१६ वर्षे तनमय चौधरीको अविष्कार : विद्युतीय साइकलदेखि इजी कार्टसम्म

लखन चौधरी/धनगढी।
धनगढी उपमहानगरपालिका–५ तारानगरका १६ वर्षीय तनमय चौधरीको एकपाछि अर्को वैज्ञानिक अविष्कारको कदम क्रमिकरुपमा थपिँदै गएको छ। धनगढीस्थित एक्सिस विद्याश्राममा कक्षा १० मा अध्ययनरत चौधरीको नयाँ नयाँ र अटो इन्जिनीयरिङ क्षेत्रमै नयाँ आयाम थप्न सकिने अविष्कारका यन्त्रहरु थपिदै गएका हुन्।

स्कुले जीवनमै ब्याट्रीबाट चल्ने साइकल बनाएर आफ्नो वैज्ञानिक अविष्कारको यात्रा सुरु गरेको उनले दोस्रो चरणमा ड्रोन हेलिकोप्टर र रोबोट बनाएका थिए। हालः नौं महिनाको अथक प्रयासपछि ‘इजी कार्ट’ नामाकरण गरिएको तीन पाँग्रे मोटर गाडी सार्वजनिक गरेका छन्।
उनले भने, ‘व्याट्रीबाट चल्ने साइकल र ड्रोन हेलिकोप्टर बनाए तर सोचे जस्तो सफलता पाइएन, तथापि इजी कार्ट मेरो लागि एकदमै सफल यन्त्र हो।’

पेट्रोल इन्जिन जडान गरिएको इजी कार्टमा सात जना वयस्क मानिसलाई बोक्नसक्ने क्षमता छ। प्रतिलिटर ५५-६० किलो मिटर गुड्नसक्ने गति क्षमता रहेको उनले जानकरी दिए। जुन इजी कार्टलाई मोडिफाई (नयाँ रुप) गरेर दैनिक जीवनमा प्रयोग हुने विभिन्न यन्त्र उपकरणका साथै सुरक्षा निकायको लागि प्रयोग हुने बलियो र सुरक्षित यन्त्र बनाउँन सकिने अविष्कारक चौधरीको भनाई छ।

हालै तनमय चौधरीले काठमाडौंस्थित पुल्चोक इन्जीनियरिङ कलेजमा आफ्नो इजी कार्टको प्रदर्शन पनि गरिसकेका छन्। जहाँ आफूले सोचेभन्दा राम्रो प्रतिक्रियाका साथै हौसला मिलेको उनले बताए।

विद्यालयका विज्ञान शिक्षक जयप्रकाश भट्टले तनमय चौधरीले उनीद्वरा बनाइएको इजी कार्टलाई नयाँ प्रारुपमा बनाउन र मान्यता दिलाउन प्रक्रिया सुरु गरेको सुनाए। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले उनको अविष्कारबारे प्रस्तावना पत्र लिएर गएको तर रिपोर्ट भने नआएको शिक्षक भट्टले बताए।

उनका अनुसार कुनै पनि यन्त्र उपकरण अविष्कार गर्न नास्टले अटो मेकानिकल इन्जिनियरलाई मान्यता दिएको छ। हालः उनी स्कुले विद्यार्थी रहेका कारण उनको अविष्कारलाई मान्यता दिने नदिनेबारे प्रस्ताव पेस भएको छ। बुबा देवकुमार चौधरी र आमा रविना चौधरीको उनी दोस्रो सन्तान हुन्। बाल्यकालबाटै वैज्ञानिक अविष्कारप्रतिको लगाव र अभिरुची तथा रचनात्मक खुबीका कारण उनी एकपाछि अर्को सफलताको खुट्किलो पार गर्दै गएका छन्।

उनको बाल्य अवस्थाबारे काका विजय चौधरीले भने, ‘उसको एकदमै रचनात्मक सोचाई रहँदै आएको छ, हामीले नयाँ यन्त्र उपकरण उसलाई दिएमा उसले उक्त उपकरणलाई बिगारेर आफ्नै स्टाइलले बनाएर प्रयोग गर्छ, जुन कारणले पनि सफल हुँदै गएजस्तो  लाग्छ।’

स्कुले जीवनकालबाटै एउटा सफल अटो मेकानिकल इन्जिनियर बन्ने लक्ष्य बनाइसकेको उनको हरेक कदममा उनको काका विजय चौधरी पनि हात छ। ‘मेरो रुचीप्रति मेरो परिवारको सबैको सहयोग र समर्थन छ, जुन कारण मलाई थप हौसला मिलेको छ,’ तनमय चौधरीले भने, ‘तथापि यहाँसम्म पुर्याउन मेरो काकाले धेरै गुण लगाउनुभएको छ।’

उनको वैज्ञानिक अविष्कारको यात्रामा कुनै कमी हुन नदिने परिवारिक प्रतिबद्धता छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *