कर्णाली प्रदेशको सरकारविरुद्ध भएको उथलपुथलबारे के भन्छन् सुर्खेतका थारु नेताहरु ?

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावलाई लिएर सुर्खेतका थारु नेताहरु अच्चमित परेका छन्।

थारुका पूर्वमाओवादी र पूर्वएमालेका नेताहरुले यो घटनाक्रम हेर्दा पार्टी एकीकरण कागजमा मात्र भएको आरोप लगाए। पूर्वमाओवादी र पूर्वएमालेहरु अझै मनले मिल्न नसकेको उनीहरुको बुझाई छ।

‘मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव हेर्दा पार्टी अझै मनले मिल्न सकेको रहेनछ। केवल कागजमा मात्र  एकीकरणको ढोंग रचिएको रहेछ,’ सुर्खेतका पूर्वमाओवादी नेता बेचुलाल चौधरीले थारुवानसँग भने, ‘यो अविश्वासको प्रस्ताव तुरुन्त फिर्ता लिइनुपर्छ। वा, केन्द्रले गलत म्यासेज जान दिन हस्तक्षेप गर्नुपर्छ।’

त्यस्‍तै पूर्वएमालेका नेता जागुराम चौधरीले अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुको नियत खराब रहेको बताए। यसले पार्टी फुटको संघारमा पुगेको उनले बताए। ‘पार्टीभित्र दोहोरो जिम्मेवारीमा केन्द्रदेखि स्थानीय तहसम्मै रहेका छन्। तर कर्णाली प्रदेशमा जुन खालका गतिविधि भइरहेका छन्। यसले पार्टी फुटको संघारमा पुगेको स्पष्ट हुन्छ। योबेला पूर्वएमाले र पूर्वमाओवादी भन्ने होइन। नत्र यसको रोग अन्यत्र नसर्ला भन्न सकिन्न।’

उनीहरुले सुर्खेतमा थारुहरुको जनसंख्या न्युन रहेकाले थारु नेताहरु नेतृत्वमा पुग्न नसकेको स्पष्ट पारे। ‘यहाँ थारुहरु एकदमै कम छौं। चाहेर पनि नेतृत्वमा पुग्न सकेका छैनौं। जसका कारण यहाँका थारुहरु राजनीतिकरुपले हेपिएका छन्। उनीहरुलाई नेतृत्वकर्ताले पेलेका छन्,’ बेचुलालले भने।

जागुरामले पनि सुर्खेतमा करिब ७ हजार हराहारी थारुमात्र रहेकाले पार्टी र अन्य ठाउँमा नेतृत्व लिन गाह्रो हुने गरेको बताए। ‘यहाँ जम्माजम्मी ७ हजार थारुहरु होलान्। त्यसमा पनि विभिन्न पार्टीका छन्। यति थोरै जनसंख्या भएको ठाउँमा थारु नेताहरुलाई पार्टीले किन नेतृत्व प्रदान गरुन?’ उनको प्रश्न थियो।

कर्णाली प्रेदशका मुख्यमन्‍त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता रिएको छ। ओली पक्षीय नेता यामलाल कँडेलको नेतृत्वमा कर्णाली प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव पेस गरेपछि नेकपाभित्र भूकम्प आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *