चार बुँदे समझदारीपछि संसद खोल्न एमाले तयार, शेरबहादुर आज प्रधानमन्त्री बन्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको प्रधानमन्त्री हुने बाटो खुलेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) व्यवस्थापिका-संसद्को अवरोध खोल्न सहमत भएपछि प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ। सभामुख ओनसरी घर्ती मगरको पहलमा आज सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा एमालेका नेताहरुले संसद् बैठक अवरोध नगर्ने बताएका थिए।

बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै काँग्रेसका नेता विमलेन्द्र निधिले सदन खुलेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्ने जानकारी दिए। त्यसलगत्तै सभामुख घर्तीले प्रधानमन्त्री निर्वाचनका क्रममा भएका सबै प्रक्रियाका बारेमा सदनलाई जानकारी गराउने र त्यसपछिको दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुने सहमति भएको उपप्रधान तथा गृहमन्त्री निधिले स्पष्ट पारे।

त्यसैगरी एमाले नेता झलनाथ खनालले मंगलबार हुने सदनको दोस्रो बैठकले देउवालाई प्रधानमन्त्री चुन्ने बताउँदै अग्रीम बधाई दिए। उनले भावी प्रधानमन्त्रीले गर्ने राम्रा कामका लागि पार्टीले समर्थन गर्ने बताए। पूर्वप्रधानमन्त्री खनालले नयाँ सरकारले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई तलमाथि नयरी शान्तिपूर्ण, भयरहित र निष्पक्षताका साथ गर्ने सहमति भएको बताए।

प्रदेश र राष्ट्रियस्तरको निर्वाचन सम्पन्न गर्न सबै एकताबद्ध भएर लाग्ने, सरकारले राज्य संरचनालाई निष्पक्षताका साथ उपयोग गर्ने र निर्वाचनलाई सफल पार्ने काममा दृढतापूर्वक लाग्ने सहमति भएको छ। नेता खनालले पहिलो चरणको निर्वाचनमा देखिएका अनियमितालाई नदोहोर्‍याउने सङ्कल्प गरिएको बताए।

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संसद्को अवरोध हटाउन एमाले समहत भएकाले मंगलबार राष्ट्रले नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *