थारु साहित्यिक मेला कैलालीको पटेलामा हुने

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते थारु लेखक संघको आयोजनामा भएको थारु साहित्यिक मेला तयारी बैठकले उक्त निर्णय गरेको हो।

थारू लोक साहित्य तथा आधुनिक साहित्यको अवस्था विकास गर्नका लागि अबलम्बन गर्नुपर्ने उपाय पहिचान गर्ने, थारू मानक भाषाबारे सहभागीबीच मतएक्यता बनाउन सहयोग पुर्याबउने, थारू भाषा र साहित्य सम्बन्धमा अन्तरक्रिया गर्ने र थारू साहित्यिक प्रकाशनको बजारीकरण गर्न मद्धत पुर्याेउने उद्देश्यले मेलाको आयोजना गर्न लागेको बताइएको छ।

साहित्यिक मेलामा नवलपरासीदेखि पश्चिम कञ्चनपुरसम्मका भाषा समूह मिल्ने २ सय साहित्यकारलाई सहभागी गराउने लक्ष्य राखिएको छ। थारु लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारीको अध्यक्षतामा भएको तयारी बैठकमा दाङ, बर्दिया, कैलालीका साहित्यकारहरुको सहभागिता थियो।

यसअघि धनगढी थारु छात्रवासमा चैतको अन्तिम साता कार्यक्रम तय गरिएको थियो। पटेला गाउँबासीले सौहार्दता देखाइ भोजन र आवासको सुविधा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेकाले कार्यक्रम सोही गाउँमा गरिने निर्णय थारु लेखक संघका सदस्य तथा थारु नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले बताए।

पहिलो थारु साहित्यिक मेला दाङको घोराहीमा गत २०७३ वैशाख ३ र ४ गते भएको थियो। अब थारु साहित्यिक मेला हरेक वर्ष गर्दै जाने लक्ष्य राखिएको जानकारी संघका अध्यक्ष सर्वहारीले दिए।

सो अवसरमा भोजराज थारु अनमोलको थारु कथा संग्रह उबर खाभर दिनको विमोचन पनि गरिएको थियो। साहित्यकारद्धय कृष्णराज सर्वहारी र छविलाल कोपिला तथा कथाकार स्वयंले संयुक्तरुपमा संग्रह विमोचन गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *