संसद्‍मा उमाकान्त चौधरीले करप्रसाद र झुठप्रसाद ‌ओली भनेपछि…

सत्तारुढ दल र प्रतिपक्षका नेता एकअर्काविरुद्ध खनिने क्रममा शीर्ष नेताहरुको नाम बिगारेर संसदमा प्रस्तुत भएका छन्। आइतबार नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘करप्रसाद’ र ‘झुटप्रसाद’ उपनामले सम्बोधन गरे।

उनको असंसदीय भाषाप्रति नियमापत्ति जनाउँदै नेकपा सांसद झपट रावलले शेरबहादुरको नाम ‘छेरबहादुर’ भने के हुन्छ भनेर सभ्यता सिकाए।

कांग्रेस सांसद चौधरीले भने, ‘यो सरकार कान्डैकान्डको दलदलमा फसेको छ। जथाभाबी कर निर्धारण गरेर करप्रसादको उपनाम पाएका प्रधानमन्त्री केपी ओलीलाई सधैं झुटका खेति गर्ने भएकाले झुटप्रसाद वली उपनाम दिँदा केही फरक पर्नेवाला छैन।’

चौधरीले प्रधानमन्त्री ओलीको नाम बिगारेर सम्बोधन गरेपछि नेकपा सांसदले नियमापत्ति जनाएका थिए। उनी बोलेलगत्तै बोल्न तम्सिएका थिए नेकपा सांसद रावल। तर, सभामुख कृष्णबहादुर महराले नाम टिपाइसकेका केही सांसदहरु बोल्ने क्रम सकिएपछि उनलाई आफ्ना कुरा राख्न समय दिए।

रावलले पनि पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको नाम बंग्याइदिए । आफूहरु नेपाली जनताको प्रतिनिधि भएकाले भाषा सभ्य हुनुपर्छ भन्दै उनले भने, ‘प्रतिपक्ष दलको नेता ज्यू, जो हामीले आदर गर्छौं, सम्मान गर्छौं हामीले पनि उहाँको नाम शेरबहादुर नभनेर छेरबहादुर भन्न यदि बाध्य भयौं भने के हुन्छ ?’

अमर्यादित र असभ्य भाषा प्रयोग गरिएको भन्दै रावलले त्यसलाई रेकर्डबाट हटाउन माग गरे । सभामुख महराले ‘विषय गम्भीर’ भन्दै आफ्नो ध्यानाकर्षण भएको बताए । उनले तत्कालै रेकर्डबाट हटाउन निर्देशन भने दिएनन् । तर, सभामुख महराले भने, ‘मैले के गर्ने त्यो निर्णय पछि गर्छु ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *