पहिरो छल्दै हिँडेका चौधरी त्रिशुलीमा खसेर बेपत्ता

नारायणगढ-मुग्लिन सडक खण्डमा पैदल हिँडिरहेका एक यात्रु चिप्लिएर त्रिशुली नदीमा खस्दा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शनिबार बिहान ११ः४५ बजे सर्लाही मदनपुर– ६ का २१ वर्षीय भिखारी चौधरी त्रिशुली नदीमा खसेर बेपत्ता भएका हुन्।

सो सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्यालीबजारबाट चौधरी एक सय मिटर तल त्रिशुलीमा खसेका हुन्। सो सडकको मुग्लिनबाट २ दशमलव पाँच किलोमिटर नारायणगढ तर्फ शुक्रबार बिहानबाट पहिरो खसेर सडक अवरुद्ध भएपछि पैदल हिँड्दै आएका चौधरी त्रिशूलीमा खसेका हुन्।

पोखराबाट घरतर्फ जान आउँदै गर्दा तनहुँको आँबुखैरहनीमा बसबाट झरेर हिँड्दै आउने क्रममा घटना भएको प्रहरीले जनाएको छ। पहिरो कटेर बस चढ्ने योजना बनाएका चौधरी बीचबाटोमा नै त्रिशुलीमा खसे। उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजीकार्य जारी राखेको छ। सोही सडकमा थप पहिरो आएपछि भाग्ने क्रममा हिजो पनि एक जनाको त्रिशुलीमा खसेर मृत्यु भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *