कांग्रेस सांसदलाई दाङको विपक्षमा मतदान गर्न ह्वीप, कुनै हालतमा ह्वीप नमान्ने डिल्ली चौधरीको घोषणा

नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। कांग्रेस बुटवलमै राजधानी यथावत राख्ने पक्षमा छ।

मंगलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो।

प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा लगेका थिए। उक्त प्रस्तावमाथि सोमबार छलफल भएको थियो। मन्त्री केसीले सांसदले उठाएका प्रश्नको जवाफसमेत दिइसकेका छन्।

राजधानी र नामबारे छलफल सुरू भएलगत्तै कांग्रेसले प्रदेशसभामा नारावाजी गरेको थियो। कांग्रेसका तीन सांसदले कुर्सी, टेबुल र माइक पनि तोडफोड गरेका थिए। प्रदेश सरकारले संसदमा पेस गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए। प्रदेशको नाम लुम्बिनी राख्नेबारे भने कांग्रेसको समर्थन नै रहेको देखिएको छ।

प्रदेशसभामा ८७ सांसदमध्ये नेकपाका ६१ कांग्रेसका १९ सांसद छन्। त्यस्तै जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।

पार्टीले कारबाही गरे गरोस् ह्वीप मान्दैनौं : सांसद डिल्लीबहादुर चौधरी

ङबाट निर्वाचित प्रदेश सांसद डिल्लीबहादुर चौधरीले राजधानीको सबालमा पार्टीले ह्वीप जारी गरे पनि आफूले नमान्‍ने स्पष्ट पारेका छन्। कांग्रेस दाङबाट निर्वाचित एक्ला सांसद चौधरीले नजायज कुरामा यदि पार्टीले ह्वीप जारी गरे पनि त्यो क्रस गर्ने जानकारी दिए।

‘राजधानीको पक्षमा मतदान गर्दा पार्टीको ह्‌विप मान्‍न सकिँदैन,’ उनले भने, ‘बरु पार्टीको कारबाही सहन तयार छु, तर नजायज कुरा मान्‍न सकिन्‍नँ।’

उनले दाङको भालुवाङलाई राजधानी बनाउने सवालमा पार्टीको ह्वीप नमान्दा पार्टीको जस्तो कारबाही गरे पनि भोग्‍न आफू तयार रहेको पनि बताए। उनले दाङको देउखुरी क्षेत्र हरेक दृष्टिकोणले प्रदेश राजधानीका लागि उपयुक्त स्थान रहेको बताए।

प्रदेश सांसद चौधरीले आफूसहित पश्चिम क्षेत्रका कांग्रेसका ६ जना सबै सांसदले दाङको पक्षमा मतदान गर्ने जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *