थरुहट कैलालीमा कांग्रेसको चुनाबी अभियान, देउवाले भने- ‘थारुलाई थिचोमिचो पारियो’

कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसलाई छाडेर देश नबन्ने बताउँदै देश निर्माणमा सबै जातजाति र भाषाभाषीलाई एकजुट हुन आग्रह गरेका छन् । कैलालीको अत्तरियाबाट कांग्रेसले आइतबार सुरु गरेको देशव्यापी चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले प्रतिपक्षी दल एमाले हिमाल, पहाड र मधेसमा झगडा चर्काउने षड्यन्त्रमा लागेको आरोप लगाए ।

‘एमालेजस्तो जिम्मेवार पार्टी देशका विभिन्न जातजाति र भाषाभाषीका बीच झगडा चर्काउन खोज्दै छ, राजनीतिका नाममा गैरजिम्मेवार रूपमा प्रस्तुत हुनु दुर्भाग्यपूर्ण हो,’ उनले भने ।
‘देश निर्माणमा सबै जातजाति र भाषभाषीको उत्तिकै योगदान रहेको बताउँदै उनले भने, ‘हिमाल र पहाडले मात्र देश बन्दैन, मधेसलाई छोडेर पनि देश बन्न सक्दैन ।’

सभापति देउवाले हिमाल, पहाड र मधेस नेपालीको विशिष्टता भएकाले देश निर्माणमा सबैको उत्तिकै भूमिका र उत्तरदायित्व हुनुपर्ने बताए । ‘उखानटुक्काले देश बन्ने भए कलाकारलाई पार्टीको अध्यक्ष बनाए भयो,’ एमाले अध्यक्ष केपी ओलीप्रति इंगित गर्दै देउवाले भने, ‘उहाँ (ओली) भन्दा राम्रा कलाकार देशमा धेरै छन् ।’

देउवाले कांग्रेसले नै सामाजिक सुरक्षा भत्ताको सुरुआत गरेको बताउँदै त्यही नीति र एजेन्डालाई टेकेर एमालेले सस्तो लोकप्रियता खोजिरहेको बताए । उनले कांग्रेसकै कारण देशमा विदेशी सहयोग आएको दाबी गर्दै भने, ‘कांग्रेसलाई दुनियाँले पत्याएको छ, विदेशबाट सहयोग हामीले ल्याउने अनि बाँड्ने एमाले ?’

उनले सुदूरपश्चिममा पनि थारू र पहाडीबीच द्वन्द्व निम्त्याउने काम भइरहेको बताए । देशका विभिन्न भूगोलमा रहेका विशिष्टतालाई जातीय र वर्गीय रूपमा विभाजन गर्ने राजनीति भइरहेको भन्दै यसबाट सजग रहन सबै पक्षलाई आग्रह गरे । ‘जंगबहादुरले पैसाको सट्टा अंग्रेजसँग नयाँ मुलुकको भूमि मागेको हो । यो सबैको हो, सबैले मिलेर बस्नुको अर्को कुनै उपाय नै छैन,’ उनले भने, ‘आदिवासी राना थारू र डंगौरा थारूहरू विगतमा थिचोमिचोमा परेका हुन् । उनीहरूलाई विशिष्टखाले अधिकार र संरक्षण गरिनुपर्छ ।’

सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि एमालेप्रति आक्रामक रूपमा प्रस्तुत भएका थिए । ‘एमाले प्रतिपक्षीको भूमिकाभन्दा देशमा द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको छ,’ उनले भने, ‘अब सबै पार्टीले विकासका मुद्दा अगाडि ल्याउनुपर्छ, जातीय, भेगीय र वर्गीय द्वन्द्व निम्त्याएर देश बन्न सक्दैन ।’ सभामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौला, नेताहरू एनपी साउद, रमेश लेखक, बद्री पाण्डेलगायतले सम्बोधन गरेका थिए । सुदूरपश्चिमबाट सुरु भएको कांग्रेस चुनावी अभियान झापा पुगेर टुंगिनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *