‘रौं पनि दिन्न’ भन्नेहरुका दास कहिलेसम्म बन्ने ?

इन्दु थारु।

आन्दोलन सजिलो विषय होइन। चाहँदैमा आन्दोलन हुँदैन, घोषणा गर्दैमा पनि आन्दोलन हुँदैन। आन्दोलन उठ्न समय लाग्छ, उचित समय। त्यसका लागि व्यापक तयारी चाहिन्छ। आन्दोलनले बिस्तारै गति लिन्छ, रफ्तारमा अगाडि बढ्छ र सधैं त्यही रफ्तार कायम रहन्छ भन्ने पनि हुँदैन। आन्दोलनमा विभिन्न किसिमका चुनौतीहरु आउँछन्। ती चुनौतीहरुको उचित तरिकाले सामना गर्न नसकिए आन्दोलन सेलाउँछ पनि। आन्दोलनकारी तथा जनतामा निरासा बढ्दै जान्छ। तीनका आशा र विश्वास पनि आन्दोलन सेलाए जसरी सेलाउँदै जान्छन्। थरुहट थारुवान आन्दोलनमा देखिएको समस्या पनि केही यस्तै छ। अहिलेसम्म हजारौ हजार वर्षदेखि राज्यले थारुहरुलाई दासमात्रै बनायो भन्ने गर्थ्यौ तर अब आफ्नै थारु नेताहरुमा देखिएको विभाजन र तिनमा देखिएको फुट प्रवृतिले फेरि थारुहरुलाई दास बनाउने निश्चित प्रायः छ।

देशमा धेरै व्यवस्था परिवर्तन भए तर थारुहरुका दिन कहिल्यै परिवर्तन भएनन्। हरेक व्यवस्थाले थारुलाई उपेक्षित मात्रै गर्यो। पञ्चायती कालमा कांग्रेसलाई देखि नसक्ने राज्य सञ्चालकहरुले थारुहरुलाई कांग्रेसी भनि दमन गरे। तर प्रजातन्त्र प्राप्तिपछि राज्य सञ्चालक कांग्रेसले तराईका थारुहरुको योगदान सजिलै बिर्सियो। एमाले यो देशको प्रमुख पार्टी बन्नुमा तराईका थारुहरुको योगदान महतवपूर्ण रह्यो। तर थारुका योगदान कहिल्यै महत्वको भएन एमालेका लागि पनि। माओवादीले शसस्त्र युद्ध सुरुवात गर्दा तराई क्षेत्रमा सबैभन्दा बढी महतवपूर्ण भूमिका थारुहरुकै रह्यो। थारुहरुमा सबैभन्दा धेरै राजनीतिक चेतनाको विकास र चेतनाको स्तरमा वृद्धि पनि माओवादीकै कारण भएको थियो। सबै थारुहरु माओवादी हुन् भन्दै थारु अनुहार देख्ने बितिकै त्यस बेलाका एमाले कांग्रेस सरकारले थारुमाथि गर्नु ज्यादती गरे। तराईका थारु र समग्रमा नेपालका आदिबासी जनजातिको योगदानले नेपालको राज्य सक्तामा पुगेको माओवादीले पनि एमाले कांग्रेसले जस्तो थारुहरुको योगदानलाई सजिलै कसरी बिर्सियो होला भनि विशवास नलागे पनि सजिलै बिर्सियो भन्नैपर्छ दुखका साथ। त्यही पनि केही थारुनेताहरु दासत्व स्वीकार गर्दै तिनकै दास बनेर रमाइरहेका छन्।

थरुहट थारुवान आन्दोलनमा होमिएका निम्न स्तरका थारुहरु जो जुनसुकै पार्टी र विचारधाराको भए पनि थारुका अधिकार प्राप्त गर्नका लागि एकजुट भएर संघर्ष गर्नुपर्छ भन्छन्। तर थारुका माग मुद्दा स्थापित हुन नदिएका पार्टीमा आबद्ध आफूलाई ठूलै थारु नेता मान्ने केही थारुका चर्तिकला चाखलाग्दो छ। कोही थारुहरुको ठूलै नेता हुँ भन्नेहरु थारुलाई रौं पनि दिन्न भन्नेका दास बनेर बसेका छन्। कोही शान्ति र सद्धावका भजन गाएर बसेका छन्। मुक्ति या मृत्युको कसम खाई थारुवानका लागि लड्ने भिड्नेहरुमध्ये मर्नेहरु त मरिगए तर बाँचेकाहरु मुक्तिको कुरै गर्दैनन्। थारुहरुको रगत र पसिनाको बलमा राज्य सत्तामा पुगेको पार्टी थारुका माग मुद्दाप्रति अलिकति पनि संवेदनशील नहुँदा पनि मै हुँ भन्ने थारु नेताहरु मुक्तिका कुरै गर्दैनन् , बरु दास भएर रमाइरहेका छन्।

कमसे कम थारुहरुको साझा मुद्दाहरु स्थापित गराउनका लागि एकजुट भएर लागौं भन्नेसम्मको बुद्धि पनि किन नभाको थारु नेताहरुमा, कि आवश्यकताभन्दा अलि बेशी नै भाको हो। एउटा बाँदरलाई जिस्कायो भने पनि उसको पूरा झुण्ड एकजुट भएर दुश्मनलाई हमला गर्न आउँछ। तर थारुहरुलाई ‘रौं पनि दिन्न’ भनिसक्दा पनि, थारुहरुलाई आतंककारी बनाइसक्दा पनि, विरोधीहरुले थारुहरुका घर र पसलमा छानी छानी आगो लगाउँदा पनि किन थारु नेताहरु एकजुट हुन नसकेका? बाँदरमा हुने जतिको बुद्धी पनि केही थारु नेतामा नहुँदा आज थरुहट थारुवान आन्दोलन कमजोर बन्न पुगेको छ।

सामन्ती चिन्तन बोकेको राज्य सत्ताको त नीति नै रहन्छ उत्पीडित, उपेक्षित, अपहेलित वर्गको आन्दोलनलाई जसरी पनि तुहाउने, र आन्दोलन तुहाउन हर सम्भव प्रयास गर्ने पनि गर्छ। तर यसपटकको थरुहट थारुवान आन्दोलन भने सधैंभरी थारुहरुलाई उपेक्षित गर्दै आएको सामन्ती राज्यका कारणले मात्रै कमजोर पारेको छैन। थरुहट थारुवान आन्दोलनलाई केवल थारु जातिको मात्रै आन्दोलन बनाएर जातीय रुप दिन खोजिरहेका आफूलाई थारुका ठेकेदार सम्झिने केही थारु नेताकै कारण कमजोर बन्दैछ आन्दोलन।

इतिहास साक्षी छ न्याय, मुक्ति र स्वतन्त्रताका लागि गरिने आन्दोलनलाई सामन्ती राज्य सत्ताको बन्दुकको गोलीले कहिल्यै परास्त गर्न सकेको छैन। बन्दुकका गोलीभन्दा जनताका बोली बुलन्द हुन्छन्। तर थारु जनताका आवाजलाई अझै शसक्त र मजबुत बनाउनुको साटो आफ्नै थारु नेताले आन्दोलमा विभाजन ल्याएका छन्। अझ दुखको कुरा त आन्दोलन तहसनहस र ध्वस्त बनाएर केही नेता भने कागजी आन्दोलन गरेर मस्त छन्। थरुहट थारुवान आन्दोलनमा फुट र विभाजन ल्याई आफूमात्रै नेता बन्छु र आफूमात्रै आन्दोलन हाँक्छु भनि दुस्साहास गर्ने केही नेताहरु पनि छन्। र, आन्दोलनलाई हरतरहले दबाउन खोज्ने थारुविरोधी सरकारको हिस्सा बनेका अवसरवादी थारु नेताहरु पनि छन्। यी दुवै प्रकारका चरित्र बोकेका थारुहरु थारु नामका कलंक हुन्। उत्कर्षमा पुगिसकेको आन्दोलनलाई कमजोर बनाउनमा यस्ता थारु नामका कलंक र एकलजातीय शासन टिकाइरहने सामन्ती शासकहरु बराबर जिम्मेवार छन्। अझ बढी जिम्मेवार त थारु खाने थारु नेताहरु छन्, जो आन्दोलन दबाउन गद्दारको सक्रिय भूमिका खेलिरहेका छन्। आफ्नै थारु नेताहरु आन्दोलनमा विभाजन ल्याउनुमा कही सरकारी खेल त छैन? कही सरकारसँगको मिलेमतोमा नै योजना बनेका हुन् कि? हैन भने आफ्ना जनतासामु कहिल्यै नआउने तर भूमिगत बसेर आन्दोलनमा विभाजन ल्याउनेगरी किन आन्दोलनका कार्यक्रम घोषणा गरिन्छन्? सँच्चा आन्दोलनकारीहरु आफ्नै नेतालाई आज यी प्रश्न गर्न बाध्य भएका छन्।

सँच्चा आन्दोलनकारीले बुझ्नैपर्ने हुन्छ, न्याय र मुक्तिका लागि गरिने आन्दोलन केही दिन, केही महिना, केही वर्षसम्मका लागिमात्रै हुन्छ भन्ने छैन। निरन्तर संघर्ष गरिरहनुपर्ने हुन्छ, हुन सक्छ संघर्षमै जीन्दगी बिताउनुपर्ने होला। संघर्ष गर्ने क्रममा बाधा अड्चन र चुनौती धेरैनै आउँछन्। थारुहरुका माग मुद्दा स्थापित गराउनका लागि लागिपरेका आन्दोलनकारीले बाह्य दुश्मनसँग त लड्नु छ नै, आर्फैभित्रका गद्दारहरुसँग पनि लड्नपर्ने अर्को चुनौती थपिएको छ। चुनौतीहरु आउँछन्, यसलाई स्वभाविक मान्न पर्छ र अझै शसक्त भएर संघर्ष गर्न तयार रहनुपर्छ। ढिलो चाडो उपेक्षित जाति, वर्गले न्याय पाउँछन्। न्याय नपाएसम्म आन्दोलन कमजोर भए पनि रोकिन भने हुँदैन। आन्दोलन कुनै पनि हालतमा जारी राख्नैपर्छ। बस सँच्चा आन्दोलनकारीहरु हिम्मत नहारी डटिरहन जरुरी छ। जीत सुनिश्चित छ।

लेखक थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका सदस्य हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *