चालकको लापरबाहीले सोनम महतोको मृत्यु, तीन वर्षीया छोरीको विचल्ली

कारी महतो/चितवन।
ट्र्याक्टर चालकको लापरबाहीले दुर्घटना हुँदा चितवनको राप्ती नगरपालिका वडा नं. ६ हर्दीका २३ वर्षीय सोनम महतोको मृत्यु भएको छ । पीडित पक्षले उचित क्षतिपूर्ति नपाएसम्म शव नउठाउने बताएका छन् ।
मृतक सोनम महतोको ३ वर्षीय छोरी टुहुरो भएकाले उनको लालनपालन र शिक्षादीक्षाका लागि सवारी धनीले उचित क्षतिपूर्ति दिनुपर्ने पीडित पक्षले माग गरेका छन् ।

हिजो दिउँसो करिब २ बजे धानमा थ्रेसर लगाउने क्रममा दुर्घटना भएको थियो । दुर्घटना भएलगत्तै आफैँ चालक रहेका सवारीधनी नारायण चौधरी ट्र्याक्टर लिएर फरार भएकाले जानीबुझी ट्र्याक्टर ब्याक गरेर मारेको पीडित पक्षले आरोप लगाएका छन् ।

मृतकका आफन्तहरुले समथर खेतमा थ्रेसर लगाउन खोज्दा चालकले भिरालो ठाउँमा लगाउनुपर्ने जिद्दी गरेको र त्यस ठाउँमा ट्र्याक्टर रोक्नका लागि ओट पनि नलगाएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बिहानैदेखि सँगसँगै धान काटेको तर दिउँसो अचानक दुर्घटना घटेपछि भावविह्वल भएका मृतकका श्रीमान जनु चौधरीले चालकले घाइतेलाई अस्पताल लैजान सहयोग गर्नुका सट्टा ट्र्याक्टर लिएर फरार भएकाले जानीबुझी ट्र्याक्टर ब्याक गरेको बताए ।

हालः उक्त ट्र्याक्टर इलाका प्रहरी कार्यालय भण्डारामा राखिएको छ र मृतकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । आज दिनभरि दुवै पक्षबीच कुराकानी नमिलेपछि शवको पोष्टमार्टम हुन सकेन ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *