बुबा जन्हु चौधरीलाई बाघले खाँदै गरेको देखेपछि…

चितवनमा मान्छेमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिन घण्टौंदेखि गरिएको प्रयास सफल हुन सकेको छैन। स्थानीय बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर–१३ का ६३ बर्षीय जन्हु चौधरीको शनिबार बिहान सवा १० बजे बाघको आक्रमणबाट मृत्यु भएको थियो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले बाघको आक्रमणबाट चौधरीको मृत्यु भएको पुष्टि भए पनि बाघबाट मृतकलाई छुटाउने प्रयास भने अझै जारी रहेको बताए। उनका अनुसार निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीहरूको सहभागितामा बाघलाई समेत नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए।

भरतपुर–१३ का वडाध्यक्ष प्रकाश दवाडीकाअनुसार मृतकको घर सामुदायिक वनको गेटको नजिकै पर्छ। ‘वनको गेटबाट करिब ४ सय मिटरभित्र रहेको ठाउँमा घाँस काट्दै गरेको अवस्थामा बाघले आक्रमण गरेको रहेछ’, दवाडीले भने, ‘मृतक र बाघको खोजी भइरहे पनि अझै भेटिएको छैन।’

उनकाअनुसार मृतकका छोराले बुवालाई बाघले खाँदै गरेको देखेपछि अन्यलाई खबर गरेका थिए। निकुञ्जले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

यसअघि पनि केही महिना अघि सोही क्षेत्रमा बाघको आक्रमणबाट स्थानीयको मृत्यु भएको थियो। मान्छे खान पल्किएको बाघका कारण अन्य मानवीय क्षति पनि हुन सक्ने भयका कारण उक्त बाघलाई नियन्त्रणमा लिन खोजिएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।

उनकाअनुसार नियन्त्रणमा लिएपछि उक्त बाघलाई सुरक्षित ठाउँमा लगेर छाडिने छ। घटनास्थल चितवनको पर्यटकीयस्थल सितामाई क्षेत्रको नजिकै पर्दछ।

-राजेश घिमिरे/चितवन




Leave a Reply

Your email address will not be published. Required fields are marked *