बाबु-छोरा दुबैले एकअर्काको लाज ढाकौ [विचार]

किशोर चौधरी।
पत्रकारिता सधैं हक्का हाक्कीको पेसा हो। लुकेर गरिने पेसा होइन। मेरो लेखलाई भ्रमपूर्ण भन्नु नै सीतारामजीको भ्रम हो। तपाईँले एकलौटि विचार राख्दा भ्रामक नहुने मैले कुरा राख्दा भ्रामक देखिने तपाईँमा सकरात्मक सोँचको अभाव देखिएको छ। आज माघी महोत्सवमा फुट किन भयो? वास्तविक यथार्थ के हो? रहस्योद्घाटन गर्दैछु। सिकाईको अन्त्य कहिल्यै हुँदैन र परिपक्व आफैँमा कोही पनि हुँदैन। मेरो लेखमा त्रुटि, कमिकमजोरी होला तर सत्य र यथार्थलाई देखाउन पछि पर्दिन।

वि.सं २०५९ सालबाट थारु कल्याणकारिणी सभा उपत्यका समितिले एउटा बन्द कोठाबाट राजधानीमा माघी महोत्सवको सुरुवात गरेको थियो। निकै दुःख र कष्टबाट सुरु भएको माघी महोत्सव त्यसबेला थारु कल्याणकारिणी सभा उपत्यका समितिका सदस्यहरुले आफ्नै बलबुतामा सुरुवात गरेको थियो। सरकारले केही वर्ष अगाडिबाट माघीका लागि रकम छुट्याउँदै आएको छ। एउटा बन्द कोठाबाट पर्यटन बोर्ड, सभागृह टुडिखेल हुँदै दशरथ रंगशालासम्म पुगेको छ माघी महोत्सव। २०७२ सालको कुरा हो माघीसँगै थारु समुदायमा पनि दुई चिरा देखियो।

७१ सालको माघी धुमधामका साथ मनाए पनि आर्थिक चलखेलको गाईगुई चलिरहेको थियो। हरेक वर्ष माघी महोत्सवको आयोजना गर्दा जिम्मेबारी बाँडफाड पनि गरिन्थ्यो। आर्थिक, स्वंमसेवक, मञ्च व्यवस्थापन, सांस्कृतिक आदि समिति बनाएर माघी महोत्वको आयोजना गरिन्थ्यो। जसमा सबैलाई जिम्मेवारी पनि दिइन्थ्यो। त्यसबापत आवश्यक रकम पनि छुट्याइन्थ्यो यसरी भागबन्डाबाटै माघी महोत्वस २०७१ सालसम्म आएको हो। यसलाई सबैले सकारात्मकरुपमा लिँदै पनि आएको थियो। तर जब ती २०७१ सालको माघीमा आर्थिक दुरुपयोग भएको थारुवान डटकमले रहस्योद्घान गर्यो त्यसपछि केही युवाहरु आफूलाई चोख्याउदै थाकस उपत्यका समितिको नेतृत्वमा ठाडो हस्तक्षेप गरे। थारुवान डटकमले आर्थिक पाटोलाई केलाएपछि थारु विद्यार्थी समाजलगायत केही संघसंस्थाले थाकसको कठालो समात्ने हर्कत गरे।

वि.सं. २०७२ सालको माघी नजिकिँदै गर्दा माघी मूल आयोजक समिति थाकस उपत्यकाले हरेक वर्षजसो माघी मनाउनेबारे छलफल अभियान सुरु गरेको थियो। प्रत्येक शनिबार चल्ने माघी छलफलमा विगतका वर्षमाभन्दा पनि माघी कसरी मनाउने र यसलाई कसरी पार्दर्शिता बनाउनेतिर उन्मुख देखिन्थ्यो। ती छलफलहरुमा म पनि प्रत्यक्ष सहभागी जनाएको छु। नेतृत्व गर्ने थाकस उपत्यका समितिलाई आर्थिक पार्दर्शिताबारे सचेत गराएको छु। अधिकांशले आर्थिक पार्दर्शिताको कुरा उठाएको मलाई याद छ। तर थारु विद्यार्थी समाज र केही संघसंस्थाका युवा साथीहरुमा सुधार्नुभन्दा पनि कसरी हुन्छ थाकस उपत्यका समितिलाई हस्तक्षेप बढाउन अग्रसर हुनुभयो।

यी कुराले युवाहरुलाई रिस उठला। तर यथार्थ यही हो। आर्थिक पार्दर्शिता भएन भनेर थारु विद्यार्थी समाज र अन्य युवाहरु जुरमुराउनु कुनै किसिमले मैले गलत देखिन। मैले यसलाई राम्रो पक्ष मानेको छु। तर ठाडो हस्तक्षेपलाई कुनै पनि हालतमा जाजय मान्न सक्दिन।

विवाद बढ्दै गएपछि थाकस उपत्यका समितिले माघी महोत्सवको नेतृत्वबाहेक सबै उपसमितिहरु बाँडफाँड गर्न तयार भए। ती विरोध गर्नेहरुलाई रिझाउन थारु विद्यार्थी समाज र केही व्यक्तिगत स्वार्थ बोकेका युवाहरुलाई मन पसन्द आर्थिक समिति, साँस्कृतिक समिति, स्टेज व्यवस्थापन लगायतको समिति दिन तयार भए र दिए पनि। विद्यार्थीका तात्कालीन महासचिव हालको अध्यक्ष चन्द्रप्रसाद चौधरीको नेतृत्वमा स्टेज व्यवस्थापनको जिम्मा पनि दिएकै थियो। तर समिति गठन भएको २ हप्तासम्म ती समितिको उपलब्धी शून्य थियो। जबकी माघी महोत्सव आउन एक हप्ता पनि बाँकी थिएन। यसरी मनपसन्द समिति पनि चाहिने तर काम गर्न नसक्ने भएकै थियो। समिति गठन भएको २ हप्तासम्म चन्द्रजीले पाएको समितिको उपलब्धि शून्य थियो। थाकस उपत्यका समितिले माघी नजिँकिदै जाँदा जिम्मेवारी दिएको समितिहरुको उपलब्धि खोज्नु कुनै नौलो कुरा थिएन। उसले खोज्यो पनि। तर जिम्मेवारी पाएकाहरु केही गर्न सकिएन भनेर पन्छिएको थियो जो आफैँमा लज्जाबोध थियो। म विस्तृत विवरणतिर गइन् संक्षिप्तमा यसरी फुटको सिर्जना भएको थियो।

मलाई सीतारामजीले चुनौति दिनुभएको थियो कि माघी १३ लाखबाट ७ लाखमा झर्नुको कारण युवाले उठाएको आवाज नै भनेर। मलाई जानकारी छ सीतारामजी ११ लाख ४९ हजार २०७१ सालको माघी महोत्सवमा खर्च भएको र अडिट रिपोर्टमा पनि यही छ। हचुवाको भरमा झुठको खेती गर्नुभन्दा तपाई नै अडिट रिपोर्ट हेर्नस् अनि प्रष्ट्याउनुहोस। मेरो तपाईलाई अनुरोध छ।

साँस्कृतिक पर्व माघी महोत्सवमा तपाईँले ठुलै भ्रष्टचार देख्नुभयो। भ्रष्टाचारै भएको हो भने तपाईँहरु भएकै बेला भ्रष्टाचार भएको कुरा किन विर्सिनु हुन्छ? २०७१ सालमा तपाईँले स्वयंले स्वयंसेवकको जिम्मा लिँदा कति रकममा लिनुभएको थियो थाहा छ? छैन भने म सम्झाउछु ४५ हजार, तर २०७२ को माघीमा युवा सभाले १० हजारमा स्वयंसेवको काम गरेको थियो। साँस्कृतिक कार्यक्रमको जिम्मा पाएका मिनराजले ८५ हजार लिनुभएको थियो तर त्यही काम रामस्वागतले ४८ हजारमा गरेको थियो। तपाईँहरु हुँदा यसरी नै सबै समितिले बढी पैसा लिएर काम गरिएको देखियो त्यही भएर तपाईलाई भ्रष्टाचार लाग्यो। तर त्यो माघीमा तपाईँको पनि प्रत्यक्ष संलग्नता थियो। हो यस्तै यस्तै कटौतिपश्चात २०७२ सालको माघी ७ लाख ७५ हजारमा झरेको हो।

तपाईँले भनेजस्तै तपाईँप्रति मेरो पनि कुनै रिसराग, पूर्वाग्रह छैन्। तपाईँले मेरो लेखमा पूर्वाग्रही, बनावटी देखेपछि मैले प्रष्टाउने चेष्टामात्रै गरेको हुँ। म पनि भ्रष्टारको पक्षमा छैन र भ्रष्टाचार सधैँका लागि निर्मुल हुनुपर्छ भन्ने पक्षमै छु।

घरभित्रको झगडा घरभित्रै मिलाउनुपर्छ नकी बाहिर बसेर एकले अर्कालाई अरोप प्रत्यारोप गरेर। बाउले छोरालाई एक दुई झापड हान्दैमा दुईचार शव्द भन्दैमा घरै छोडेर जानु छोराको मुर्खता हो। बाउसँग अंश पाउन वा लड्न घरै छोडेर जानु जायज होइन घरभित्रबाट पनि लड्न सकिन्छ। बाउको लाज ढाक्नु छोराको कर्तव्य हो। छोराको लाज ढाक्नु बाउको कर्तव्य। यसर्थ मिलिजुली अगाडि बढौं मेरो अनुरोध छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *