टीकापुरमा आँसु लुकाउँदै सीतादेवी

ऋषिकेश दाहाल।
सीमाङ्कनको विवादित मुद्दामा सरकारले अखण्ड सुदूर पश्चिमको पक्ष लिएपछि मोटरसाइकल र्यााली निकालियो – विजयोत्सवको। राज्यबाट ठगिएको महसुस गरेका थारुहरुलाई चिढ्याउन यसरी आयोजना गरिएको मोटरसाइकल र्या्लीको कर्कस ध्वनि पर्याप्त थियो। सँधै सोझासाझा मानिने थारुहरु त्यो जुलसको विरुद्ध उत्रिँदै थिए।

त्यसको असर नजिकैको मुनुवामा नपर्ने कुरै भएन। टीकापुरबाट ३० मिनेटजतिको दुरीमा छ मुनुवा गाउँ। सहरको पिच सडकबाट कच्ची बाटो हुँदै पुगिन्छ यहाँ। थारुहरुको साना साना झुपडीमात्र देखिने यस गाउँमा पनि आन्दोलनको उर्दी पुगिसकेको थियो।

त्यहीका सुन्दरलाल कठरिया आन्दोलनमा सहभागी हुने तय भयो। पत्नी सीतादेवी र दुई छोराहरुका बाबुले राजनीति कति बुझेका थिए? कसैसँग उत्तर छैन। उनी लागे टीकापुर अरु गाउँलेसँगै।

‘आन्दोलनमा जानै पर्ने भनियो, उनी त्यहाँ अघि थिए कि पछि थाहै भएन,’ सीतादेवीले भनिन्, ‘बडघरबाट एक-एक जना आन्दोलनमा जानैपर्ने भनेकाले उनी गए। पढेका पनि होइनन् र नेता पनि थिएनन्।’

कुनै घरबाट महिला आन्दोलनमा हानिए त कुनैबाट पुरुष। एक घरबाट एक अनिवार्य हुनैपर्ने भनियो।

त्यसै दिन एकाएक टियर ग्यास र गोलीहरु चले। ठीक यतिखेर सुन्दरलाल भिडको कहाँनेर थिए थाहा छैन। प्रहरीको गोलीले नछेडेको भए उनी कतै भागिसक्थे होलान्। सडकमा रक्ताम्मे भएर बजारिए। कसैले उनलाई अस्पतालसम्म पुर्याएपछि उनको शरीरबाट गोली निकालियो।

केन्द्रको निर्णयले बिग्रेको वातावरण
प्रमुख राजनीतिक दलहरुले कर्णालीलाई ७ नम्बर प्रदेशबाट हटाउने र सुदूर पश्चिमलाई अखण्ड नै बनाउने निर्णय गरेपछि भित्रभित्रै सल्किरहेको विद्रोहको आगो एकाएक बाहिर निस्कियो। आफ्नो बाहुल्य भएको क्षेत्रमा अधिकार स्थापित गर्न चर्को नाराका साथ उत्रिएका थारुहरुले अपमानित महसुस गरे।

२०७२ साउन २८ गते थारुहरुले आयोजना गरेको विरोधका कार्यक्रम अखण्ड पक्षधरहरुले भाँडेका थिए। ६० प्रतिशत जनसंख्या रहेको टीकापुरका थारुलाई यसले नराम्ररी चोट पुर्याएको थियो। केन्द्र र स्थानीयस्तरमै अपहेलित भएको महसुस गरेका उनीहरुको चोटमा मल्हम लगाउने कोही भएनन्।

साउनदेखि नै थरुहटको माग गर्दै आन्दोलन सुरु भइसकेको थियो। गर्मीको माहौलमा पटकपटक पर्ने साउने झरीले माहोल चिस्याउन सकेको थिएन। हरेक घरबाट एक जना आन्दोलनमा सहभागी हुनै पर्ने वाध्यात्मक निर्देशनले धेरै थारुहरु त्रासदीपूर्ण अवस्थातिर धकेलिएका थिए।
मिलन, आन्दोलन र सहमतिका श्रृंखलाहरु चलिरहेकै थिए। घाउमा मलमपट्टीका विषय उठेका थिए तर चोटको गहिराई कसैले मापन गरेको थिएन। र, चोटको असर कति गहिराइसम्म पुग्छ कसैले अनुमानसमेत गरेको थिएन। चोटमा लगाउनुपर्ने मल्हमहरु अन्यत्रै दलिँदै थियो। अमुक थारुको नाम खडा गर्दै मल्हम दलिँदा वास्तविकहरु छायाँमा परिरहेका थिए।

त्यसैको परिणाम जे नहुनु थियो भयो । टीकापुरबाट करिब ७ सय मिटर पश्चिममा एकाएक गोली चल्यो। अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपाने र एक काखे बालकसहित ८ जना मारिए। आन्दोलनकारीको गोलाभित्र फसेका प्रहरी मारिँदा सुरक्षाका दुई निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको तालमेल हुन नसकेका तथ्यहरु पछि सार्वजनिक भए पनि त्यसले यहाँ कुनै असर परेन। सुरक्षा निकायमाथि नै आक्रमण भएर ज्यान गएपछि थारु आन्दोलन नै एक किसिमले ‘बद्नासम’ हुन पुग्यो भने प्रहरी आक्रोशित र त्रसित बन्न पुगे।

अनपेक्षित जीवन भोग्दै सीतादेवी
सीतादेवीको घरको फराकिलो आगनसम्म गोली चलेको खबर पुगिसकेको थियो। प्रहरीले गर्न सक्ने सम्भावित अपरेसनका ‘डर’ले गाउँका बलियाबाङ्गाहरु सीमापार हुन थालिसकेका थिए। सहर र गाउँ दुवैतिर कर्फ्युको घोषणा भइसकेको थियो। सीतादेवीलाई के भयो पत्तै भएन। पहिलो रात यसै वित्यो। भोलिपल्ट सहर जाने प्रयास गरिन् तर सम्भव भएन। तर खबर आइपुग्यो – उनको पतिलाई गोली लाग्यो र रेडक्रसले अस्पताल पुर्या यो।

ज्वाइँ पर्ने एक ‘पहडीया’सँग उनले सहयोग मागिन्। उनको अनुरोध स्वीकार्दै कर्फ्युकै बीचमा ती ज्वाइँ अस्पताल पुगे। तर, सुन्दरलाल भेटिएनन्। पछि उनैले सुन्दरलाललाई धनगढी लगिएको जानकारी दिए। ज्यान बचेको त सीतादेवीले थाहा पाइन् तर कहाँ छन् पत्तो भएन।
दुई स्कुले छोरा, खेतीवारी र घर सम्हाल्नुपर्ने एकथरी बाध्यता र अर्कोतिर ट्याक्टर जोतेरै अन्न उमार्ने सुन्दरलालको अभाव। सीतादेवीका लागि कठिन समय बनिरह्यो। आन्दोलनमा गएका गाउँकै रामकुमार, दिलबहादुर र राजकुमार कठरिया पनि घर फर्केका थिएनन्।

त्रासकै एक रात एक्कासी उनको घर घेरियो। पूरै घर हतियारधारीले घेरेका थिए। ‘तीन भ्यानमा पुलिस आएका थिए पूरै घेरेका रहेछन्, भाग्न सक्ने कुरै थिएन,’ सीतादेवीले सुनाइन्, ‘बाकस लुगा सबै खोतले। कागजमा के लेखेका थिए थाहा छैन तर सही गर्न लगाए।’
सुरुमा त उनले मानेकी रहिनछिन्। ‘गाली गरेको सुनेपछि पल्लो घरको बुहारीले सही गर्दिनुस् भनिन् अनि गरेँ,’ उनले भनिन्।

धेरैका कथा एकै
लगातारको कर्फ्यु! त्यो भन्दा पनि प्रहरी र अरु समुदायको ‘डर’ले उनलाई बाहिर निस्कन दिएन। एक दिन मुस्किले लमही पुगेको बेला टेलरिङमा काम गर्ने एक जनाले सुझाए – धनगढी जाऊ।

तेस्रो साता उनी धनगढी पुगिन्। ‘जिल्ला प्रशासन कार्यालयमा टाढाबाट देखेँ, भेट्न दिएनन्,’ उनले भनिन्, ‘टाढाबाट हेरेँ अनि केही पैसा र लुगा पुलिसकै हातमा राखिदिएँ।’

त्यसयता हरेक महिना उनी पतिलाई भेट्न जान्छिन्। भएको पैसा पुर्यामउँछिन्। थाहा छैन उनका पति छुट्छन् कि छुट्दैनन्। १० महिना भयो उनका पति कैदमा रहेको। घाइते हुनु नै उनलाई प्रहरीले समाउने आधार बन्यो। आफैँ गोलीले घाइते भएका उनी प्रहरीहरुको ‘हत्या’ अभियोगमा जेलमा छन्। उनीजस्ता २६ जना अरु समातिएका छन् – तिनीहरुको कथा पनि उस्तै छ। नसमातिनेको जमात पनि ठूलै छ। करिब १ सय २५ युवा अहिले पनि घर फर्केका छैनन् – प्रहरीको डरमा। यिनीहरुका घरमा प्रहरी जाने र अन्य सदस्यलाई सताउने गरेको पीडितहरु बताउँछन्।
घटनापछि कैलालीका सुरक्षा प्रमुखहरु र टीकापुरका डिएसपी पनि फेरिए। ‘पहिले के भयो हेर्नैपर्छ तर अहिले स्थिति सहज बनिरहेको छ,’ इलाका प्रहरी प्रमुख डिएसपी गौतम मिश्रले भने, ‘गैर कानुनी व्यवहार कसैलाई पनि गरिएको छैन।’

उनकै पहलमा थारु अगुवा र अन्य समुदायबीच छलफल सुरु भएको छ। प्रमुख राजनीतिक दलका नेताहरु अझै स्थिति सुधार्ने गहकिलो प्रयासमा लागेका छैनन्। नेपाली कांग्रेसका एक जिल्लास्तरीय नेताले त ‘प्रहरीहरु नै पीडित भएपछि दुर्व्यवहार हुनु’ सामान्य रहेको सुनाए। यसले पनि कैलालीको टीकापुर अब कुन मोडतिर धकेलिन्छ भन्न सकिन्न।

१० महिनापछिको टीकापुर यस्तो छ
भदौ ७ गते सुरक्षाकर्मी मारिएपछि कर्फ्यु लाग्यो। कर्फ्युकै बीच भदौ ८ गते टीकापुर बजारमा छानीछानी थारुका घर, होटलहरु र पसलहरु जलाइन थालियो। कर्फ्युका लागि प्रहरी परिचालित थियो तर आगजनी गर्दा प्रहरीले कुनै वास्ता गरेन।

‘त्यतिखेर सबैतिरबाट खतरा हुनसक्ने भएकाले केही कमजोरी भएकोजस्तो देखिन्छ,’ डिएसपी मिश्रले भने, ‘तर अहिले स्थितिमा धेरै सुधार आएको छ।’

उनले भनेजस्तै सुधार आएको हो त टीकापुरमा?

प्रश्नको जवाफ सजिलो छैन। अखण्ड पक्षधर र थारु समुदायबीच ठूलो खाडल छ जुन पुरिएको छैन। दुवै पक्ष एक अर्कालाई दोषारोपण गर्छन् – भित्रभित्रै। खुलेर बहसमा आउन कोही तयार छैन। अखण्ड पक्षधरमा खुलेरै लागेका छन्, कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता/कार्यकर्ता।
सार्वजनिक कार्यक्रममा थारुको उपस्थिति शून्य बराबर छ। सार्वजनिक ठाउँमा बोल्न उभिनेमा ५ जना थारु जुट्न पनि कठिन देखिन्छ। एक किसिमले विश्वासको संकट गहिरिएको छ। राजनीतिक दलका केन्द्रीय तहले हस्तक्षेप नगर्ने हो भने यो अवस्था अझ फराकिलो हुँदै जाने देखिन्छ।

‘सेना आएपछि यहाँको अवस्था केही सहज बनेको हो,’ लालबीर चौधरी भन्छन्, ‘घटनाको दुई महिनासम्म चौधरीहरु टीकापुर बजारमा हिड्नसमेत सकेनन्।’

उनका अनुसार थारुहरुका १ सय ५० घर टहरा जलाइयो, सामान लुटियो। उनकै होटल पनि तोडफोड भयो, एसीहरु चोरियो, आगो लगाइयो।
‘माओवादीको जनयुद्धकालमा पनि यस्तो भोगिएको थिएन,’ उनले भने, ‘अहिले पनि ५/६ बजेपछि थारुहरु बजार जान डराउँछन्।’

सीतादेवीको नलुकेको पीडा
सीतादेवीले आँपको गाछीतिर खटिया राख्दै गर्दा उनको अनुहारमा मुस्कान देखिन्थ्यो। हत्तपत्त बाहिरियासँग बोल्न नचाहने उनी सुरुमा हाँस्दै कुरा गर्न थालिन्। प्रसँग यिनै विषयमा थियो। केही क्षणअघि मिलाएर बोल्दै गरेकी उनले घटना सुनउँदा आफूलाई कतैबाट पनि कमजोर देखाउन चाहिनन्।

तर उनले आफूलाई पूरै नियन्त्रण गर्न सकिनन्। केही क्षणअघिको उनको व्यवहारमा उनी ‘फेल’ हुँदै थिइन्।

अनि एकाएक असफल भइन्। बोल्लाबोल्दै बोली रोकियो उनको। आँखा रसायो। एकैछिनअघिको भावभंगी एकाएक फेरियो। त्यसपछिमात्र उनले सहज जीवन असहज हुन थालेको खुलाइन्।

उनको छोराको स्कुलमा शुल्क बुझाउन ढिलो भइसकेको छ। बिग्रेको ट्याक्टर बनाउन सकेकी छैनन्। घर नजिकै एउटा सानो छाप्रे पसल छ, त्यो पनि धानेकी छिन्। हामी फर्किँदा उनी साइकलमा हान्निएर पसल खोल्न गइरहेकी थिइन्।

पहिलोपोस्टबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *