हुलाकी चौधरी दाईको कथा

सन्तोष दहित/दाङ।
त्रिपुर नागरपालिका–१, लमडुरुवाका बुझौना चौधरीलाई गाउँदेखि शहरसम्म सबैले ‘हुलाकी चौधरी दाई’ भनेर चिन्ने गर्छन्। २०४५ सालमा हुलाक प्रवेश गरेका चौधरी निरन्तर २८ वर्षसम्म हुलाकमा आबद्ध छन्। उनी हुलाकमा जागिर सुरुवात गरेदेखि विभिन्न ठाउँबाट हुलाकमा आएका चिठ्ठी पत्रको आफन्तहरु खोजी गर्दै गाउँ पुग्छन्। उनलाई घोराही नगरपालिका र हाल त्रिपुर नगरपालिकाका प्रायः गाउँकाले चिन्ने गर्छन्। त्यसैले होला उनी बुझौना चौधरीभन्दा पनि ‘हुलाकी चौधरी दाई’ को रुपमा चिनिन्छन्।

‘पहिलाको जमनामा न फोन थियो, न मोबाइल,’ उनी भन्छन्, ‘आफन्तहरुको खबर पठाउने, ल्याउने एकमात्र थियो, त्यतिबेलाको सञ्चार हुलाक।’ ‘अहिले त धेरै सुविधा भैसकेको छ, घर घरमा ल्याण्डलाइन फोन, हात हातम मोबाइल, इन्टरनेट, डिजिटल पत्रपत्रिका छन्,’ चौधरीले भने, ‘केही खबर पठाउनुपर्योा या ल्याउनुपर्योइ भने फोन गरे भइहाल्यो, देशमा के भैराछ भनेर इन्टरनेटबाट सूचना हेरे सबै कुरा थाहा भैहाल्छ।’

‘पहिला हुलाकमा किन जाँगिर खा हुम्ला भन्ने लाग्थ्यो तर अहिले अरु जागिरभन्दा धेरै सजिलो हुलाक जागिर छ, चिठ्ठी पत्रहरु पनि धेरै हुँदैनन्, भए अफिसियलमात्र हुन्छन्, पहिलाजस्तो घर घरमा जानु पर्दैन्,’ उनले भने।

५० वर्षीया चौधरी हुलाकी जागिरेमा मात्र परिचित छैनन्, उनी वैद्यको रुपमा पनि उत्तिकै चिरपरिचत छन्। करिब साढे तीन दशकदेखि वैद्यको काम गर्दै आएका चौधरीलाई ‘चौधरी वैद्य दाई’ को रुपमा पनि उतिकै चिन्ने गर्छन्। १५ वर्षको उमेरदेखि आफूले वैद्य काम गर्दै आइरहेको चौधरीले बताए। ‘सानोमा मेरो बुबा, बाजेले पनि वैद्यको काम गर्नुहुन्थ्यो, उहाँहरुको पछि पछि म पनि जान्थे र संगसंगै सहयोग पनि गर्थे,’ उनले भने, ‘गर्दै जाँदा अहिले वैद्य पनि भइयो।’

‘हाँत, खुट्टा, ढाँड मर्केकोलाई मालिस गरेर ठीक पार्छु, भाँच्चिको, हड्डी फुटेका बिरामीलाई मालिससँगैं बेन्या उज गरेर जडिबुटीको ‍औषधिले ठीक पार्दै आइरहेका चौधरी बताउँछन्। ‘अहिलेसम्म निकै जटिल बिरामीहरुको संख्या हेर्ने हो भने करिब ३ हजारभन्दा बिरामीलाई ठीक पारिसकेको छु,’ चौधरीले भने, ‘सान तीना त कति हुन रेर्कड नै छैन।’

साँझ बिहान वैद्यको काम गर्छन् भने, दिउँसोको समयमा जिल्लाको सदरमुकाम घोराहीमा रहेको जिल्ला हुलाक कार्यालमा। तर, उनलाई खोज्न बिरामीहरु हुलाकको कार्यालयमा आउने गर्छन्। ‘अफिसको काम एकछिन थाँति रोखेर भए पनि बिरामीलाई सेवा गर्छु,’ चौधरीले भने, ‘तर, अहिलेसम्म यो सेवा गरेबापत यति पैसा दिनुस्, उति दिुनस् भनेर कहिल्यै भनेको छैन। स्वइच्छा जति दिनुहुन्छ, त्यति लिन्छु, कसैले धन्यवाद दिनुहुन्छ त्यसैमा पनि खुसी हुन्छु।’

‘मेरो काम भनेको सेवा गर्ने हो, मैले जानेको काम ब्यवहारमा लागू गरेको छु,’ उनले भने, ‘ फेरि मेरो यो मुख्य पेसा पनि हैन, मैले जानेको कामले कसैको जीवन बन्छ भने किन सेवा नगर्ने भनेर अहिलसम्म यो काम गरिरहेको छु।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *