चुनाव जिताउने सांसदलाई मन्त्री बनाउने गच्छदारको घोषणा

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असोज २ गते प्रदेश नम्बर २ हुने स्थानीय तह निर्वाचनमा आआफ्नो क्षेत्रबाट पार्टीलाई जिताउने सांसदहरूलाई मन्त्री पद पुरस्कार दिने घोषणा गरेका छन्। यसैगरी उनले आआफ्नो क्षेत्रबाट चुनाव जिताउने पार्टीका पदाधिकारीलाई एक तह बढुवा गर्ने आश्वासन पनि दिएका छन्।

साउन अन्तिम प्रदेश २ मा गरिने पार्टीको भेलाबारे तयारी गर्न बुधबार बोलाइएको पदाधिकारी बैठकमा गच्छदारले यस्तो घोषणा गरेका हुन्। सो बैठकमा सहभागी नेताका अनुसार गच्छदारले आफ्नो क्षेत्रमा चुनाव जिताउने सांसदलाई मन्त्री पुरस्कार र पार्टी पदाधिकारीले एक तह बढुवा गर्ने आश्वास दिएका थिए। ‘पु्रस्कार भनेर पैसा दिने कुरा त गर्नु भएन तर सांसद भएकालाई मन्त्रीमा सिफारिस गर्ने र सांसद नभएका पार्टी पदाधिकारीलाई एक तह बढुवा गर्ने अध्यक्षको आसय थियो,’ बैठकमा सहभागी सांसद योगेन्द्र चौधरीले भने, ‘अध्यक्षज्यूले आआफनो क्षेत्रमा चुनाव नजिताउने नेताहरूलाई कारबाहीस्वरूप घटुवा गर्ने पनि बताउनु भएको थियो।’

केही दिनअघि भएको पार्टीको वार्षिकोत्सव कार्यक्रममा पनि गच्छदारले यस्तै कुरा गरेका थिए। फोरम लोकतान्त्रिकका १७ सांसद छन् भने ११ पदाधिकारी छन्। २ नम्बर प्रदेशबाट सांसद र पदाधिकारी दुईजना मात्र छन्। एक जना जतेन्द्र यादव हाल मन्त्री छन भने अर्की सांसद आशा चतुर्बेदीले मन्त्री हुने आकांक्षा राखेकी छिन्। फोरम लोकतान्त्रिककाट हाल तीन जना मन्त्री छन्।

दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनावलाई दुई मधेस केन्द्रित दल संघीय समाजवादी फोरम, नेपाल र फोरम लोकतान्त्रिकले प्रतिष्ठाको विषय बनाएका छन्।

फोरम लोकतान्त्रिकले साउन अन्तिम साता धनुषामा बृहत भेला गर्ने भएको छ। गच्छदारले चुनावमा फोरम नेपालसँग पनि तालमेल गर्ने जनाएका छन्। फोरम नेपालले पनि गच्छदारलगायत राजपासँग पनि तालमेल गर्ने बताएको छ । राजपाले भने चुनावमा जाने या नजाने भन्नेबारे अझै स्पष्ट निर्णय गरेको छैन।

नागरिक दैनिकबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *