थारु विद्यार्थी समाज बचाउने कि मर्न दिने ?

गिता दृष्टि।
थारु समुदायको विश्वाशिलो संगठन र थारु विद्यर्थीहरुको आस्था र भरोसाको धरोहरको रुपमा थारु विद्यार्थी समाज रहेको छ । दुई दशकको गौरवशाली इतिहास बोकेको यो संगठन २०५२ साल भाद्र १७ गते विधिवतरुपमा स्थापना भई आज यो आलेख लेखी राख्दा २१औं बसन्त पूरा गरी १०औं दिनमा हिँडिरहेको छ। २१ वर्षमा एउटा मानिस बयस्क हुन्छ, आत्मनिर्णय लिने अधिकार नेपालको संविधानले दिएको छ। एउटा विरुवा धेरै मान्छेको बिसौनी बनेर छहारी दिन सक्षम हुन्छ। एउटा संस्था हजारौ मान्छेहरुलाई एकबद्ध बनाएर जोड्ने काम गर्छ। त्यही काम थारु विद्यार्थी समाजले देशैभरिका थारुहरु र थारु विद्यार्थीलाई जोड्ने सेतुको काम गर्यो. र त आज पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको थारु विद्यार्थीको सहकार्यलाई सजिलो बनाएको छ। यति लामो इतिहास बोकेको समाज आज कहाँ कस्तो स्थितिमा छ, एकपटक मूल्यांकन गर्नुपर्ने बेला आएको छ।

भनिन्छ, कलम यस्तो हतियार हो जस्ले ठूलो युद्धलाई जितिदिन्छ। आज उही कलमरुपी हतियारले शब्दवाण छोड्दै छु। यो आलेख पढिराख्दा धेरैलाई शब्दवाणले छेड्ला कतिलाई लाग्ला म जातिवादी भएछु। सात्यता तीतो हुन्छ तर कालान्तरमा फाइदाजनक पनि। सर्वप्रथम विशुद्ध सेवा भावले थारु विद्यार्थीहरुको वृद्धिविकास र हकहितका लागि यो संगठन स्थापनार्थ योगदान दिनुहुनेप्रति नमन गर्न चाहन्छु। उहाँहरुकै योगदानले मैले पनि थारु विद्यार्थी समाजको छातामुनी बसेर थारु समुदायको लागि सेवा गर्ने अवसर पाए यो मेरो लागि गौरवको कुरा हो। मजस्तै थुप्रै थारु युवाहरुको लागि गौरव गर्ने संस्था हो। तर समयको अन्तरालसँगै यो संस्थाले थुप्रै आरोह अवरोह भोग्दै आइरहेको छ। चितवनको छैठौं राष्ट्रिय महाधिवेसनबाट झन् जटिल आवस्थामा रहेको यो संस्था अहिले चितवनकै अधुरो कामलाई पुनरताजकीय गर्नेगरी काठमाडौंको कीर्तिपुर त्रिभुवन विश्व विद्यालयमा २०७३ साल असोज १ र २ गते गरिने अधिवेसनसम्म आइपुग्दा यो संगठनले धर्माइरहेको स्थितिमा रहेको छ। हामी सबैले अनुभव गरेको कुरा साँच्चिकै भन्नुपर्दा जीवन मरनको दोसाधको अवस्थामा रहेको छ थारु विद्याथी समाज। यदि यो काठमाडौं अधिवेसन सफल भएन भने सायद सधैंका लागि त्यो २१ वर्ष अगाडि स्थापना भएको थारु विद्यार्थी समाज हामीले गुमाउनुपर्ने हुन्छ । र, त्यसको घाटा अन्तत्वगत्वा सिंगो थारु समुदायले बेहोर्नेछ।

देशको राजनीति अहिले फरक धारमा छ। हामी सबै जानकार छौं थारुहरुले देश विकासमा गरेको धेरै योगदानहरुलाई र देशको सीमावर्ति क्षेत्रको लागि बलिदान दिएको कुरा देशको राजनीतिक परिवर्तनसँगै ती सबै कुरा नेपाली जनताले कति र कसरी मूल्यांकन र कदर गरेको छ भन्ने कुरा अहिले हामी राम्ररी भोग्दैछौं। नेपालको इतिहासमा अधिकारका लडाइँ धेरै भए माओवादीको १२ वर्षे युद्धलगायत २००७, २०४७ सालको आन्दोलन तर कसैलाई आतंककारीको बिल्ला भिडाइएन। तर अधिकार दिनु त कहाँ हो कहाँ मानव अधिकार विश्वव्यापी घोषणापधको पक्षराष्ट आफैँ रहेको देशले आफैँ मानव अधिकारको हनन् गर्दै, अधिकार प्रप्तीकै लागि गरिने आन्दोलन र न्यायको लडाइँ लड्न नदिनका लागि आज थारु समुदायलाई नेपाल सरकारले डर र धम्कीले चुप बनाएको छ। धेरै विद्यार्थीहरु स्कुल जाने क्रममा मारिए, बलात्कृत भए, थारुको घर छानी छानी प्रहरी प्रशासनकै मिलोमतोमा जलाइएको घटना र आतंककारीकाो बिल्ला अझै ताजै छन्। यी सम्पूर्ण अन्यायको विरोध गर्ने र न्याय दिलाउनका लागि वकालत गर्ने विद्यत वर्ग भनेको विद्यार्थी वर्ग हो। त्यस्तो मुद्दाको उठान गन सहयोर्ग र संगठित गर्ने संगठन थारु विद्यार्थी समाज हो। तर आज यो संगठन वास्तवमा हामी सबैको कमी कमजोरीले जीवन मरणको अवस्थामा छ। यसलाई जोगाउने कि निमिट्न्न पार्ने हाम्रो हातमा छ।

विद्यार्थी वर्ग भनेको समाज डोर्याउने आँखा हो। देशको खम्बा हो। ज्ञान र विवेकको खानी हो। त्यसैले एकपट निस्वार्थ भावनाले सोँचौ, केवल थारु विद्यार्थी समाजको उज्वल भविष्यको लागि आफूलाई आफैँले आत्मविश्लेषण गरौं हामी सम्पूर्ण थारु विद्यार्थी समाजका शुभचिन्तक र नेतृत्वकर्ताहरु कि हाम्रो कमजोरी के भयो र कहाँ चुक्यौं। जस्ले गर्दा थारु विद्यार्थीहरुको आस्थाको धरोहर थारु विद्यार्थी समाजलाई जोगाउनका लागि आज अप्ठेरो परेको छ। साँच्चिकै हामीले आफ्नो विवेक प्रयोग गर्यौ कि कसैको बहकावट र व्यक्तिगत स्वार्थले डोर्याउँदै छ? थारु विद्यार्थी समाजको विगतको इतिहास हेर्यौं भने अग्रजहरुले आफ्नो निहित स्वार्थ त्यागी केवल थारु विद्यार्थीको हकका निम्ति काम गरेको कुरा प्रमाणित छ। त्यही मेहनत र सेवाको परिणामको भरमा मात्र धिपधिप गर्दैछ अन्यथा यो संस्था एका देशको कथामा सिमित भैसक्थ्यो। तर किन अहिले संस्थाभन्दा बढी पद हाबी हुँदै? सेवाभन्दा स्वार्थ हाबी हुँदैछ? विशुद्ध सामाजिक कार्य गर्ने संगठनलाई राजनीति गर्ने आखडा बनाइँदैछ? थारु विद्यार्थी को पूर्व र को पश्चिम भन्ने धार छुट्टिदैछ? यो सम्पुर्ण प्रश्नको उत्तर केलाउने र मूल्यांकन गर्ने क्षमता सबै अधिवेशन प्रतिनिधि र शुभचिन्तकमा पक्कै पनि छ। त्यसैले हामी आफैँ फुटेर को पश्चिम को पूर्व भनेर छुट्टिदा हामीबीच खेल्ने मौका फेरि पनि अराजक तत्वहरुले पाउनेछन्। यो संगठन रहे हामी एक सुत्रमा बाँधिदै थुप्रै माग मुद्दाका लागि लड्ने संगठन रहनेछ। यो संगठन जोगाउनका लागि विवेक प्रयोग गर्ने बेला आएको छ। आफ्नो तह तप्काबाट व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जीवन मरणको दोसाधमा रहेको थारु विद्यार्थी समाजलाई बचाउने र जोगाउने अभिभारा केवल तपाईँ र हाम्रो जिम्मेवारी हो। कुनै आर्को शक्ति आउँदैन संरक्षण गर्न। अब अग्रजहरुको विरासत हाम्रो थारु विद्यार्थी समाज अरुको मुख ताकेर जोगिँदैन।

थारु बुद्धिजीबी, नेता, नागरिक समाज र अग्रजहरुको पनि महत्वपूर्ण भूमिका खेल्ने बेला आएको छ तपाईँका छोराछोरीले केही सिक्ने संस्था धरासायी अवस्थामा छ। हामीलाई तपाईँहरुको मद्धतको खाँचो छ, सक्नुहुन्छ मद्धत गर्नुस्, सहमति जुटाइदिने वातावरण बनाउनुस्। सक्नुहुन्न तर कृपया नफुटाइदिनुस्। अन्यथा आउने सन्ततीले जागरुक हुने, आफ्नो नेतृत्व विकास गर्ने ठाउँ मासिनेछ, हराउनेछ। दुई दशकको मेहनत हजारौं थारु बिद्यार्थीको मेहनत बालुवामा बनाएको घरझैँ भत्केर जानेछ।

त्यसैगरी जो नेत्तृव पंक्तिमा आउँदै हुनुहुन्छ भने संगठनको अहिलेको जरजर अवस्था एकपटक मनन् गर्नुस्। थारु विद्यार्थी समाजले मलाई यो दिनेछ भन्दा पनि म संगठनको लागि के गर्न सक्छु भन्ने अठोट लिएर आउनुस्। पक्कै पनि संगठनको विकाससँगै व्यक्तित्व पनि विकास हुनेछ होइन भने हात्ती आयो हात्ति आयो फुस्साको आवस्था नआउला भन्न सकिँदैन। अनि उही विराटनगर र चितवनको इतिहास फेरि पल्टिनेछ।

असोज १ र २ गते हुने काठमाडौं अधिवेशनको लागि पाल्नुहुने सम्पूर्ण प्रतिनिधिहरुले पनि सोँचौ नेतृत्व पंक्ति छान्ने तपाईँहरु हो सबै विवेक प्रयोग गर्ने क्षमता राख्छौं। यो संस्था जोगाउने कि सकाउने अभिभारा तपाईँहरुकै हातमा छ। केवल एकपटक आफ्नो, मेरो र तेरोको भावनाबाट माथि उठेर संगठन राम्रो नेतृत्व पंक्ति ल्याउ र संगठन जोगाउ। यो काठमाडौं सम्मेलन ‘अन्तिम चान्स’ हो। यसलाई अन्तिम अस्त्रको रुपमा प्रयोग गर्दे तपाईँ हाम्रो जीवन मरणको अवस्थामा रहेको संस्थालाई जोगाउ र फेरि थारु विद्यार्थीहरुको गौरवशाली संगठनलाई हराभरा पारौं।

लेखक थारु विद्यार्थी समाज उपत्यका समितिका पूर्व उपाध्यक्ष तथा छैटौं महाधिवेशन मूल आयोजक समितिका सदस्य हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *