थारु साहित्यमाथि बहस अत्यावश्यक भइसकेको छ : सर्वहारी

चैत १९ र २० गते धनगढीमा थारू साहित्यिक मेला हुँदैछ। थारू साहित्यकार कृष्णराज सर्वहारी मेलाका मूल संयोजक हुन्। उनीसँग गरिएको संवादः

थारू साहित्यिक मेला आयोजना गर्नुको उद्देश्य के हो?
विगत केही वर्षयता नेपाली भाषा साहित्यलाई प्रवर्द्धन गर्न पोखरा, झापा, काभ्रेलगायत ठाउँमा साहित्यिक मेला आयोजना भइरहेका छन्। त्यसैको सिको हो यो मेला। देशको चौथो ठूलो भाषा थारूबारे कुनै एक सेसनमा पनि ती मेलामा स्थान पाएनन्। शिवानीसिंह थारू, जसलाई थारू भाषा बोल्नै आउँदैन, तिनबाट थारू साहित्यकारको प्रतिनिधिझैँ बोलाइन्छ। त्यसैले थारू साहित्य लेखनको अवस्थाको सार्थक बहसका लागि थारू साहित्यिक मेलाको आयोजना गएको वर्ष दाङबाट थालनी भयो। यसपालि दोस्रो शृंखला धनगढीमा गर्दैछौँ।
थारूहरूको बसोबास पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म छ। त्यसैले थारू मानक भाषाबारे सहभागीबीच मतऐक्यता बनाउन र खास गरी थारू साहित्यिक प्रकाशनको बजारीकरण गर्न मद्दत पुर्याबउने उद्देश्यले पनि मेला आयाजना गरिएको हो। यो सकेसम्म प्रत्येक वर्ष गर्ने योजना छ।

गएको वर्ष थारू साहित्यिक मेला के विषयमा केन्द्रित थियो।
गत वर्ष थारू साहित्यिक मेलामा थारू कविता, आख्यानदेखि दाङ र कैलालीको थारू साहित्यको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिएको थियो। त्यस्तै, लावा डग्गर थारू साहित्यिक पत्रिकाको यात्रा र जंग्रार साहित्यिक बखेरीको साहित्यिक अभियान, थारू भाषामा मानकताको प्रश्न गरी छ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए।

यस वर्षको छलफल के विषयमा केन्द्रित छ?
यसपालि हामीले कार्यपत्र प्रस्तुतिको फर्म्याट हटाएर अन्तरसंवाद कार्यक्रमलाई जोड दिएका छौँ । बोझिलो कार्यपत्रभन्दा अन्तरसंवाद कार्यक्रमले सहभागीलाई बढी जाँगरिलो बनाउने हाम्रो ठहर छ। १० वर्षे जनयुद्धमा सबैभन्दा बढी थारू समुदायका व्यक्ति मारिए। तर, युद्ध साहित्यले थारू साहित्यमा प्रवेश पाएकै छैन। समयको वेगलाई पक्रिन नसक्ने हो भने त्यो साहित्य मक्किन्छ, कोरा कल्पनामा बग्छ। त्यसैले किन जन्मिएन त युद्ध साहित्य थारू भाषामा? यसबारे जनयुद्धमा होमिएका नेताहरूलाई नै अन्तरसंवादमा उभ्याउँदैछौँ।
साहित्यिक मेलामा कविता वाचन र वाचित कविताउपर समीक्षाले पनि विशेष स्थान पाउँदैछ। गजल लेखनमा बाढी आएको छ, थारू साहित्यमा। दशकअघि गजलसंग्रह प्रकाशन गरेका रामलाल जोशीले दशकपछि कसरी आख्यानमा पाइला टेकेर मदन पुरस्कार यात्रा तय गरे? यी कुरा उनको मुखबाट सुन्न पनि गजलमा मात्रै सीमित थारू साहित्यकारहरू जरुर व्यग्र प्रतीक्षामा छन् भन्ने मलाई लाग्छ।

थारूहरूको बसोबास छरिएको छ। मानकता कसरी ल्याउन सकिन्छ?
धेरै साहित्य लेखिएको डंगौरा थारू भाषामा हो। नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले डंगौरा थारू भाषाको मानकताको प्रश्नबारे २०७३ साउनमा घोराहीमा गोष्ठी गराइसकेको छ। सोही गोष्ठीमा सहजकर्ता रहेका भाषाविद् पदम राईले थारू भाषाको मानकताबारे दिएको सुझावअनुसार केही पत्रिकामा शैली अपनाउँदा एक प्रकारको तरंग पैदा भएको छ। पदमले यसपालि गोष्ठी प्रस्तुतिको सार राख्दैछन् साहित्यिक मेलामा। उनले दिएका सुझाव मान्नैपर्छ भन्ने छैन, तर लेखनमा मानकता ल्याउन मेलाले बाटो खोल्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *