भोलेबाबालाई ५ वर्ष कैद सजाय, राधा चौधरीले भनिन्, ‘अदालतले अन्याय गर्‍यो’

भोले बाबा बनेर युवतीहरुलाई यातना दिने कैलाली घोडाघोडी नगरपालिका–५, देउकलियाका रामबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासमा बिहीवार कैलाली जिल्ला अदालतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद र एक लाख रुपिया जरिवानाको फैसला गरेको हो ।

गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको दिन उनले गाउँकै राधा चौधरीलाई बोक्सीको आरोप लगाएर निर्घात कुटपिट गर्दै चरम यातना दिएका थिए ।

सार्वजनिक स्थानमा युवतीहरुलाई यातना दिनका लागि सघाउने रामबहादुर उर्फ भोले बाबाका सहयोगीहरुलाई पनि कैद सजाय सहित जरिवाना फैसाला गरेको कैलाली जिल्ला अदालतले जानकारी दिएको छ । अदालतका अनुसार, पार्वती भनिने किस्मती चौधरीविरुद्ध एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला गरिएको छ । किस्मतीले यातना दिनका लागि सघाउनुका साथै राधालाई आफैंले पनि कुटपिट गरेकी थिइन् । यसैगरी, अर्का सहयोगी स्मारिका चौधरीलाई छ महिना कैद र २५ हजार रुपिया जरिवाना सुनाइएको छ । उनीहरुले सोही दिन हेमा चौधरी र मुना चौधरीलाई पनि कुटपिट गरेका थिए ।

रामबहादुरको सहयोगीकै रुपमा पक्राउ परेका अन्य तीन जनाले भने सफाइ पाएका छन् । चनकलाल चौधरी, वेदप्रसाद चौधरी र राम बहादुरकी आमा सीतारानी चौधरीलाई निर्दोष ठहर गरी सफाइ दिइएको हो । नारी हक अधिकारको चर्चा हुने अन्तर्राष्ट्रिय नारी दिवसको दिन बोक्सीको आरोपमा राधा सहितका युवतीहरुमाथि भएको दर्दनाक घटनाले मुलुक नै स्तब्ध भएको थियो । युवतीहरुमाथि यातना भइरहँदा आसपासबाट आएकाहरु रमिते बनेका थिए ।

अदालतले पनि अन्याय गर्यो: राधा

देउकलिया घटनाका पीडित राधा चौधरीले कैलाली जिल्ला अदालतले गरेको फैसलाप्रति चित्त नबुझेको बताएकी छन् । उनले आफूलाई कुनै पनि जानकारी नगराएर दोषीलाई कम सजाय दिने वा उम्काउने नियतका साथ गुपचुपमा फैसला गरेको आरोप लगाइन् ।

‘मलाई यातना दिने विरुद्ध फैसला गर्ने बेलामा मलाई जानकारी गराउनु होला भनेर मैले न्यायाधीशलाई भनेकी थिएँ’, उनले भनिन्, ‘तर, गुपचुपमा फैसला गरियो । मलाई कुनै पनि जानकारी गराइएन । आज थाहा पाएँ । झनै अन्याय भएको महसुस भयो । चिन्ताले खाना पनि खाएको छैन ।’

दोषीहरुविरुद्ध सजायको फैसला हुँदा पनि आफूले न्याय महसुस गर्न नसकेको राधाले बताइन् । ‘मैले जीवनमा कहिल्यै बिर्सन नसक्ने गरी पीडा पाएँ, उनीहरुले ममाथि अन्याय गरे । तर, त्यसको सजाय पाँच वर्ष, एक वर्षमात्रै हुने त ?’, उनले अगाडि थपिन्–‘न्याय दिन्छौं भनेर सबैले भने । न्यायाधीशले पनि त्यही भन्नु भएको थियो । तर, मैले न्याय महसुस गर्न सकिनँ ।’

घटनाको बखत दोषीहरुमाथि कम्तीमा पनि ८/१० वर्षको जेल सजाय हुने भनेर सबैले भने पनि अन्ततः गुपचुमा फैसला गरेर कम सजायको फैसला गरिएको राधाको आरोप छ । भावुक हुँदै भनिन्, ‘यस्तो हुन्छ भनेर थाहा पाको भए मैले दोषीमाथि कारबाहीको माग गर्दै मुद्दा प्रकृया नै अगाडि बढाउने थिइनँ । जहाँबाट न्याय पाउनु पर्ने हो, त्यही ठाउँबाट पनि अन्याय महसुस गरँे ।’

राधाले आफ्नो गाउँमा निर्धक्क साथ बस्न सक्ने र हिँड्न सक्ने वातावरण अझै पनि नबनेको बताइन् । उनले गाउँका केहीले बोल्न थाले पनि अझै कतिपय व्यक्तिहरु आफूसँग नबोल्ने गरेको गुनासो गरिन् ।

बोक्सीको आरोप लगाएर राधालाई निर्मम यातना दिएको घटनापछि देउकलियामा बोक्सी प्रथा विरुद्धको आवाज उठे पनि वातावरण अझै पनि सहज बन्न सकेको छैन । स्थानीयका अनुसार देउकलियामा अझै पनि नक्कली भोले बाबा रामबहादुरको समर्थन गर्ने व्यक्तिहरु रहेका कारण रामबहादुर जेलबाट छुटेर आएपछि फेरि पुरानै पेसामा फर्कने सम्भावना समेत बलियो रहेको छ ।

दीपक उपाध्याय/अनलाइनखबर




Leave a Reply

Your email address will not be published. Required fields are marked *