबाट बुधबार राति करिब ९ः४५ बजे प्रहरीले पक्राउ गरेको हो।

तस्बिर : देशसञ्चार




Leave a Reply

Your email address will not be published. Required fields are marked *