गच्छदारलाई प्रधानमन्त्री बनाउने प्रतिबद्धतासहित नयाँ शक्तिका नेताहरु फोरम लोकतान्त्रिकमा प्रवेश

स्थापनाको एक वर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ । स्थापना कालदेखि नै नयाँ शक्तिमा महत्वपूर्ण जिम्मेवारी समालेका ३५ जनाभन्दा बढीले सो पार्टी छाडेका छन् । नयाँ शक्ति छाडेका केही नेता निष्कृय छन् भने केही अन्य दलमा प्रवेश गरेका छन् ।

सहसंयोजक महेश कर्माेचसहित ३० जना केन्द्रीय नेताले आइतबार एकैपटक नयाँ शक्ति छाडेका छन् । नयाँ शक्तिका कर्मोचासहित ३० केन्द्रीय सदस्य विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा पसेका छन् । गत असारमा कर्मोचालाई बाबुरामले आफूपछिको दोस्रो पद सहसंयोजक बनाएका थिए ।

नयाँ शक्ति छाडेर फोरम लोकतान्त्रिक प्रवेश गर्नेमा कर्मोचा, देव लिम्बू, सोनामा छिरिङ शेर्पा, सीता श्रेष्ठ, रामेश्वर ढकाल, केदार शाक्य, लालबहादुर अर्याललगायत छन् । राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारले नवप्रवेशी ती नेतालाई स्वागत गरे ।

नवप्रवेशी नेताहरुले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई प्रधानमन्त्री बनाएरै छाड्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै सचिवालय सदस्य छिरिङ शेर्पाले अध्यक्ष गच्छदार दूरदर्शी नेता भएकाले देशलाई निकास दिन उनी मात्र योग्य नेता रहेको ठोकुवा गरे।

कर्मोचाले नयाँ शक्तिमा भन्दा फोरम लोकतान्त्रिकमा काम गर्न सजिलो हुने ठानेर आफू प्रवेश गरेको बताए। ‘यतिखेर म बाबुरामजीप्रति कुनै टिप्पणी गर्न चाहन्नँ । नयाँ शक्तिमा रहेरभन्दा पनि लोकतान्त्रिक फोरममा बसेर काम गर्न सजिलो ठानेकाले प्रवेश गरेको हुँ’, फोरम लोकतान्त्रिक प्रवेशपछि उनले भने ।

स्रोत अनुसार गच्छदारले पार्टी नामबाट ‘मधेसी’ शब्द हटाउने भनेपछि कर्मोचालगायत नेता सो पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा कर्मोचाले आफू नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेको बताएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *