ओलीलाई खुलापत्र : गण्डकी, कोसी, महाकाली बेचेर राष्ट्रियता झल्किन्छ सरकार ?

अधिकार चौधरी।
प्रधानमन्त्रीज्यु, सञ्चै हुनुहुन्छ ? हाम्रो जम्बो सरकार कस्तो चल्दैछ ? सुन्दैछु प्रचण्डज्युले ठूलो धोका दिनु भयो रे ? यसरी बिना कारण धोका दिन मिल्छ र कमरेड ? अनि तपाईँले त ९ बुँदे सहमति थन्क्याएर प्रचण्डलाई जेल कोच्ने सपना देख्न थाल्नु भयो रे, त्यसैले प्रचण्ड सरकार छाडेर भाग्नु भयो रे ! धोका त हजुरबाट पनि भएको देखिन्छ नि कमरेड ? आफ्नै छातीमा आत्मघाती गोली प्रहार गरेर अर्धचेत अवस्थामा हुनुहुन्छ । त्यही अर्धचेत अवस्थामा ‘गुगल ब्वाइ’ भन्ने केटोलाई एक करोड थमाइदिनु भो तर थारु समुदायलाई मात्र लाग्ने सिकल सेल रोग जाँच्ने एउटा मेसिन पनि किनदिनु भएन कमरेड । यसरी अभिभावक भैसकेपछि एउटै सन्तानमाथि काखा पाखा गर्न मिल्छ ? यो मैले आक्रोश पोखेको होइन कमरेड, हजुरको शुभचिन्तकको नाताले मात्रै भनेको हुँ ।

हजुर गणतान्त्रिक संविधान बनाउँदा तराईका थारु मधेसी जनतालाई खुब गोली ठोक्नु भयो । यसरी जनताको रगतmे होली खेलेर कस्तो संविधान बनाउनु भयो कमरेड ? हजुर त ज्ञानेन्द्रभन्दा पनि निर्दयी बन्नुभयो । लोकतान्त्रिक र प्रजातान्त्रिक देशमा यस्तै हुन्छ र कमरेड ?

बजारमा खुब सुन्छु, हजुर उखान टुक्कामा माहिर हुनुहुन्छ । उखान टुक्काले देश चलाइरहनुभएको छ । ल भन्नुस् त यस्तो क्रान्तिकारी देशमा उखान टुक्काले देश चल्छ ? चल्ने भए त मेरो गाउँकै बाजे उखान टुक्कामा माहिर हुनुहुन्छ, खै एउटा गाउँ पनि हाँक्न सक्नु भएको छैन । हजुर त सिंगै देश हाँकिरहनुभएको छ कमरेड ?

सुन्छु भूकम्प पीडितहरु अझ राहत पाएका छैनन् रे । त्यत्रो देश बिदेशबाट आएको अनाज रासन त कुहिसक्यो होल नि कमरेड । सहिदका परीवार पनि छ्न उनीहरुका लागि के सोच्नुभएको छ कमरेड ? केही नेपाली अझै सिटामोल,जीवन जल नपाएर मरिरहेका छन् कमरेड, ती गरिबहरुको लागि केही सोच्नुभएको छ ? सुन्दैछु एउटा बहादुर काम गर्नुभयो, सरकारी कर्मचारीको तलब २५ प्रतिसत बढाइदिनुभयो । साँच्चै कमरेड एक लाख कर्मचारीको पेटमात्र सोच्नुभयो कि बाँकी जनताको पेट छ भनेर पनि सोच्नुभएको छ ।

Sdhikar Chyअहिले देश राजतन्त्रबाट गणतन्त्रमा परिवर्तनको फड्को मारिसकेको छ । तर म उही देख्छु । बस अलिकति परिवर्तन पहिला पुरुषले हलो जोत्थे अब महिलाहरु जोत्छन् । सबै पुरुषले गर्ने काम महिलाले गर्छन् सरकार । आज एउटा महिला महीला भएकै कारणले एसिड प्रहार हुन्छिन् । दिउँसै बलात्कारको सिकार हुन्छिन्, तर खै कारबाही भएको सरकार ।

सरकार यो कस्तो विडम्बना हो । बाबुको हातमा त्यही फाटेको दाउरा सुरुवाल, धोती र टोपी । छोराछोरी अरबको खाडीमा जाँदा कुन कपडा लगाएको थिए, फर्किँदा पनि त्यही पुरानै ठाउँमा जन्ती, मलामी जाँदा पनि मुस्किल छ । के यही हो लोकतान्त्रिक परिवर्तन सरकार ? बाबुको काँधमा त्यही हलो कोदालो छुटेको छैन, बुबा–आमा छोरो कहिले परदेशबाट आउँला भन्दै कुरिरहेका छन् । तर छोरो विदेशबाट बाकसमा सजिएर आउँछ के देशले यही परिवर्तन खोजेको हो ? कमरेड अझै पनि शिक्षित युवा विदिसिने क्रम जारी छ । यिनिहरुलाई आफ्नै देशको विकासमा काम लगाउन सकिँदैन ?

राष्ट्रियताको भारी खुबै बोक्नुभयो । भारी भएन कमरेड ? हामीले कस्तो किसिमको राष्ट्रियता खोजेको सरकार ? गण्डकी, कोसी, महाकाली नदी बेचेर राष्ट्रियता झल्किन्छ सरकार ? गान्धीजस्तै विदेशी उत्पादन बस्तु बहिष्कार गरी हाम्रै देशमा उत्पादन भएको बस्तु प्रयोग गरेर एकचोटि रास्ट्रवाादी बन्ने प्रयास गर्ने हो कि सरकार ?
सरकार अस्ती बानेश्वर जाँदा गल्ली सुनसान देखे । पुलिसहरु लठ्ठी लिएर उल्टो फर्केको देखे । सोँचे कतै राजाको सवारी हुँदैछ कि ! तर एकछिनपछि थाहा भयो, हजुरको चिल्ला गाडी पो कुदेका रहेछन् । जे होस् देशमा राजा नभए पनि हामीले बिना मुकुटको राजा पाएका छौं सरकार । अब त हजुर पनि केही दिनपछि हामीजस्तै साधारण जनता बन्नु हुनेछ । हजुर त बिरामी मान्छे चिन्ता नलिनु होला । आफ्नो स्वास्थको ख्याल राख्नुहोला । अब छिटै फेरि हजुरजस्तै बिना मुकुटको अर्को राजा आउनेछन् । हामी जनता प्रतीक्षामा छौं ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *