यसरी लुट्‍यो मेघा अस्पतालले बिरामीको सर्वश्‍व‍‍ [भिडियोसहित]

ऋषि चौधरी

अर्काको खेती नगरी हाम्रो परिवारलाई खान पुग्दैन। घरखर्चमा थपथाप होला भनेर भैँसीराँगा पालेका छौं। हाम्रो घर दाङ पिप्रामा पर्छ ।जग्गाजमिन छैन। पैसा जुटाउन नसक्दा भाइ र मैले पढ्न छोड्यौँ र बच्चैदेखी मजदुरी गर्‍यौं। बुवा (शिवप्रसाद चौधरी) भैँसी राँगा चराउनुहुन्थ्यो। गत वैशाख दुई गते राँगाले हानेपछि उहाँको ढाड र खुट्टामा चोट लाग्यो। गाउँलेहरुसँग सल्लाहपछि मैले तुरुन्त बुवा (शिव चौधरी) लाई उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा ल्याए। गहिरो चोट लागेकाले काठमाडौं लान डाक्टरले सल्लाह दिए। एम्बुलेन्सबाट बुवालाई काठमाडौं ल्याए।

बाटोमा एम्बुलेन्स ड्राइभरले पटकपटक सोधिरहेका थिए कुन अस्पताल लाने भनेर। मैले सिभिल अस्पताल भन्दा अन्त लगे हुन्न र भन्ने गर्थै उनी। बुवालाई सिभिल पुर्‍याए तर त्यहाँका डाक्टरले ‘ट्रमा’को उपचार हुन्न अन्त लैजान सुझाव दिएपछि एम्बुलेन्सलाई ट्रमा र टिचिङ अस्पताल पुर्‍यादिन भने। तर ड्राइभरले ट्रमा र टिचिङ अस्पतालमा आफ्नो मान्छे नभएसम्म भर्ना लिदैनन् र उपचार शुल्क पनि मंहगो लिन्छन् बरु यसका लागि मेघा अस्पतालमा राम्रो र सस्तोमा उपचार हुन्छ भन्दै एम्बुलेन्स त्यतै लगे। उनले त्यहाँ उदारोमा पनि उपचार हुने अनि नसा र हाडजोर्नीका ठूलाठूला डाक्टर कार्यरत भएको बताए। काठमाडौंमा एक जना मामा बाहेक अरु खासै कोही चिनेजानेको कोही थिएन। त्यही भएर ड्राइभरलाई विश्वास गरे।

मेघा अस्पताल पुर्याएपछि सिधै आईसीयुमा भर्ना गरियो र भनियो प्रत्येक दिनको बेड चार्ज पाँच हजार लाग्छ अनि आवश्यक औषधि उपकरण आफै किन्नु पर्छ। दुई लाख २० हजार ‘डिपोजिट’ गर्न पनि भनियो। फार्मेसीमा पनि १५ हजार डिपोजिट गर्न लगाइयो। त्यतिबेला बुवालाई बचाउनु थियो त्यसैले चुपचाप अस्पतालले जे भन्यो त्यही मानेँ। साता दिनपछि बुवालाई ‘वार्ड’मा सारे। तत्काल ‘ट्रयाक्सन’ लगाउनु पर्छ भनियो। तर एक हप्तासम्म सामान आइपुगेको छैन भन्दै ‘ट्रयाक्सन’ लगाइएन। बुवाको पीडा देखेर मलाई खपिनसक्नु हुन्थ्यो। बुवा दिनप्रतिदिन सुक्दै जानु भएको थियो। हातखुट चल्न छोडेका थिए। म आत्तिएर डाक्टरलाई सोधिरहन्थे। डिपोजिट गरेको पैसाबाट ट्रयाक्सनको मात्रै एक लाख कटाइयो। त्यसको सातादिनपछि अस्पतालले अप्रेशन गर्नु पर्छ भन्दै अर्को तीन लाख रुपैयाँ जुटाउन भन्यो। पहिले नै ऋण। त्यत्रो रकम जुटाउन मेरा लागि समय थिएन।

अस्पतालले मेरो कुरा नसुनेपछि बुवालाई हेर्दै आउनु भएको डाक्टरलाई फोन गरेर आफूसँग पैसा नभएको र बुवाको अवस्था झन् कमजोर भएको भन्दै उपचारमा सहयोग गरिदिन अनुरोध गरे। उल्टो डाक्टरले अस्पतालबाट आफूले ‘डियुटी’ गरेको पैसा नपाएकाले आउन नसक्ने बताउनुभयो।

मैले पटकपटक ट्रमा सेन्टरमा रिफर गर्न गरेको अनुरोध अस्पतालले सुन्दै सुनेन। मैले पैसा दिन नसकेपछि भर्ना गरेको एक महिना दुई साता पछि अस्पतालले अप्रेशन गर्न नसकिने र अहिले सम्मको शुल्क तिरेपछि बुवालाई ट्रमा सेन्टर पठाउन सक्ने निर्णय सुनायो। अनि कुल तीन लाख ६८ हजार रुपैयाँको बिल बनाइयो। अस्पतालको प्रिन्टर बिग्रिएको छ भन्दै कापीको पानामा हातले लेखेको बिल दियो।

कुनै पनि हालतमा मैले त्यो पैसा जुटाउने सक्दैन थिए म। अन्तमा मैले पैसा तिर्न सक्दिन बुवालाई यही छोडेर जान्छु र उहाँलाई केही भयो भने त्यसको जिम्मेवारी तपाईहरुले लिनुपर्छ भन्दै म अस्पतालबाट निस्किए। अनि काठमडौंमा रहनुको भएका मामालाई सम्पर्क गरी सबै घटना सुनाएँ।

पत्रकारलाई भनेर हुन्छ की भनेर म अर्को दिनदेखि मिडियाको खोजीमा लागेँ। त्यो कुरा अस्पतालका कर्मचारीले थाहा पाएछन् अनि तपाई आउनुहोस सल्लाह गरौंला भन्दै फोन गरे। म त्यहाँ पुग्नासाथ एकाएक अस्पतालका कर्मचारीले कुरा फेरे। पहिले पैसा नतिरेसम्म बुवाको रिफर वा डिस्चार्ज हुँदैन भन्नेहरु बुवालाई ट्रमा पठाउन राजी भए। मैले तिर्नु पर्ने बाँकी पैसा छुट गरेको सुनाए। अनि कसैलाई भन्नु भयो भने तपाइको राम्रो हुने छैन भन्दै धम्की पनि दिए मलाई। बुवाको उपचारमा लापरवाही गरेको र मेरो अनावश्यक उपचार खर्च लिएको अस्पतालसँग म झगडा गर्न चाहन्थेँ तर गरिन किनभने बुवालाई त्यहाँबाट निकाल्नु नै मेरो पहिलो काम थियो।

अस्पतालले बुवालाई निकालेपछि मैले उहाँलाई तत्कालै ट्रमा सेन्टरको इमरजेन्सीमा पुर्याए। यहाँका डाक्टरले बुवालाई किन ढिलो ल्याएको भन्नु भयो। उहाँको जेजसरी उपचार हुनुपथ्र्ये त्यो नभएको डाक्टरको भनाइ छ। बुवाको मेरुदण्डको हड्डी फुस्केकाले समयमै अप्रेशन गर्नु पथ्र्यो रे !
मैले ऋणबाट जम्मा गरेको पैसा सबै मेघा अस्पताललाई बुझाई सकेको छु।

ट्रमा सेन्टरमा निःशुल्क वेड हुन्छ भन्ने सुनेको थिए तर खाली छैन रे। विपन्नको कार्ड बनायो भने निःशुल्क उपचार हुन्छ भने सुने तर त्यसको लागि बुवाको सबै रिर्पोट लिएर फेरि गाउँ जानु पर्छ रे ! कार्ड बनाउन पनि निकै दिन लाग्छ रे ! म बुवालाई यस्तो अवस्थामा छोडेर कतै जान सक्दिन। ट्रमामा आएपछि पनि भर्नाका र औषधिका लागि तीन हजार खर्च गरिसकेको छु। गाउँबाट पठाएको पैसा सकिएपछि मागेर काम चलाइरहेको छु। मलाई लाग्छ मेघा अस्पताल र एम्बुलेन्सको मिलोमतो हुँदा ड्राइभरले मेरो बुवालाई मेघा पुर्‍यायो। यो त छानविनले पुष्टी गर्ने कुरा हो। तर म गरिब, बुवाको हेरचाह गरौं की न्याय मागौं ?

मेघा अस्पतालका म्यानेजर हरि नेपाल
शिव चौधरीको उपचार हामीले राम्रै गर्ने कोशिस गरेका हौँ। उहाँ धेरै गम्भीर अवस्थामा आएकाले आईसीयुमा राखेका थियौं। ट्रयाक्सनबाट हुन्छ की भनेर त्यो विधिबाट पनि उपचार थालेको हो। तर नभएपछि अप्रेशन गर्ने तयारीमा हुनुहुन्थ्यो डाक्टरहरु। तर अप्रेशनका लागि करिव तीन लाख रुपैयाँ लाग्ने भने पछि मात्रै उहाँहरुले हामी पैसा जुटाउन सक्दैनौं भन्नु भयो। त्यसबारे हामीलाई पहिला जानकारी भएन। आईसीयुमा राख्दा ट्रयाक्सन गर्दा पनि हामीले तपाईंको आर्थिक अवस्था कस्तो छ भनेर सोधेका थियौं। उहाँका आफन्तले हामी चौधरीहरु हो पैसा जुटाउन सकिहाल्छौं भन्नु भएको थियो। त्यसैले हामीले शिव चौधरीलाई आईसीयुमा राखेका हौं। उहाँले अप्रेशन र अहिलेसम्म लागेको उपचार शुल्क तिर्न सक्दैनौं भनेपछि हामीले उहाँहरुले तिर्नु पर्ने एक लाख ४८ हजार रुपैयाँ पनि मिनाह गरेर ट्रमा सेन्टरमा पठाएको हो।

प्रस्तुति : दीपा दाहाल/अन्नपूर्ण  पोष्ट




Leave a Reply

Your email address will not be published. Required fields are marked *