कस्ता उम्मेदवार अयोग्य हुन्छन् ?
घटना १– २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रौतहतबाट भूमिगत गतिविधि चलाइरहेका बबन सिंह स्वतन्त्रतर्फ उमेदवार बन्दै निर्वाचित समेत भए ।
आम रुपमा उनी भूमिगत समूहका नाइके भनेर चिनिए पनि उनले उमेदवारी दिए र उनी कानुनअनुसार योग्य/अयोग्य भन्ने कुरा खोजी भएन । उनी भूमिगत अपराधि समूहका नाइके भएको जानकारी हुँदाहुँदै पनि निर्वाचित हुन पुगे र ४ वर्ष संसदमा आफ्नो कार्यकाल पूरा गरे ।
घटना २– स्थानीय निर्वाचनलाई चुनौती हुन सक्ने भन्दै सो समयमा दिपक मनाङेलाई प्रहरीले दुई महिना थुनामा राख्यो । तर, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उनै मनाङ्गे उमेदवार बनेका छन् ।
निर्वाचन अघि एमालेमा प्रवेश गरेका मनाङ्गे सो पार्टीबाट सिफारिस समेत भएका थिए । तर, आम रुपमा गुण्डा नाइकेका रुपमा परिचित उनलाई उमेदवार बनाउँदा देशभर बदनाम हुने देखेपछि एमाले पछि हट्यो । तर, एमालेमा छँदा प्रदेशका लागि सिफारिस भएका उनले पछि स्वतन्त्रबाट प्रतिनिधिसभाका लागि मनाङबाटै उमेदवारी दिए ।
विभिन्न अपराधिक गतिविधिमा संलग्नताको आरोपमा पक्राउ पर्दै, जेल सजाय भोगेर छुट्दै आएका उनी उमेदवार बन्दा कानुनअनुसार रोक्न मिल्ने आयोगसँग कुनै आधार छैन । यद्यपी कानुनअनुसार अयोग्य भए पनि उमेदवारविरुद्ध कसैले उजुरी वा दाबी बिरोध नगरेसम्म निर्वाचन आयोगले खोज्दैन ।
जसले गर्दा यो निर्वाचनमा पनि कुनै कानुनतः अयोग्य व्यक्ती समेत उमेदवार बन्ने र निर्वाचित हुने सम्भावना देखिएको छ ।
प्रतिनिधिसभा, प्रतिनिधिसभा र स्थानीय तह निर्वाचन ऐनमा उमेदवारको अयोग्यता सम्बन्धि व्यवस्थामा लगभग एउटै प्रकृति छ । जसमा भनिएको छ ‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको’ व्यक्ति उमेदवार बन्न अयोग्य हुन्छ ।
कुनै व्यक्ति सामाजिक रुपमा अपराधि, नैतिक पतन भएको देखिएर मात्रै उ उमेदवार बन्न नपाउने भन्न मिल्दैन । तर, जो ऐनमा भएको व्यवस्था अनुसार नै उमेदवार बन्न अयोग्य छ, त्यस्तो उमेदवारको हकमा समेत आयोगले खोजी गर्दैन ।
-बाह्रखरीबाट
Facebook Comment