चन्द्रावतीको पहिलो प्रेम पत्र
मुना चौधरी।
एक दिन अचानक भाइ मोतीराम दरवार आइपुग्यो। मोतीरामलाई देख्ने वित्तिकै मैले सोधेँ, “सेना तयारी गर्न छोडेर तिमी यहाँ किन? आपन कर्तव्य बिर्सियौ?” उसले आफ्नो खल्तीबाट लिफाफा झिक्दै मेरो हातमा राख्दै भन्यो, “दाजु यो पत्र तपार्इँको नामसे आएको थियो। त्यही दिनलाई आएँ।”
–“कसको पत्र हो? कसले दियो?”
–“पकडियागढबाट सेना आएको थियो। राजकुमारीको हुकुम हो रे तपार्इँको हातमा नै दिनू।”
सेनाको तयारीमा थुप्रै काम बाँकी छ भनेर मोतीराम त्यहँाबाट निस्केर गयो। म आफ्नो कक्षमा गएँ। लिफाफा खोलेँ। त्यो चिठी चन्द्रावतीको थियो। उसले मलाई चिठी पठाएकी थिई चिठी यस्तो थियो –
प्यारो सलहेश,
हरपल ताजा रहिरहने प्यार!
मौन स्वीकृति अघरको जान्ने मैले के कसरी? परेलीको बोल्न खोज्छ यो मनको मौन भाषा। खोई कसरी दिऊँ तिमीलाई यो प्रेमको परिभाषा? तिम्रो प्रेममा मेरा केही व्यस्तताहरु यथावतै रहेको कारणले यो पत्र लिखेकी छु।
वास्तवमा तिम्रो प्रेममा व्यस्त भइरहनु बहुत रमाइलो लाग्छ। तिम्रो प्रत्येक कुराले हरहमेसा प्रेममय जवाफ नलेखी मलाई शान्तसँग बस्न दिएन। तिमीलाई मैले पहिलो र अन्तिम प्रेमीको रूपमा ग्रहण गर्ने प्रतिज्ञा लिएकी छु। तिमीसँग दौना बागमा गरेको कुराकानी झलझल्ती सम्झन्छु। त्यो पल जति वर्णन गरे पनि अवर्णनीय नै रहन्छ। तिमीसँग भेटेको बागको ठाउँ देख्दा मलाई तिम्रो याद आइरहन्छ। म तिमीलाई प्रेम गर्न पुगेकी छु। तिमीलाई मैले प्रेम गर्दै गएँ भने मेरो मनमा तिमीप्रति झन–झन गहिरो प्रेम बस्न जान्छ। मेरो प्रेम तिमीप्रति गहिरो भए पछि के जन्मन्छ? तिमीलाई थाह छ होला होइन? त्यो जन्मिने भाव हो यादमा तड्पिनू। म आफ्नो दरवारको भित्ता–भित्ता र कुना – कुनामा तिमीलाई देख्न थालेकी छु।
तिमी बहुत सम्झदार रहेछौ। मेरो भावना बुझ्ने एकटा विश्वासिलो प्रेमी मैले तिमीलाई देखेँ। मध्यरातलाई अँगाल्दै मैले पत्र लेखेकी छु। यतिबेला तिम्रो यादले मसँग लुकामारी खेलिरहेको छ। तिम्रो यादले कुनै बेला सताउँछ। कुनै बेला हँसाउछ थाहाँ पाउनै सक्दिनँ किन प्रेम यस्तो हुन्छ? तिमी किन मलाई मन पर्न थाल्यौ? तिमी एक जना हौ जो मलाई औधी मन पर्न थालेका छौ। तिमीसँग बिछोडिदा यो धरती शून्य लाग्न थालेको छ। आफ्नो दरवार पनि मलाई पराईको दरवार जस्तै लाग्न थालेको छ।
मायाबाट दुःख उत्पन्न हुन्छ भने कुरा मलाई थाह छ। साँच्चि नै प्रेममा मेरो बेचैनी बढ्छ। मलाई तिम्रो शून्यता र यादले सताइरहन्छ। म तिम्रो यादलाई बाँच्ने आधार बनाइसकेकी छु। मेरा दिनहरु पनि उस्तै प्रकारले तिम्रै यादमा बितिरहेको छ। आँखा बन्द गरे पनि तिमी देख्छु। खोले पनि तिमी देख्छु। मेरो धोको तिम्रो न्यानो काखमा बाँधिएर जिन्दगीको अन्तिम क्षण बिताउनु हो। यो गजल तिम्रै प्रेममा पागल बनेर कोरेकी छु सुन् –
पिजडामा मनलाई सक्दिन थुन्न।
तिम्रो मायामा डुल्न कतै छेकवार हुन्न।।
गहिरो माया नापिँदैन नापी।
यो दरवारदेखि पर मुटुमा।।
बनाएकी छु तिम्रो लागि प्रेममय घर।
छोडी नजाऊ आँसु लाग्ला मेरो प्रीत हौ तिमी।।
तिम्रो शरीरभरि सुगन्धको अनुराग छ।
मैले लेख्ने पत्रमा मिठो मायाको मधुमास छ।।
तिम्रो साधारण पहिरण मलाई अति नै मन पर्छ। तिमीमा गहिरिएर विचार गर्न सक्ने र सोच्ने क्षमता व्याप्त देखेँ। सम्पूर्ण गुणहरु तिमीमा देखेँ। तिमीमा एउटा आदर्श प्रेमीको गुण देखेँ। तिमीमा एकटा मर्दको छोराको अभिव्यक्ति पाएकी छु। तिमी मेरो मनको गहिराइमा बसेका छौ। त्यहाँबाट तिमीलाई निकाल्न मुश्किल छ। जब तिमी मलाई आपन अँगालोमा कस्ने छौ त्यो रात जुनेली रात हुनेछ। तिमीलाई सम्भि्कन मलाई बिलकूल एकान्त चाहिन्छ। प्रेम यस्तो चरो हो जो मुटुको गुडमा तबसम्म मात्र लुकेर बसेको हुन्छ जबसम्म शब्दको प्वाँख उम्रेको हुँदैन। शब्दको प्वाँख उमि्रनासाथ ओठको हाँगामा आएर भुर्रर उड्छ।
जब सुत्दछु तिम्रो आकृति आत्मीय भई आउँछ र मेरो मिठो निन्द्रालाई झन सिंगारी दिन्छ। रातिको नीरवमय वातावरणलाई सुमधुर कल्पनाहरु बोक्न आह्वान गर्छ। प्रेम नै त्यस्तो साधन हो जुन लिएर दिएर कहिल्यै रितिन्न। यो अविरल साथ सबैको आत्मामा कुनै न कुनै किसिमले सुनियोजित ढङ्गले ढाकिएको हुन्छ। प्रेमलाई कसैले चुनौतिको संज्ञा दिएको हुन्छ भने कसैले निस्तव्ध अन्धकार सजाउने साधनको संज्ञा दिएको हुन्छ। सलहेश, म भन्छु प्रेम फुलको वासना जो हरेकलाई वासना दिन्छ। त्यो वासनारूपी माया हरेक प्राणीलाई त्यसरी नै सँगालिदिएको भए यस मानव जीवनमा कहिल्यै दर्द, विछोड, पिर र वेदना आउने थिएन। विछोडको वेदनाले अल्भि्कएर सुखद समयलाई अपनाउन विवश भएर पनि कुनै सफलता नपाएर त्यसको बदलामा दुःखी भई बाँच्नु आजको बिडम्बनाले जसलाई पनि मुस्कान पोख्न त के मुख खोल्न पनि बाध्य गराउँदछ।
कसैलाई दुःख होस् वा खुख तर सामय बित्दै जान्छ र आउँदो घडीमा कतिको जीवन गए पनि प्रेम रितिँदैन। खुसीलाई जति लुकाए पनि लुक्दैन र दुःखलाई व्यक्त नगरे बुझिँदैन। मलाई एकान्त मन पर्न थालेको छ। संसारको रमझमभन्दा टाढा देखिनु स्वाभाविकै हो। बेहोसी अवस्थामा तिम्रो न्यानो एवं हृदय स्पर्शी माया पाएको कल्पना गरिरहन्छु।
मरुभूमिरूपी जीवनमा दोधारमा बाँचेकी छु। यो मुटुको ढुकढुकीमा तिम्रै तस्वीर छ। तिमीसँग कुरा गरेको क्षण सम्भि्कँदा तिम्रै न्यानो मायाको सम्झनामा हराउन पुग्दछु। डुल्दा डुल्दै तिम्रो कल्पनासँगै अनन्तसम्म दौना बागमा डुलिदिन्छु। तिमी भेटेको ठाउँमा तिमीलाई नै खोज्न पुग्छु तर तिमीलाई त्यो ठाउँमा फेरि नदेख्दा निराश भएर फर्कन्छु।
प्रेम त त्यही अमर हुन्छ जसले मनले प्रेम गर्छ। सच्चा प्रेमी त्यहीँ व्यक्ति हुन्छ जसले आफ्नी प्रेमीकालाई सकारात्मक दृष्टिले हेर्छ। सच्चा प्रेमी त्यहीँ व्यक्ति हुन्छ जसले आफ्नी प्रेमीकाको सुख, दुःखमा साथ दिन्छ र सधैँ सकारात्मक बाटो देखाउँछ। शारीरिक आकर्षणमा आशक्त भएर प्रेम गर्ने व्यक्तिलाई वासनात्मक प्रेमीको संज्ञा दिन्छ किनभने वासनात्मक प्रेमीहरु सौन्दर्य हेरेर मात्र प्रेम गर्छन्। सच्चा प्रेम त्यही हुन्छ जसले कसैसित अन्जानमै प्रेम गरेको हुन्छ र पछिसम्म पनि उसले जीवन पर्यन्तसम्म एक अर्कालाई प्रेम गरिरहन्छ। मैले तिमीलाई अन्जानमा प्रेम गर्न पुगेछु।
पहाडझैँ पसारिएको लामो जीवन तिमीविना काट्नु बडो अप्ठ्यारो काम हो। मायालुको प्रेम नै त्यस्तो प्रेम हो जसले नयाँ उमंगका तरुणीहरुलाई आमा बुबाको भन्दा लाख गुणा बढी काममा जागर, मननशील अनि समयमा गतिशील बनाउँदछ। त्यस्तो मायाकै तरङ्गमा कचपल्टिदो निद्रामा कोल्टो फेर्दै, अन्तरकुन्तरको भावहरु पोखेकी छु।
तिम्रो अनुपस्थितिमा म बेकार भएकी छु। तिम्रो उपस्थितिले म पूर्ण रूपले काम लाग्ने बन्ने छु। तिमी आत्मीय भई मेरो पवित्र हृदयमा अङ्कित छौ तर पनि किन किन तिम्रै प्रतीक्षा छ? तिमीले नै मेरो आँखाको भाषा र मनको भाका पढ्न, सुन्न, देख्न र बुझ्न सक्छौ। प्रेमलाई बाँधेर वा लुकाएर राख्न सकिन्न। प्रेमलाई त स्वतन्त्र हुन दिनुपर्छ। जसरी नदीलाई थुनियो भने एउटा पोखरी बन्छ। त्यसैगरी प्रेमलाई बन्धनमा बाँध्यो भने फोहोर पानी जमेको पोखरी जस्तै हुन्छ। त्यसैले सलहेश हामीले प्रेमलाई मुक्त गर्न सक्नु पर्छ। प्रेम जति मुक्त हुन्छ उति नै विस्तार हुन्छ।
तिमीविना अधुरी
चन्द्रा
चौधरीद्वारा लिखित ‘जयवर्धन सलेहश’बाट साभार। उनको यो कृति आज विमोचन हुँदैछ।
Facebook Comment