पक्राउ पूर्जी जारी भएपछि वडाध्यक्ष खेमराज चौधरी फरार

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष खेमराज चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। वन अतिक्रमण गरेको भन्दै उनीविरुद्ध डिभिजन वन कार्यालय कैलालीले पक्राउ पुर्जी जारी गरेको हो।

वडा अध्यक्ष चौधरीले जेसिबी मेसिन प्रयोग गरी करिब ०.४ हेक्टर वन क्षेत्र विनाश तथा अतिक्रमण गरेको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ।

वडा नं. ९ वन कनरीस्थित समाज सुधार सामुदायिक वनको पूर्व, पश्चिममा ताल, उत्तरमा स्थानीय मायाराम चौधरीको आवादी जग्गा र दक्षिणमा बाटोबीच पर्ने जग्गा अतिक्रमण गरेको डिभिजन वन कार्यालय कैलालीले जनाएको हो। उनीविरुद्ध असोज १९ गते नै पक्राउ पुर्जी जारी गरिए पनि पक्राउ भने अझै गर्न सकिएको छैन। उनी फरार छन्।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कंडेलले वन अतिक्रमण गरेपछि जिल्ला अदालत कैलालीबाट पक्राउ आदेश जारी गरेको बताए। सो घटनाको अनुसन्धानको लागि अनुसन्धान अधिकृत तोकिएर प्रक्रिया अगाडि बढेको बताउँदै उनले मुद्दा अगाडि बढेको जानकारी दिए ।

तर, एक सातासम्म पक्राउ गर्न नसकेपछि स्थानीयबासीले वन कर्मचारी र वडा अध्यक्षबीच मिलेमतोको आशंका व्यक्त गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *