४४ प्रतिशत थारु रहेको धनगढी उपमहानगरमा थरुहट र अखण्ड सुपको प्रभाव पर्ला?

प्रमुख दलहरूले प्रदेश नम्बर ७ को राजनीतिक तथा आर्थिक केन्द्रका रूपमा विकसित भइरहेको धनगढी उपमहानगरको चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । विगतका चुनावमा कांग्रेस र एमालेका बीचमा तीव्र प्रतिस्पर्धा हुने गरेको भए पनि अहिले यी दुई दलसँगै माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारका बीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

संविधानसभा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले ठूलो मतअन्तरले निर्वाचन जितेको यो उपमहानगर र सँगै जोडिएका अन्य ठाउँमा क्षेत्रीय र जातीय मतले ठूलो भूमिका खेल्ने देखिएको छ । माओवादी केन्द्रबाट महानगरमा ४४ प्रतिशत मतदाता रहेको राना थारू समुदायबाट उम्मेदवार दिइनु, व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दिनु, कांग्रेस र एमालेमा थारू समुदायबाट प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी नदिनु जस्ता विविध कारणले परिणाम सोचेभन्दा फरक आउन सक्ने अनुमान गर्न थालिएको छ ।

‘अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलनको प्रभाव पनि यो निर्वाचनमा पर्न सक्छ,’ प्राध्यापक डा. टीएन जोशी भन्छन्, ‘जातीय रूपमा मतदान भयो भने परिणाम सबैले सोचेभन्दा फरक पनि हुन सक्छ । अहिलेसम्मका निर्वाचनको ट्रेन्ड भने त्यस्तो देखिएको छैन ।’ भेगीय प्रभावले पनि निर्वाचन परिणामलाई प्रभावित पार्न सक्ने उनले बताए । ७ वटा पहाडी जिल्ला, कर्णालीपारि र पूर्वी नेपालबाट बसाइँ सरी आएका अधिकांश बासिन्दा मतदाता भएकाले यसको असर हरेक निर्वाचनमा झैं यस पटक पनि पर्न सक्छ । जोशीका अनुसार थारू मतदाताको रुझान कता हुन्छ ? त्यसले हारजित प्रभावित हुने निश्चित जस्तै हो । उपमहानगरमा ४४ प्रतिशत थारू, १७ प्रतिशत क्षत्री, १३ प्रतिशत ब्राह्मण, साढे ७ प्रतिशत दलित, ३ प्रतिशत ठकुरी र साढे १३ प्रतिशत अन्य मतदाता रहेका छन् ।

०४९ को पहिलो स्थानीय निकायको निर्वाचनमा कांग्रेसले बहुमतका साथ निर्वाचन जितेको धनगढीमा ०५४ मा एमालेले कब्जा गरेको थियो । ०५१ को मध्यावधिमा नगर क्षेत्रका निर्णायक मतका कारण एमाले नेता महेश्वर पाठकले निर्वाचन जिते । ०५६ मा कांग्रेसले विजय हात पार्‍यो । ०६४ को संविधानसभामा भने माओवादीकी लीला भण्डारीले नगर क्षेत्रमा राम्रो मत प्राप्त गरेर जित हासिल गरिन् ।

दोस्रो संविधानसभामा फेरि मतदाता परिवर्तन भए । कांग्रेसले झन्डै दोब्बर मत अन्तरले विजय आत्मसात् गरेको थियो । ‘हरेक निर्वाचनमा परिवर्तन हुने मतदाताको मनोविज्ञानले यसपटक पनि सोचेभन्दा फरक परिणाम आउन सक्छ,’ नागरिक अगुवा रविन पन्तले भने, ‘मतदाता परिवर्तन चाहन्छन् । त्यो परिवर्तन कसको पक्षमा हुन सक्छ, केही दिन अझै पर्खिनुपर्छ ।’ थरुहट र अखण्ड सुदूरपश्चिम आन्दोलनले थारू र पहाडी समुदायका बीचमा कोरेको विभाजनको छाया चुनावमा देखिने सम्भावनालाई नकार्न नसकिने उनले बताए । कांग्रेस र एमालेभित्र देखिएको असन्तुष्टि र विभाजनले पनि निर्वाचन परिणामलाई प्रभावित पार्न सक्छ । दुवै दलका असन्तुष्ट नेता प्रचारमा देखिए पनि अन्तरघातको सम्भावना पनि जीवन्त रहेको विश्लेषण गर्न थालिएको छ ।

स्वतन्त्र उम्मेदवार चुनौती

धनगढी उपमहानगरमा विकासका एजेन्डासहित गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जातीय र भेगीय रूपमा मतदाता बाँडिएका प्रदेश नं ७ को एक मात्र उपमहानगरमा उनको उम्मेदवारी प्रमुख दल कांग्रेस र एमालेका लागि बढी चुनौती बनेको छ । हमालले विकासका स्पष्ट एजेन्डासहित मतदाता आर्कषित गर्न थालेका छन् ।

टोलटोलमा स्वतन्त्र उम्मेदवारलाई मत माग्न कार्यालय स्थापना भएका छन् । कांग्रेस, एमाले र राप्रपाका समर्थक नै उनको प्रचारमा लागेकाले पनि अन्य दलका उम्मेदवार झस्किएका हुन् । हमालले धनगढी विमानस्थल कालोपत्रे गर्न, ब्लड बैंकको स्थापना, मेडिकल कलेज स्थापनाको पहल र औद्योगिक क्षेत्र स्थापनाका लागि भूमिका निर्वाह गरेको बताए ।

अन्य दलका उम्मेदवारको पनि आआफ्नै दाबी छ । ‘सबै राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ । विकास युगको नेतृत्व पनि कांग्रेसले नै गर्ने भएकाले जित्नबाट कसैले रोक्न सक्दैन,’ कांग्रेस उम्मेदवार नृप वडले भने । शान्ति र विकासका लागि कांग्रेस आवश्यक छ भन्ने कुरा जनताले बुझेको उनले बताए ।
एमाले उम्मेदवार दुर्गा जोशीले पनि आफ्नो दलले जनताका हरेक विकासका इच्छालाई सम्बोधन गर्दै आएको दाबी गरे । उनले भने, ‘समाजको तल्लो वर्ग, गरिब, निमुखा जनताका लागि एमालेले आफ्नो शासनकालमा सुरु गरेका काम जनताले बिर्सेका छैनन् ।’ माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले अहिलेको परिवर्तन माओवादीका कारण सम्भव भएको बताए ।
कान्तिपुर दैनिकबट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *