थारुको इतिहास बङ्ग्याउने इतिहासकारहरु

रेशम चौधरी।

के सबै इतिहासकारहरुले साँच्चिकै सत्यतथ्य लेखेकै हुन? धेरैले इतिहासकारलाई सत्य र साँचो लेखेको भनेर स्वीकार्छन् तर तेसो होइन, अनुसन्धान नगरी लेख्ने धेरै इतिहासकारले हाम्रो इतिहासलाई बङ्ग्याइदिएका छन्। हो, त्यही घानमा परेका छौं हामी उत्पीडित वर्ग। पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियानको थालनी गरेकै हुन् तर उनले सबै भूभाग युद्ध लडेर जितेका होइनन्। धेरै राज्य उनले सम्झाइबुझाइ सहमतिमा गोर्खा राज्यमा गाभेका हुन्। सहमतिमै आफ्नो राज्य बुझाउनेमा पूर्वी किरात, मगर, घले, थारूहरु पनि हुन्।

नेपाल एकीकरणका लागि आदिवासी पुर्खाको कम्ती बलिदानी छैन। नेपालको इतिहासमा पहिचानको बलियो कसि नै आदिवासीहरु हुन्। राजा महेन्द्रको १४ अञ्चल ७५ जिल्लाको वर्गीकरण सबैले स्विकारेकै हुन्। नयाँ गाउँ, टोलको उत्पतिसँगै नयाँ नामाकरण हुन्छ नै। शासन ब्यवस्था परिवर्तनसँगै नयाँ भौगोलिकीकरण हुनु पनि परिवर्तन हो। तपाईँहरु नयाँ परिवर्तनको कुरो पनि जोड्तोड्ले उठाउनु हुन्छ। फेरि सामन्तिय शासन पद्धति पनि ठीक भन्नुहुन्छ। यहीँनेर ठूलो चुकाइ होजस्तो लाग्छ। २०४६ सालमा महेन्द्रसँगै धेरै राजाको शालिक तोडफोड भयो। त्यो शालिक तोडफोड कसले गर्‍यो? परिवर्तनको प्रजातन्त्र चाहनेले होइन? त्यो बेला आन्दोलनको नेतृत्व कसले गरेको थियो? अहिलेका शासन सत्ताका मालिकहरुले होइन? २०६३ सालमा भएको गणतान्त्रिक आन्दोलनमा पृथ्वीनारायणको शालिक तोडफोड गर्ने को हुन्? परिवर्तनकारी आन्दोलनकर्मीहरु होइन?

मुलुकलाई परिवर्तनको सपना देखाउनेहरु अहिले ऐतिहासिक सामन्ति शासन ठीक छ भन्दैछन। जनताले चाहेको भौगोलिक परिवर्तनमा तिनको असहमति छ। आफ्ना कालोपाट्टिमा कखरा पढेको इतिहास अहिले कम्प्युटरमा अक्षर पढ्नेसँग तुलना नगर्नुस्। गर्नु, गराउन खोज्नुभएको छ भने त्यो महाभुल हुनेछ। पहिचान देशको सम्पत्ति हो। आज अमेरिकामा तिज, भैलो, दशैं मान्दा देशको पहिचान हुने, अनि परिचयसहितको पहिचान माग्नेहरु देशद्रोही हुनुपर्ने? हिजो जातीय राज्यको सपना बस्ती बस्तीमा बाड्नेहरु को हुन्? आजमात्रै अनलाइनमा एउटा समाचार पढियो। एमालेका बामदेव गौतमले- ‘दशैं बाहुनहरुको पर्व होइन, जनजातिको पर्व हो। तर अहिले जनजातिहरु हाम्रो पर्व होइन भन्छन्’ भन्नुभएको छ। त्यतिमात्रै होइन दशैं सम्पूर्ण नेपालीको पहिचानको पर्व पनि भन्नुभएको छ।

मलाई अन्यथा नसोच्नुहोला- दशैंलाई नेपाली पहिचानको पर्व ठान्ने तपाईँको अहिलेको कम्युनिस्ट भनाइ त्यो बेला कहाँ थियो? जुनबेला कम्युनिस्ट नाटक हाम्रा बस्ती बस्तीमा देखाइन्थे। हजारौं, लाखौं आँखाहरु जिउँदै साक्षी छन्। आफ्नै आँखाले त्यो नाटक हेरियो जहाँ सम्बाद थियो- ‘दशैंको रातो टीका गरिबहरुको रगतले बनेको टीका हो। दशैं शोषकहरुको खुसी हो। दशैं सामन्तिहरुको लागि हुनसक्छ। गरिब निमुखाका लागि होइन।’ आज दशैं राष्ट्रिय पर्व हो भनेर तपाईँकै मुखबाट सुन्नुपर्ने? तपाईँले बुद्ध क्षेत्री हुन् पनि भन्नुभाछ, त्यसोभए हामीले पढ्ने इतिहासमा शाक्य बंश को हुन् त? हामीलाई बुझाइदिनुहोला।

हामी आदिवासीलाई चित्त त्यहाँनेर दुख्यो, जब यो देशका विद्वान, बुद्धिजीवीहरु पहिचानको वकालत हुँदा आँखा चिम्लिदिए। हाम्रा पहिचानका अक्षर लेखेर नथाक्ने, अनि पहिचानको कुरो उठेपछि कलमको बिर्को बन्द गर्ने विद्वानसँग पनि हाम्रो चित्त दुखाइ छ। कुन पार्टीको कागजको खोस्टोमा लेखिएन?- जातीय पहिचानका कुरा? आफैँ लेख्ने, आफैँ बोल्ने अनि हामिलाई चुतिया बनाउने? हो! बरु हामी भन्छौं- ‘हामिलाई जातीय पहिचान होइन, पहिचानको भूगोल देऊ’। हामीले मान्ने धर्म सदा अटल छ, जुन मान्दै आयो, त्यही मान्दैछौ र मान्छौ पनि। रातो टीका लगाएर नमनाइए पनि पहिचानको सेतो टीकाले जसोतसो दशैं पनि मनाइयो। हामीले संस्कृतिमाथि कहिल्यै धावा बोलेनौ? हामी सबै जनतालाई जवाफ दिनुस्- हिजो मन्दिरको मुर्तिमा पिसाब फेर्ने, मन्दिर भत्काउने कुन इतिहासका कम्युनिस्टहरु हुन्? देशको पुरानो शासनपद्धति परिवर्तन गर्नुपर्छ भन्ने चित्रबहादुर?- अहिले अखण्डताको डम्फु बजाउँदैछन्। हो! देश अखण्ड हुनुपर्छ तर के बिस्तारित बस्तिका नयाँ बन्ने गाउँहरु अखण्ड बन्न सक्छन्?

हामी बिखण्डनमा पहिचान खोज्दैनौं, आफ्नै देशमा परिचय खोज्दैछौं। ६०१ संसदका प्रतिनिधि हुन्, जनताका आवाज होइनन्। हामीले सबै स्विकार्दै आएका छौं। के स्वीकारेनौं हामीले? एकीकरणमा चुपचाप राज्य दियौं, अढाई सय वर्ष सरकार! भनेर स्वस्ती गरियो, प्रजातान्त्रिक आन्दोलनमा सबैभन्दा बढी सहिद भयौं, गणतन्त्रमा कहिले एमालेले जुलुसमा झाँकी प्रदर्शन गर्छौ, कहिले कांग्रेसको जुलुसमा नाच्छौं, कहिले माओवादीसँग पहिचानको परिचय माग्छौं? कहिलेसम्म यो बिश्वास तपाईँहरु समक्ष अटल रहला? कहिले हामी पहिचानको पगरी गुठौला? मिलाउनुस्, अझै यो देश मिलाउने जिम्मा तपाईँहरुकै काँधमा छ, न्याय नदिने न्यायलयको कुनै औचित्य रहन्न। बाँकी तपाईँहरूकै सो इच्छा!




Leave a Reply

Your email address will not be published. Required fields are marked *