समाजसेवामै दुई बिघा बेचेका रामलाल महतो

हालै सम्पन्न भएको प्रदेशसभाको निर्वाचनमा चितवनको प्रदेश ३ (ख) बाट बाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रही भारी मतले विजयी भएका रामलाल महतोले आफूमात्र जितेनन्, सोही क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)लाई समेत भारी मतले विजयी गराए । रामलाल महतोले २५,०६१ मत प्राप्त गरे । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका साजनकुमार महतोले १५,९४५ मत ल्याए ।

वि.सं. २०१९ वैशाख २ गते साविक पटिहानी गाविस वडा नं. १, हालः भरतपुर महानगरपालिका वडा नं. २२ मा पिता सिखा महतो र आमा शनिचरी महतोको जेठा छोराका रुपमा जन्मिएका रामलाल महतो विद्यार्थी जीवनमै राजनीतिमा प्रवेश गरे ।

धनौजी राष्ट्रिय प्राथमिक विद्यालयबाट अध्ययन सुरु गरेका रामलाल अमर माध्यमिक विद्यालयबाट माध्यमिक तहको अध्ययन पूरा गरे । त्यस विद्यालयबाट एसएलसी उत्तीर्ण गरी भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रमाणपत्र तह अध्ययन गर्दागर्दै उनी राजनीतिमा लागेका हुन् । त्योसँगै उनी अध्ययनलाई बिट मार्दै राजनीति र समाजसेवातर्फ क्रियासिल बने ।

उनको परिवारको आर्थिक अवस्था राम्रै थियो । हजुरबुबा र बुबा गाउँका जिम्दार खलक थिए । जग्गा जमिन प्रशस्तै थियो । बुबाका दाजुभाइहरु छुट्टिदासमेत उनको बुबाको नाममा सात बिघा जग्गा रहेको थियो । तर पछिल्लो समयमा आउँदा निष्ठापूर्वक समाजसेवामै उनले दुई विघा जग्गा बेचेर सकाए ।

राजनीतिक जीवन
रामलाल महतोले २०३५÷०३६ सालको विद्यार्थी आन्दोलबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । २०३६ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संगठनको सदस्यता लिएका उनी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनलाई धर्मबहादुर थापाले पार्टीको सदस्यता दिएर राजनीतिमा प्रवेश गराएका थिए ।

त्यसलगत्तै २०३६ सालमा उनले अमर माविको स्ववियु निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिई विजयी भएका थिए । वीरेन्द्र बहुमुखी क्याम्पसमा पढ्दा २०३९ सालमा क्याम्पस संगठनको सदस्य र जिल्ला श्रमिक संगठनको सदस्यमा रहेर उनले काम गरे । २०४० मा नेपाल क्रान्तिकारी विद्यार्थी संगठनको जिल्ला कोषाध्यक्ष भए । भूमिगत रहेर २०४७ मा सर्वहारावादी श्रमिक संगठनको इलाका सचिवको रुपमा काम गरेका उनी २०४८ मा पार्टी एकतापछि एकता केन्द्रका इलाका सचिव भई भुमिगत रुपमा काम गरे । २०४९ मा बाबुराम भट्राईको नेतृत्वमा संयुक्त जनमोर्चा संगठनको जिल्ला सदस्य भए । २०५१ सालमा एकता केन्द्रको जिल्ला सदस्य, २०६५ देखि ०६९ सम्म माओवादी केन्द्र जिल्लासमितिको सदस्य र इलाका इन्चार्ज समेत उनी भए ।०६५ सालदेखि थारु राष्ट्रिय मुक्ति मोर्चाको हालसम्म केन्द्रीय सदस्यमा छन् ।

समाज सेवा
रामलाल महतो २०५६ सालमा थारु कल्याणकारिणी सभा चितवनको जिल्ला उपसभापति भएर काम गरे । त्यसयता उनी जिल्लाको सल्लाहकारमा रहँदै आएका छन् । उनी थारु समाजको मात्र नभई समग्र जिल्लाकै आर्थिक, शैक्षिक, सामाजिक, राजनीतिक र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफ्नो जीवन समर्पित गर्दै आएका छन् ।

२०३७ सालमा तत्कालीन सरकारबाट अनुमति नलिइकन ‘फुन्गी’ पत्रिका प्रकाशन गरेका थिए । थारु भाषामै प्रकाशन भएको उक्त पत्रिका धान काटेर ज्याला रकमबाट प्रकाशन गरेको उनी सम्झिन्छन् । नेपाल सरकारले उक्त पत्रिकालाई प्रतिबन्ध लगाएको थियो ।

२०६३ देखि २०६५ सालसम्म भरतपुर व्यवस्थापन समितिको अध्यक्षमा रहेर उनले उल्लेखनीय योगदान पुर्‍याए । त्यस अगाडि भरतपुरको सरकारी अस्पताल अहिलेको जस्तो थिएन । मुर्दाघरजस्तो थियो । सरसफाई हुँदैनथ्यो । अस्पतालका मेसिनहरु सबै बिग्रेको थियो । बिरामीहरु आउँदा मेडिकल कलेजतिर पठाउनुपर्ने बाध्यता थियो । उनी अध्यक्ष भएपछि अस्पतालभित्र र बाहिरी वातावारण सरसफाईको अभियान प्रारम्भ गरे । उनी आफैँले झाडु लिएर सरसफाई अभियानमा जुटेका थिए । अस्पताल वरपरको झाडी सरसफाई गर्दा जहीँतहीँं मानव अस्थिपञ्जर फेला पथ्र्यो । अस्पतालभित्र पनि दश रुपैयाँ बेडचार्ज लिएर दिनको तीन पटक सरसफाई सञ्चालन गरियो । बिग्रेका मेसिनहरु मर्मत गरियो । करोडौं रुपैयाँ बराबरको नयाँ मेसिनहरु खरिद गरेर जडान गरियो ।

मेडिकल कलेजले भरतपुर अस्पताललाई तिर्नुपर्ने १ करोड ६५ लाख रुपैयाँ असुलउपर गर्न सफल भएको रामलाल महतो सम्झिन्छन् । उनीभन्दा अगाडिका अध्यक्षहरुले उक्त बक्यौता असुल उपर गर्न सकिरहेका थिएन । उनी अस्पतालको अध्यक्ष पदमा रहँदा सिस्टमलाई मर्यादित बनाए । आफ्नै आमा बिरामी हुँदा पनि पचासौं जनाको पछाडि लाइनमा उभिएर टिकट काटेको मिडियामा समाचार प्रकाशन भएको थियो । उनकै पालामा चेपाङ्ग लगायत सीमान्तकृत समुदायलाई निःशुल्क सेवा सुरु गरिएको हो ।

२०४४ सालमा बौद्धिक अपाङ्गता स्कुलको संस्थापक रही उनले एक वर्ष भोलेन्टिएर भएर काम गरे । २०४९ सालमा ब्राइटस्टार बोर्डिङ्ग स्कुलको संस्थापक अध्यक्ष भइ शिक्षा क्षेत्रमा काम गरेका उनी २०५० मा अमर मा वि को दुईवर्ष कार्यकालका लागि अध्यक्ष भएर काम गरे ।

उनले २०३७ सालमा तत्कालीन सरकारबाट अनुमति नलिइकन सम्पादक रहेर “फुन्गी” पत्रिका प्रकाशन गरेका थिए । रामलाल महतो र सन्तराम महतो दुई जना सम्पादक रहेको पत्रिका थारु भाषामै प्रकाशन भएको थियो । पत्रिका प्रकाशन गर्नका लागि धान काटेर ज्याला रकमबाट पत्रिका प्रकाशन गरेका बताए । उक्त पत्रिकालाई नेपाल सरकारले प्रतिबन्ध लगाएको थियो ।

उनी २०४९ सालको स्थानीय तहको निर्वाचनमा पटिहानी गाविसको अध्यक्ष पदमा विजयी भए । गाविस अध्यक्ष पदमा रहेर उनी गाउँको विकासमा जुटेका थिए । त्यसबेला गाविसमा निकै थोरै बजेट आउँथ्यो । त्यो सानो बजेटले उनले विकास निर्माणको काम गर्थे । प्रदेशसभामा निर्वाचित भइसकेपछि उनले स्थानीयका पीडाहरु सम्बोधन गर्ने बताए । त्यसक्षेत्रका जनता निकुञ्जको जंगली जनावरबाट पीडित भएको बताउँदै उनले माडीबासीहरु रिउ लगायत स्थानीय खोलाहरुबाट पीडित रहेको बताए । त्यस क्षेत्रको विकासका लागि प्राथमिकीकरण गरी योजनाबद्ध तरिकाले काम गर्ने उनको योजना छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *