१०८ वर्षीया गुलिया चौधरी सम्मानित

तुलसीपुर उपमहानगरपालिका १० मोतीपुरकी १०८ वर्षीया गुलिया चौधरी चिटिक्क परेर घरको आँगनीमा बसेकी थिइन्। ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बिहीबार तुलसीपुर उपमहानगरपालिकाले सम्मान गर्ने कार्यक्रमबारे थाहा पाएकी उनले बाटोभरि आँखा दौडाइरहेकी थिइन्।

तुलसीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेको नेतृत्वको टोली गुलियाको सम्मान गर्न घरमा गएका थिए। उनको घर जाँदै गर्दा सबैले उनको अवस्था आँकलन गरेका थिए, ‘पाको मान्छे ओछ्यानको ओछ्यान होलिन्।’ तर, सबैले सोचेभन्दा अलग भयो। गुलिया चिटिक्क परेर आँगनमा बसेकी थिइन्।

घरको आँगनमा गाडी रोकेपछि उनी दौडँदै बाटोमा आइन्। ‘मलाई आज पुरस्कार छ रे’ भन्दै अनुहारमा उज्यालो छर्दै भनिन्। उपमहानगर प्रमुख पाण्डेले उनलाई न्यानो कपडाले सम्मान गरे। ‘तपाईँलाई यो हाम्रो छुट्टै सम्मान हो,’ उनले भने, ‘अरु सम्मान पनि हामीले गरिरहने छौं।’

पाण्डेले तुलसीपुर उपमहानगरपालिकाले ८४ वर्ष नाघेका ज्येष्ठ नागरिकको सम्मानलाई निरन्तरता दिएको समेत बताए। उनले भने, ‘तपाईँहरु यो समाजको गहना हो, त्यसैले हामीले सम्मान गरेका हौं।’ उनलाई न्यानो कपडाका साथै अन्य विभिन्न कुराले दिइएको थियो।

सम्मानित चौधरीले आफूलाई सम्झेर घरसम्म आएकोमा खुसी व्यक्त गरिन्। उनले घरमै विशिष्ट व्यक्तिले सम्मान गर्दा थप ऊर्जा प्राप्त भएको बताइन्। कार्यक्रममा उपप्रमुख माया शर्मा आचार्य, वडाध्यक्ष चित्रवहादुर वली र कुमार लामिछानेको समेत सहभागिता रहेको थियो। ज्येष्ठ नागरिक दिवसको अवसर पारेर उपमहानगरपालिका–४ रक्षाचौरकी १०० वर्षीया दोमन्ता खनाललाई समेत सम्मान गरिएको छ।

उपप्रमुख आचार्यले उनलाई सम्मान गर्दै ज्येष्ठ नागरिकको सम्मानमा स्थानीय सरकार प्रतिवद्ध रहेको बताइन्। उपमहानगरपालिकामा जनप्रतिनिधि आएदेखि नै ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ। यता ज्येष्ठ नागरिकहरुले ज्येष्ठ नागरिकहरुसँग सम्बन्धित ऐन कानुन निर्माणमा आफूहरुको सहभागिता हुनुपर्ने माग गरेका छन्।

वृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारीले आफूहरको सहभातिताविना बनाइएका ऐन कानुन कार्यान्वयन समेत हुन नसकेको गुनासो गरे । उनले ज्येष्ठ नागरिकहरुले माग गर्दै आएको सार्वजनिक सवारीका साधनको भाडामा ५० प्रतशित छुट, निःशुल्क औषधिको उपलब्धता लगायतबारे तीनवटै तहका सरकार गम्भीर हुन नसकेको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *