शिवरानी चौधरी हत्याको सात वर्ष : कहिले पाउला न्याय ?

सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । ‘आमा म नाच हेर्न जान्छु’ कपिलवस्तुको बाणगंगा नगरपालिका–६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी आमालाई भनिन् । नाच हेरेर आएपछि खाना खाउँला भनी हिँडेकी छोरी जिन्दगीभरि नआउने गरी सधैंका लागि बिदा लिइन् ।

‘मेरी छोरीको अस्मिता लुटेर अकालमा हत्या गरियो’, आमा फहियाले आँखाभरि आँशु झाँर्दै भनिन्, ‘छोरीको हत्यारा अहिलेसम्म पक्राउ नपर्दा दुःख लागेको छ ।’

विसं २०६८ असोज १४ गते घरको नजिकै थारु समुदायको सांस्कृतिक कार्यक्रम हेर्न जाँदा शिवरानीको अर्को दिन बिहान बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजीकैको नहरमा शव भेटिएको थियो । ‘म छिट्टै आउँछु है भनेर छोरीले भनेको बोलीको झझल्को अझै पनि बिर्सन सक्दिन’, फहियाले भनिन्, ‘छोरीको हत्या भएको सात वर्ष बित्दा पनि हत्यारालाई कारबाही हुन सकेन । हामीजस्ता गरिबहरुको कसले न्याय गर्छ’, उनले दुःखको पीडा सुनाउँदै भनिन् । उनी कुरा भन्दै जाँदा बीचैमा टोलाउँछिन् ।

शिवरानीका हजुरबुबा कुल्चा थारुले हत्यारा पत्ता लगाउनका लागि पटक पटक प्रहरीलाई दबाब दिइए पनि हालसम्म पनि न्याय पाउन नसकेको गुनासो गरे । ‘छोरीलाई पाउने आशा त अब जिन्दगीभरि नै रहेन तर अस्मिता लुटेर हत्या गर्ने अपराधीलाई कारबाही भएको देख्न पाए थोरै भए पनि न्याय पाएको अनुभूति हुने थियो’, शिवरानीका बुबा कुलुचाले भने ।

फहियालाई मानसिक रोगले समेत सताउने गरेको छिमेकीले बताएका छन् । हत्याका बारेका सुक्ष्म र गहन ढंगले अनुसन्धान गरिँदैआएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक गोविन्द राउतले जानकारी दिए । अपराधीलाई ढिलै भए पनि कानुनी दायरामा ल्याई पीडितलाई न्यायको अनुभूति दिलाइने प्रहरी निरीक्षक राउतले बताए ।

जिल्लामा हुने यस्ता खाले जघन्य घटनाका अपराधीलाई यथाशीघ्र प्रहरीले पक्राउ गरी कानूनअनुसारको कारवाही र पीडितलाई न्यायको अनुभूति दिन प्रहरी तदारुकताका साथ लाग्नु पर्ने नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाई बताउँछन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *