कोरोना संक्रमित सांसद अमनलाल मोदीको स्वास्थ्यबारे सभामुखको चासो

संघीय संसद् प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसद अमनलाल मोदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। गत ३० भदौमा काठमाडौंबाट बिराटनगरस्थित आफ्नो निवास पुगेका मोदीलाई असोज ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा व्यस्त भएका बेला ज्वरो आउन थालेपछि गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएपछि उनलाई बिराट नर्सिङहोममा राखिएको थियो। त्यसलगत्तै उनको परिवारका सदस्यहरु आमा, श्रीमती र २ छोरामा पनि कोरोना संक्रमण देखिएको उनका स्वकीय सचिव ताजिम अन्सारीले जानकारी दिए।

परिवारका सबै सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि सभामुख सापकोटाले सांसद मोदीको अवस्थाबारे जानकारी लिएका हुन्। उनको उपचार भइरहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसँग समेत मोदीको अवस्थाबारे सभामुख सापकोटाले छलफल गरेको उनको सचिवालयले जनाएको छ।

सांसद मोदीलाई सुख्खा खोकी लाग्ने क्रम रोकिएको छैन। सांसद मोदीले काठमाडौंबाट बिराटनगर प्रस्थान गर्नुअघि पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा नेगेटिभ देखिएको थियो। बिराटनगर पुगेपछि पार्टीका तथा सामाजिक कार्यक्रममा सहभागी भएका उनलाई कोरोना संक्रमण देखिएको हो। बिहीबारदेखि होम आइसोलेसनमा बसेर सपरिवार उपचार गराइरहेका सांसद मोदीकाे अवस्था सुधारउन्मुख छ भने परिवारका अन्य सदस्यको अवस्था सामान्य रहेको अन्सारीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *