मधेसी नेताका लागि थारुहरु सतरञ्‍जका प्यादा मात्रै त हैनन् ?

मन्जु थापा, गोर्खा।
केही वर्षदेखि नेपाली राजनीतिक वृतमा अत्यन्तै चर्चामा रहेका पात्र हुन– रेशम चौधरी । टीकापुर आन्दोलनको हावाहुरीबीच सल्किएको ज्वारभाटामा रेशम नामको मानवीय प्रतिबिम्वलाई यो देशका मिडियाहरुले निकै उछाले । पुरानो नेपाल कहिने अर्थात्् राजधानी काठमाडौंमा कहिले काहीँ कसैले नदेखेको तर चर्चित कुथुंकि बुख्याँचाको खुबै लोक चर्चा हुने गर्छ । त्यसैगरी रेशम चौधरी नामका पात्र पनि विगत तीन वर्षदेखि उसैगरी चर्चित छन् । उनी कसैका लागि देवतुल्य छन् त कसैका लागि राक्षसी आवरणले लाखे । कतिले उनलाइ चिनेका छन् त कतिले उनको सायासमेत नदेखि उछितो काढ्ने पंक्तिको दौडमा सामेल छन् । छाप्ने पत्र पत्रिका, अनलाइन मिडिया, टेलिभिजनलगायत स्वार्थले लिप्सियका राजनेताहरु उनीविरुद्धमा छन् भने धरातलीय टीकापुरको सिंगो जनता उनको पक्षमा छन् ।

लोकतन्त्रले जनमतको वकालत गर्छ तर उनलाई त्यही टीकापुरको जनताले दिएको ३४,३४१ को विशाल मतलाई यहीँका लोकतान्त्रिक श्रीपेचधारी राजनेताहरुले उपेक्षा गरिरहेका छन् । संविधान कानुन निर्माणको आधार जनमतलाई मान्ने नेपाली राजनीतिक वृतले जनमतबाटै सांसदको उपहार पाएको रेशम चौधरीलाई डिल्लीबजार सदरखोरमा लगेर थुनिदिएको छ । उनलाई सात जना सुरक्षाकर्मी र एक बालकको हत्याको आरोपसहित डाँका चोरी मुद्दा लगाइएको छ । नेपाल टेलिकमको प्रमाणित कल डिटेलले भन्छ– घटना भैरहँदा उनी बर्दिया जिल्लामा थिए, तैपनि उनलाई घटनामा प्रत्यक्ष संलग्न भएको भन्दै झुठो आरोप लगाइन्छ । उनीलाई मिडियाले चण्ड, मुण्ड, निशुम्भ बनाएर प्रस्तुत गर्छन् । बेकसुर रेशम चौधरी प्राण बचाउन लुकीछिपी भागीरहन्छन् । रेशमको घर जल्छ, व्यावसायका एफएम., होटल, सवारी साधनमा दनदन्ती आगो लगाइन्छ । देशका तिनै निकायका सुरक्षाकर्मी सेना, सशस्त्र र जनपद मुकदर्शक झैं बन्छन् । रेशम चौधरीको घर आगोको लप्काले ह्वार ह्वारती बलिरहेको भिडियो, तस्बिर मिडियामा, ‘टीकापुरमा थारुहरुले आगो लगाए’ भन्दै अतिरन्जित तरिकाले छापिन्छ, प्रसारण हुन्छ ।

थारुहरु जीउ जोगाउन खेत खेतमा लुक्छन्, भारत निर्वासित हुन्छन् । कति अनाहकमा पिटाइ खान्छन्, निर्दोषितामा यौन हिंसाको सिकार बन्छन्, तैपनि मुलुकका जिम्मेवार राजनीतिक दल, राजनेता भनाउँदाहरु र मिडियाकर्मीको झुण्डले महाभारतमा अवोध बालक अभिमन्युलाई घेरेर मारेझैं टीकापुरको थारुहरको हविगतमा थपडी बजाइरहन्छन्, हु¥रे हु¥रे भन्दै एक निर्दोष रेशम चौधरीको पराजयका लागि । उनी खस्केको भत्केको हेर्न चाहने स्थानीय स्वार्थीको झुण्डले चैतको पंक्तिकार झैं भेट्टाँउछन् र आगो सल्काउँछन्, त्यही आगोको लप्कामा टीकापुर जल्छ र खरानी हुन्छ, तर आगोको लप्काले एकछिन जमिन डढाउन त सक्छ केहिदिनका लागि डढेको जमिन मरुभूमि झैं पनि देखिएला तर माटोमा उम्रिछोड्ने दुबो केही थोपा पानी पाउने वित्तिकै आफ्नो हरित रङ्गसँगै उम्रिछोड्छ । सायद त्यही भएर होला परदेशको माटोमा टेकेर भएर पनि रेशम चौधरीले जनमतीय विजयको टीका लगाइछाडे । प्रवासमा बसेर आफ्ना सबै विपक्षीको मत जोड्दा समेत रेशम चौधरीको मतको आधासमेत हुन सकेन । ‘आफूले जिते जनमत र अरुले जिते झेल्ली’ भन्ने पुरानो रोग नै हो नेपालीहरुको ।

टीकापुरमा कांग्रेस, नेकपाका सांसदहरुले जितेको भए वाहवाही हुन्थ्यो तर रेशम चौधरीको जीतमा प्रमाण पत्रसमेत दिन नसक्ने सरकार कसरी निष्पक्ष र जनपक्षीय हुनसक्छ ? टीकापुरको उदाहरण नै काफी छ । टीकापुरका धरातलीय जनता भन्छन्– रेशम निर्दोष छन् । देशका बुद्धिजिवीले आँकलन गर्छन्– रेशम निर्दोष थिए र त यत्रो जनमत पाए । तर पत्रकारहरु सत्यतथ्य समाचार लेख्नका लागि हिच्किचाउँछन्, किनकि उनले चलाउने कलमको मसी अन्तैबाट भरिएको हुँदो रहेछ क्या रे ।

को हुन् रेशम चौधरी ?
रेशम चौधरीको हिजो आफ्नै परिचय थियो । उनी नेपालका कालोपेटी धारी कुशल खेलाडी हुन् । रेडियो र टेलीभिजनका लागि कुशल प्रस्तोता पनि । कवि, साहित्यकार फिल्म निर्देशक मात्रैले पनि उनको परिचय पुग्दैन । उनी पछिल्लो समयका उदाउँदो पर्यटन व्यवसायी पनि थिए । देशमा लोकतन्त्रले जरा मजबुत बनाउने क्रममा पहिचानको आन्दोलनले उग्ररुप लियो । तर के रेशम चौधरी मात्रै पहिचानको अभियन्ता हुन् ? जनयुद्धमा सत्र हजार शाहदातको टीका लगाउने माओवादीले पहिचानको पुल टेकेर आजको अवस्थासम्म आइपुग्यो । त्यसभन्दा अगाडि कांग्रस एमालेका पनि आ–आफ्नै जाति र संगठनहरु थिए । मधेस एक प्रदेशको नारा त सर्वविदितै छ । सबैभन्दा दुःख लाग्दो क्षण त तब भयो, जब पत्रकारितामै करिब दुई दशक बिताएका रेशम आफैँ पत्रकारहरुको भुङ्ग्रोमा जलेर गम्भीर घाइते भए र उनलाइ यही आशक्ति अवस्थामै जेलमा लगेर थुनियो ।

रेशम चौधरी पहिचानका अभियन्ता हुन । उनले दुई दशक पत्रकारिता पनि देशभक्ति र पहिचानको आन्दोलनमै खर्चिए । उनले कमैया कमलरी आन्दोलनमा प्रत्यक्ष सशक्त भूमिका मात्रै निर्वाह गरेनन् कि स्वयंम कमैया नामको फिल्मसमेत बनाए । उनको पछिल्लो अवस्था थारु ग्रन्थको सोधमा बितिरहेको थियो । उनी चाहन्थे नेपाली सांस्कृतिक, प्राक्षिक, धार्मीक, राजनीतिक बहाबमा आफ्नो मौलिक पहिचानसमेत समावेश होस् । नेपाल राज्यको हरेक निकायमा नेपालीलाई नै समावेश गराउनुपर्छ, भन्नु के उनको अपराध हो ? ‘भौगोलिक, साँस्कृतिक पहिचानसहितको संघियता’को बहस चलाउनेलाई जातीय आन्दोलनको नायक भन्न मिल्छ ? थारुको लिपी पनि पाठ्यक्रममा समावेश होस्, थारुहरु राज्यको न्यायीक, प्रशासनिक सेवामा समावेश हुन पाउन भन्नु के गम्भीर अपराध हो ? अपराधीहरु त तिनै हुन जसले धमीलो खोलामा माछा मार्ने चेष्टा गर्दैछन् । लोकतन्त्रको महिमा नबुझेर जातीय आन्दोलनको उपमा दिँदैछन् । ३४,३४१ जनता भेंडा होइनन् जसले रेशम चौधरीलाई मत दिए । के यो देशमा ३४,३४१ जना पत्रकार छन् ? के यो देशमा ३४,३४१ जना नेता छन् ? के यो देशमा ३४,३४१ जना वकिल छन् ? कतै हामी ३४,३४१ जनाको जनमतको कदर नहुने लोकतन्त्रको फ्लाँस (सुगन्ध नहुने) नामक फूल त फूलाइरहेका छैनौं ? टीकापुरको जनताको जनमतको कदर गर सरकार । लोकतन्त्रमा जनमतको कदर हुनैपर्छ ।

कहाँ गए मधेसी नेता ?
रेशमले राजपा नेपालको तर्फबाट कैलाली क्षेत्र नं. १ टीकापुरबाट चुनाव लडे । कैलालीबाट राजपाले संघीय सभा र प्रदेश सभा गरी २ सिटमा चुनाव जित्यो । रेशमकै कारण भारी मत प्राप्त राजपा राष्ट्रिय पार्टी समेत बन्यो । अहिले पनि रेशमको पक्षमा राजपाका नेताहरु लागेको जस्तो त देखिन्छन्, तर मधेश आन्दोलनको अभियोगी राज्यमन्त्री अबिराम शर्माहरु छुटिसक्दासमेत रेशम जेलमा छन् । यसले हामीलाई सशंकित तुल्याएको छ । सोही अभियोगका अभियोगी मधेसी नेताहरु छुट्नु तर थारुहरु आन्दोलनका अभियन्ता रेशम चौधरी नछुट्नु, यसले शंकाको वृत त लिने नै भयो । अहिले बुझ्दै जाँदा हामीजस्ता हजारौं युवा रेशम चौधरी निर्दोश छन्, तर घानमा पारिएका छन् भनेर ठम्याउन कठिन भएन ! हुन त राजपाका नेताहरुको कानमा कसैले फुस्फुस्याइ दिएको होला– ‘रेशमलाई थुनेर राखे राजपा बलियो हुन्छ । तर कहिलेकाहीँ सानो घाउले क्यान्सरको रुप लिन्छ भन्ने पनि थाहा पाउनुपर्छ । अहिले राजपा मधेसीको मात्रै दल रहेछ, थारु त सतरंजका प्यादा मात्रै हुन् कि भन्ने बिश्लेषण पनि गर्न थालिएको छ । रेशम जेलमा छन्, होलान् तर सबै पहिचानवादीको मनमनमा छन् । राजपाले रेशमलाई न्याय दिलाउन नसके पतन निश्चित छ, कसैले भन्नै पर्दैन– तथ्य र कारणको संयोजन नै प्रमाणित हो । रेशम देशकै प्रतिभाका खानी हुन्– अकवरी सुनलाई कसी लगाइ राख्नु पर्दैन । मैले २०५६ सालातिर रेशम चौधरीको संगीतमा एउटा गजल सुनेको थिंए,

बादल झैँ उडिरहे हुरी झेल्नु छँदै थियो
टुक्रिय म छरिय म नियति नै यस्तै थियो
हावा बीच धिप्प धिप्प बलेको म एउटा दियो
झ्याप्प झ्याप्प निभ्नु पर्यो नियति नै यस्तै थियो

(त्यो गीतका गीतकार घमराज लुइटेल र गायक जगदिश समाल हुनु हुन्छ)

रेशम चौधरी जेलमा छन्, तैपनि पहिचान खोज्नेका लागि आशका दियो हुन् । उनलाई भौतिकरुपमा थुनेर थुन्न लगाएर केही हुनेवाला छैन, झुठो त बुद्ध पनि बनाइए, जिजसलाई क्रुसमा टाँगीयो, राम वनबास गए तर ती सब अजर छन्, अमर छन् । रेशम जहाँ छन् हाम्रा मनमनमा छन्, देउता खोज्न इन्द्रलोग धाइरहनु पर्दैन, जनमुक्ति दाता नै देवता हुन् । साँच्चै सत्य तथ्य भन्नुपर्दा असली पहिचानका योद्धा रेशम चौधरीनै हाम्रा देवता हुन ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *