‘समानुपातिक समावेशीको कुरा व्यवहारमा देखिएन’

कारी महतो, चितवन।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीले समानुपातिक समावेशीताको कुरा सरकारको व्यवहारमा नदेखिएको बताएका छन्। सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत चितवन जिल्ला समन्वय समितिद्वारा सञ्चालित तथा थारु कल्याणकारिणी सभा (थाकस) चितवनको माडी क्षेत्रले आयोजना गरेको सचेतना कार्यक्रममा जनजाति महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव लेखीले पछाडि पारिएका जनतालाई राज्यको मूलधारमा ल्याउनका लागि राज्यको हरेक तह र तप्कामा जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल थाकसले उठाएको भएपनि त्यसलाई राज्यले व्यवहारिक कार्यान्वयन नगरेको बताए। विभिन्न निकायमा मनोनित गर्ने क्रममा तीन प्रमुख दलले भागबण्डा लगाई तराई मधेसका जनतालाई विभेद गरेको लेखीले बताए।

त्यस्तै अर्को प्रसंगमा बोल्दै लेखीले जनसंख्याको आधाभन्दा बढी हिस्सा तराई मधेसमा रहेकाले विगतमा जिल्लाको संरचना जसरी बनाइयो त्यसरी नै अहिले स्थानीय तह निर्माणको क्रममा पौने पाँच सय स्थानीय तह पहाडमा र अढाई सय मात्र तराईमा स्थानीय तह बनाइएकोले थारु र मधेसीको हित विपरीत रहेको ठहर गरेका छन्।

सचेतना कार्यक्रम जेठ १३ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा र १६ गतेदेखि १८ गतेसम्म दोस्रो चरणमा साविक गर्दी र बघौडा गाविसका २४० जना सहभागी रहेका छन्। थाकस माडी क्षेत्रका क्षेत्रीय सभापति टुमराज महतोले जानकारी दिए।

कार्यक्रम संयोजक राम अवतार महतोका अनुसार कार्यक्रममा पूर्व न्यायधिस नन्दलाल महतो र अधिवक्ता शिवराम महतोले “कानुनी साक्षरता” सम्बन्धी तथा थारु विद्यार्थी समाजका केन्द्रीय पूर्व अध्यक्ष चन्द्रनारायण चौधरीले “आदिवासी शासन प्रणाली” सम्बन्धी र सञ्जय चौधरीले “संक्रमणकालीन शासन व्यवस्था र समावेशी लोकतन्त्र” विषयमा प्रशिक्षण दिइरहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *