ए थारु, तिमी मौन किन ?
इन्दु थारु
नेपालमा सबैभन्दा बढी उत्पीडनमा परेको जाति कुनै छ भने त्यो थारु हो। परिवर्तनका लागि ठूल्ठूला क्रान्ति र आन्दोलनहरु भएका छन् नेपालमा। त्यसका माध्यमबाट थुप्रै अग्रगामी परिवर्तन नभएका पनि होइनन्। २०६२–६३ को आन्दोलनबाट सबैभन्दा ठूलो उपलब्धीका रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल प्राप्त भयो। एकात्मक राज्य प्रणालीको अन्त्य गर्दै संघीयतामा देश जाने साथसाथै सबै वर्ग, क्षेत्र, लिंग, जाति दुर्गम र दूरवर्ती क्षेत्रका जनताहरुको समान सहभागिता र समावेशीका कुरा चर्को रूपमा उठाइए। नयाँ संविधान जारी गरियो। तर विडम्बना यही लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा सबैभन्दा सोझा भनिने थारुमाथि चरम दुर्व्यवहार, अन्याय र अत्याचार हुन्छ।
थारु तिमी साँच्चै कति सोझो भएको? तिमीले मान्छे बस्न लायक बनाएको जमिन तिमीबाट खोसिन्छ। मानव सभ्यताको सुरुवात गरेको तिम्रो भूमिबाट तिमीलाई भूमिहीन बनाइन्छ। समाजमा कलंकको रूपमा रहेको दास प्रथालाई निरन्तरता दिइन्छ, त्यो पनि तिमी थारुलाई नै कमैया कमलरी बनाएर। तिम्रो भूमिको मालिक कोही अरु हुन्छ अनि तिमी आफ्नै भूमिबाट विस्थापित हुन्छौ। तिम्रो भाषा, रहनसहन, खानपान, चालचलन, रीतिथिति, संस्कार, संकृति सबैको मजाक बनाइन्छ तिम्रै भूमिमा। तिमीले सुंगुरको मासु खाँदा सुंगुर खाने भनि हेपिन्छ, मुसा खाँदा मुसा खाने भनि अपमान गरिन्छ। तिम्रो संस्कृतिमाथि ढावा बोलिन्छ, तिमी चुपचाप बसिरहन्छौं।
वर्षौदेखि सहदै आएको अपमान, दुर्व्यवहार, अन्याय र अत्याचार एक न एक दिन त विष्फोट हुनु नै थियो। त्यो टीकापुरमा विष्फोट भयो। त्यो विष्फोट त्यति दुःखद गरी नहुनुपर्ने थियो। त्यो विष्फोट हुनुमा तिम्रो दोष छैन थारु, आफूलाई दोषी मानेर पश्चाताप नगर्नु। दोष थियो त केवल यो विभेद्कारी राज्यको, दोष थियो त सामन्ती चिन्तन बोकेका शासकहरुको, दोष थियो त थारुलाई फेरि पनि राजनीतिक कमैया कमलरी बनाउनेहरुको, दोष थियो त तिम्रो भूमिलाई आफ्नो बपौती सम्झी …रौँ पनि दिन्न’ भन्नेहरुको।
धेरैले तिमीलाई नै दोषी देख्लान्। तिमीले आफ्नो रगत पसिनाले बनाएको उर्वर भूमि अनि आफ्नो स्वजातीयहरुको बाहुल्यता भएको भूमिको एउटा कलष्टर माग्दा तिमी दोषी मानिन्छौं। तिमीले आफ्नो भाषा, पोसाक, संस्कार, संस्कृतिलाई थारुको मात्रै पहिचान नभई, थारुको पहिचानलाई नेपाली हुनुको पहिचानसँग जोड्न खोज्दा तिमी दोषी मानिन्छौ। तिमीले कुनै न कुनै रूपमा कमैया कमलरी हुन स्विकार गर्दा सामाजिक सद्धाव देेखिने तर स्वतन्त्रता र मुक्तिको आवाज उठाउँदा सद्भाव बिगारेको भनि दोषी मानिन्छौ। तिमीमाथि रजाइ गर्दै आएका र फेरि त्यसैलाई निरन्तरता दिन खोज्नेहरुको नजरमा तिमी दोषी देखिने त भयौ नै।
उहिलेका शासकहरुले आफ्नो शासन टिकाइरहनका लागि नेपालीलाई विभिन्न जातजातिमा विभाजित गरेका थिए। अहिलेका शासकले झन सबैभन्दा ठूलो विभाजन ल्याइदिए। नेपाली जनता बीचमा जातिगत, समुदायगत सबैभन्दा ठूलो विभाजन संविधान घोषणा गर्ने दिन देखियो। छिमेकीको मन दुख्दा संगैको अर्को छिमेकीको घरमा दिपावली मनाउने संस्कारको विकास गर्न खोजे शासकले। यसमा दिपावली गर्ने छिमेकीको भन्दा बढी दोष त शासनसत्तामा आसिन शासकहरुको थियो। जसले नेपाली बीचमा ठूलो फाटो ल्याउने काम गरे। तिम्रो छिमेकी जोशीसँग त तिम्रो सम्बन्ध राम्रै थियो। सँगै पढ्ने तिम्रो साथी भट्टसँग पनि राम्रै सम्बन्ध थियो। तिम्रो लडाईँ राज्यसँगको हो, कुनै जाति विशेषसँगको होइन, यो कुरा त तिमीले राम्रै गरी बुझेका छौं नि थारु।
नहुनुपर्ने टीकापुर घटनापश्चात तिमीमाथि थुप्रै किसिमका अमानवीय व्यवहार भए। थारुहरुका घरभित्र राखिएका साइकल, मोटरसाइकल तोडफोड गरिन्छ, राज्यका प्रतिनिधिहरु टुलुटुलु हेरिरन्छन्, सम्भवत मनमनै मुस्कुराए पनि होलान्। टीकापुरमा थारुहरुका लागि मात्रै कर्फ्यु लगाइन्छ, सेना परिचालन गरिन्छ। कर्फ्युमा घरभित्रै थुनिएर बसेका थारुका घर, पसल, रिसोर्टाम आगो लगाइन्छ, लुटपाट गरिन्छ। कर्फ्यु आदेश गर्ने प्रशासन र सुरक्षा दिने नाममा खटिएका सुरक्षाकर्मीको उपस्थितिमा थारुका घर पसल छानी छानी लुटपाट हुनु र आगजनी हुनु कति निन्दनीय छ। केही कथित उच्च जातिका उशृंखल समूह र राज्यका प्रतिनिधिहरुको मिलेमतोमा एउटा जाति विशेषमाथि भएको यो ज्यादती जातिबादको उग्र रुप हो। पुलिस प्रशासनको प्रत्यक्ष उपस्थितिमा कर्फ्युका बेला थारुमाथि भएको यो अत्याचारले राज्यको माथिल्लोदेखि तल्लो तहसम्मको निकाय जातिवादी र विभेदकारी रहेको स्पष्ट हुन्छ। कर्फ्यु तोडेर थारुका घरमा आगो लगाउँदा मुखदर्शक भएर हेर्ने राज्यका प्रतिनिधिहरु त्यही निकायअन्तर्गतका प्रतिनिधि हुन् जसले निषेधाज्ञा तोडे भनेर मधेसीहरुको आनदोलनमा ताकेरै मधेसीहरुको टाउको र छातीमा गोली ठोकेका थिए।
आदेश त माथिल्लो निकायमा बस्नेहरुकै थियो होला, राज्यको यो विभेदकारी नीति कार्यान्वयन गर्नमा सुरक्षाकर्मी नै अग्रपंक्तिमा रह्यो। थारुहरुलाई सम्पूर्ण रूपमा त्रसित बनाइयो। थारु गाउँमा सन्नाटा छायो। टीकापुर घटनापछिको दशैंमा थारु गाउँमा मादल बजेनन्। झुम्रा र सखिया नाच भएनन्। थारु महिलाले घर लिपपोत गरेनन्। खोलामा माछा मार्न गएनन्। परम्परादेखि निभाउँदै आएका आफ्ना संस्कार पूरा गरेनन्। पुरुषहरु, विशेषगरी युवाहरु घर बस्न सकेनन्। गाउँका भलमन्सा मुखियाहरु प्रहरीका मुख्यरूपमा तगारो बने। हतियार लुकाएको छ भन्दै थारुहरुका देहरी कुठ्ली (अन्न राख्ने माटोको भकारी) भत्काइए। र, त्यसभित्र राखेका धान, गहुँ, चामल एकैमा मिसाइए। कतिपय थारुहरुलाई निर्घात कुटपिट गरे, र मर्यो भनि छोडेर हिँडे। एउटी थारु महिलालाई कुटपिट गरी ढुंगैढुंगा भएको ग्रावेल बाटोमा चल्दै गरेको आफ्नो गाडीबाट धक्का दिएर खसालिदिए। एउटी महिनावारी भएकी थारु महिलाको खुट्टामा थोरै रगत देखेर पुलिस मार्ने यही हो भनि कुटपिट गरे। यसरी कैयौं प्रकारले राज्यका प्रतिनिधि बन्दुकधारीहरुको बन्दुकले थारु गाउँहरुमा सन्नाटा लयाइदियो। अझै पनि थारु गाउँहरु केही सहज भए पनि रौनकता भने आउन सकेको छैन।
टीकापुर घटनाका वास्तविक दोषी पत्ता लगाउनु राज्यको जिम्मेवारी हो। तर गैरजिम्मेवार तरिकाले केही सोझा थारु र केही थारु नेताहरुलाई पक्राउ गरिन्छ। पक्राउ परेकामध्ये केही त दिनभरि मजदुरी गरी साँझ बिहानको छाक टार्ने गर्थे। केही नेपाली खस भाषासमेत बोल्न जान्दैनन्। गिरफ्तार गरिएकालाई केही नलेखिएको खाली कागजमा बलपूर्वक हस्ताक्षर गर्न लगाइन्छ। कस्टडीमा रहेकाहरुलाई तँलाई थारु भन्दै असभ्य गाली गलौज गरिन्छ। मरासन्न हुने गरी यातना दिइन्छ। बन्दी बनाइएकाहरुमध्ये कसैलाई जातीय गाली गरिन्छ भने त्यो थारुलाई गरिन्छ। पुकार खाएर थारु भन्दै बन्दीको अनुहारमा थुकिन्छ।
टीकापुर घटनापछि थारुहरुमाथि गरिएको ज्यादतीका विरुद्धमा कोही बोल्दैनन् । मानवअधिकार आयोगले थारुहरुको मानवअधिकार हनन् भएको भन्छ तर आयोगको रिपोर्ट बाहिर सार्वजनिक गरिँदैन। कुन्नी के छ त्यो रिपोर्टमा, लुकाएर राखिन्छ। थारुको होइन, सत्य र न्यायका पक्षमा सार्वजनिक भएको एमनेष्टी इन्टरनेशनलको रिपोर्टको विरोध गरिन्छ। सत्य तथ्यमा आधारित एमनेष्टीका रिपोर्टको विरोध पनि राज्यको एउटा जिम्मेजार अंगले गर्छ तर अर्को जिम्मेवार अंग मानव अधिकार आयोगको रिपोर्ट भने सार्वजनिक गर्दैन।
तिमीमाथि खुलायाम यतिको अत्याचार भैसक्दा पनि किन यति मौन छौ? सरकारी गोलीले तिम्रो बोली बन्द गरेकै हो त?तिमी झुकेकै हो त? थारु के साँच्चै तिमी अब नब्युँझने गरी सुतेकै हो त?
Facebook Comment