त्रिशुलीमा बस खस्दा २० जनाको मृत्यु

रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २० जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १७ जना घाइतेको उद्धार भएको छ ।

सो बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित बस हो । ग १ ख ३७०९ नंको सो बसमा गौरबाट ३० जना र चन्द्रनिगाहपुरबाट सातजना यात्रु चढेको समितिका महासचिव योगेन्द्र केसीले बताए। अन्य दुईजना नदीमा हराइरहेको आशङ्का गरिएको छ । उनीहरुको खोजी कार्य जारी रहेको छ । चालक र सहचालकको अवस्थाबारे जानकारी हुन नसकेको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन नसके पनि अधिकांश यात्रु मुग्लिनबाट पोखरातर्फका भएको केसीले बताउनुभयो । आँबुखैरेनी, दमौली, खैरेनीटार र पोखरा क्षेत्रका यात्रु रहेको केसीले बताउनुभयो । बिहीबार साँझ ६ बजे सो बस गौरबाट छुटेको केसीले जानकारी दिए।

बिहान ४ः४५ बजे बस त्रिशूलीमा खसेको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो । कुँवरको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोली उद्धारमा जुटेको छ ।

केही घाइतेलाई उपचारका लागि भरतपुरका अस्पतालमा ल्याइएको छ भने केहीलाई ल्याइँदैछ । मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ सडकबाट झन्डै एकसय मिटर तल बस त्रिशूली नदीमा खसेको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *