थारू कला सिनेमामा जोड : निर्देशक मदन चौधरी

माघीको छेको पारेर थारू गायकहरुले धमाधाम थारू गीत अपलोड गरिरहेका छन्। यही मेसोमा थारू सिनेमा ‘भुरभुरा रहर’को थरुहटका विभिन्न जिल्लामा च्यारिटी सो भइरहेको छ। प्रस्तुत छ, उक्त सिनेमाका निर्देशक मदन चौधरीसँग अन्नपूर्ण पोस्ट् प्रतिनिधिले गरेको कुराकानी :

‘भुरभुरा रहर’को खास कथावस्तु के हो ?

— यो सांस्कृतिक सिनेमा हो। दशैंमा नाच्न मञ्जिरा नहुने किशोरीलाई गरगहना अनि भेडा बेचेरसमेत अभिभावकले उसको रहर पूरा गरिदिएका छन्। यसमा आमफिल्मजस्तो फाइट, मरमसला छैन।

‘भुरभुरा रहर’को च्यारिटी सो कुन कुन ठाउँमा गरियो ?

— बर्दियाको राजापुर, मयूरबस्ती र ठाकुरद्वारा थारू होम रिसोर्ट, बाँकेको भुँवर भवानी र राप्ती सोनारी, सुर्खेतको वीरेन्द्रनगर, दाङको घोराहीमा प्रदर्शन भइसक्यो। दाङको रिहार, गौरीगाउँ, उत्तर मजगाउँ, पचुहिया, महादेवामा माघको पहिलो साताभित्रै प्रदर्शन गर्ने तय भएको छ। देशबाहिर कोरिया, दुबई, कतार, मलेसियामा पनि च्यारिटी सो गर्ने योजना बनिरहेको छ। यसपालि माघी महोत्सवमा धेरै ठाउँमा फिल्म च्यारिटीको मौका छोपियो।

दर्शकको सहभागिता कस्तो छ ?

— दर्शकको सहभागिता एकदमै उल्लेख्य र उत्साहजनक छ। थारू चलचित्र इतिहासमा धेरै लामो समयको अन्तरालपछि सांस्कृतिक र कलात्मक चलचित्र बनेर पनि होला, ट्रेलर सार्वजनिक भएदेखि नै यो चलचित्र हेर्ने हुटहुटी धेरै दर्शकमा थियो। यसले हाम्रो टिमलाई आगामी दिनमा अरू चलचित्र बनाउने प्रेरणा मिलेको छ।

दर्शकले कस्तो प्रतिक्रिया दिइरहेका छन् ?

— कुनै पनि विधामा राम्रो वा नराम्रो प्रतिक्रिया त आउँछ नै। फिल्म हेरिसकेपछि दर्शकले नराम्रो भन्दा पनि यो ठाउँमा यो कुरा भइदिए हुन्थ्यो भन्ने सुझावसहितको प्रतिक्रिया दिइरहेका छन्। प्रायः दर्शकले फिल्ममा प्रयोग गरिएको प्रविधिको प्रयोगको तारिफ गरेका छन्।

यो फिल्म थारू चलचित्र क्षेत्रमा अहिलसम्मकै महँगो भनिएको छ। च्यारिटी सोले मात्रै लगानी उठाउला त ?

— लगानी मजाले उठाउँछ भन्नेमा हामी विश्वस्त छौं। हामी अहिले यही योजनाअनुसार प्रदर्शन गरिरहेका छौं। किनभने हामीलाई थारू चलचित्र क्षेत्रलाई अगाडि बढाउनु छ। नयाँनयाँ चलचित्र दर्शकलाई दिनु छ। पूर्वी थरुहटमा प्रदर्शन गर्न बाँकी नै छ।

चलचित्र हलमा नलगाउने ?

— चलचित्र वितरकहरूले थारू वा अन्य भाषाभाषीका चलचित्रलाई ग्राह्यता नदिएका कारण हलमा रिलिज हुन सकेन। तराईको थारूबहुल क्षेत्रमा हल माग्दा थारू चलचित्र चलाएर के नै कमाइ हुन्छ र ? भन्ने प्रश्न हलवालामा थियो। विकल्पमा च्यारिटी सो नै बनाएका हौं।

पहिलो निर्देशकका रूपमा सिकेको पाठ ?

अहिले थारू चलचित्र उद्योगका रूपमा विकसित भइसकेको छैन। यसलाई विकास गर्न जरुरी छ। यो सुरुआत हो। समय लाग्ला तर हामी यो चलचित्रबाट लगानी उठाएर फेरि अर्को कलात्मक थारू चलचित्र बनाउने सोचमा छौं।




Leave a Reply

Your email address will not be published. Required fields are marked *