पूर्व सहायक मन्त्री तथा थाकसका संस्थापक चौधरीको निधन
कारी महतो/चितवन।
पूर्व स्वास्थ्य तथा भूमिसुधार सहायक मन्त्री सन्तकुमार चौधरीको ८० वर्षको उमेरमा निधन भएको छ। चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको हो । चौधरी वि.सं. २०३६ सालमा स्वास्थ्य सहायक मन्त्री र २०४३ सालमा भूमिसुधार सहायक मन्त्री भएका थिए ।
थारु कल्याणकारिणी सभा चितवनको संस्थापक सदस्य रहेका चौधरी २०२३ देखि २०२७ सालसम्म सभाको जिल्ला सभापतिमा भइ काम गरेका थिए । विगत दश वर्षदेखि हालसम्म उनी राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्षका रुपमा समेत कार्यरत थिए ।
मृतक चौधरीको देवघाटमा हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ। दाहसंस्कार अगाडि थारु कल्याणकारिणी सभा र राजपाका झन्डा ओढाइएको थियो ।
यसैबीच प्रदेश सांसद रीना गुरुङ र खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य राजेन्द्र चौधरी, पूर्व केन्द्रीय सदस्य लक्ष्मण चौधरीलगायतले देवघाटमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।
Facebook Comment