स्वतन्त्र छन् थारू महिला
उन्नति चौधरी।
नेपाली समाजमा महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा अकाश पातालको फरक देखिए पनि नेपाली महिला भाग्यमा विश्वास गर्दै आफूले भोगेका सबै सही ठानेर विभिन्न खाले विभेद सही जीवन जिउन बाध्य छन्। नेपाली महिला सामाजिक संरचनाको लैङ्गिक विभेदले भरिपूर्ण छन् तर ति विभेद सबै भाग्यको खेल हो भन्दै सहेरै बसिरहेका छन्।
हाम्रो समाजले महिलालाई भावनात्मकरूपले बल्याकमेल गरी प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लिङ्गको अधारले विभेदमा पारिरहेको हामीसामु छर्लङ्ग छ। महिलालाई धर्मका नाममा प्रथाजन्य रीति र कुरीतिले पनि विभेदमा पारिरहेको हुन्छ। पहाडी समुदायका महिलालाई विधवा, कुमारी, देउकी, छाउपडी, दाइजो प्रथालगायत विभिन्न खाले विभेदले जन्जिरमा बाँधेको छ।
महिलाले समाजमा अरूका लागि राम्रो बन्नु पर्ने, अरूका लागि बाँचिदिनुपर्ने यावत कुराले कहिल्यै स्वतन्त्र हुन पाएनन् तर एक्काइसौं शताब्दीमा आएर नेपाली महिला लैङ्गिक विभेदको जन्जिरमा बाँधिएको महसुस गर्दै मेरो शरीरमाथिको मेरो अधिकारको खोजी गर्दै महिलाले आन्दोलन सुरु गरे।
दाइजो, छाउपडी जस्ता कुरीतिलाई निर्मूल पार्नका लागि डलरका खोला बगे तर त्यस्ता खाले कुरीतिको अन्यत्य हुनुभन्दा पनि रूप परिवर्तन भएर झन विकराल बन्न पुगेको छ। पहाडी भेगका महिला महिनावारी भएकै कारण छाउपडी बस्नु पर्ने बाध्यता छ। यदि कोही महिला १/२ महिना छाउ घरमा बसेन भने समाजले उसको चरित्र माथि प्रश्न उठाउन थाल्छ। छाउपडी घरमा बसेका थुप्रै महिला बलात्कृत, दुर्व्यवहारमा परेका, सर्पले टोकेर मृत्यु भएका, अपहरणमा परेका जस्ता घटना हामी सुनिरहेका हुन्छौ।
त्यसैगरी पूर्वी भेगका महिलालाई दाइजो नल्याएका कारण कुटपिट गरी घर निकाला गरेको, शारीरिक तथा मानसिक यातना दिइरहेको, ज्यूँदो शरीरमाथि मट्टीतेल खन्याइ आगोले जलाएको, श्रीमानको मृत्युपश्चात् श्रीमातीले सेतो कपडा लगाएर जीवन जिउनु पर्ने जस्ता घटना हामीसामु छन्।
यस्ता घटनाले महिला आन्दोलनलाई थप मजबुद बनायो र आन्दोलनपश्चात् नेपालमा बनेको नयाँ संविधानले महिलाको पक्षमा केही कानुन परिवर्तन गरी महिलाको पक्षमा कानुन परिमार्जित गरेको पहिलो इतिहास बनेर सावित हुन पुगेको छ। नयाँ संविधानले देशको निर्णयक तहमा महिलाको अर्थपूर्ण सहभागिता कायमगरी लैङ्गिक र लैङ्गिकताको सवाललाई मजबुत बनाउने प्रयत्न गरिरहेको छ तर विगतदेखि दासत्व जीवन बिताइरहेका नेपाली महिला लैङ्गिक र लैङ्गिकताको सवालप्रति चर्को अभिव्यक्ति दिइरहेका छन्।
योबेला थारू महिलाको इतिहास खोतल्दै गर्दा स्वतन्त्रताको हिसाबले अरू समुदाय भन्दा फरक भेटिन्छन्। हुन त थारू समुदाय आर्थिक, राजनीतिक, सामाजिक र शैक्षिकरूपमा राज्यबाट उपेक्षित परेको वर्ग भित्र पर्छन्। थारू समुदायका महिला परम्पपरागतरूपले पुरुष सरहको अधिकारको अभ्यास कायम गर्दै आएको अलिखित इतिहास छ। जुन कुरा पुरुषहरू राम्रोसँग स्वीकार्छन्।
थारू महिलाले पनि जातीयताका हिसाबले केही लैङ्गिक विभेद सहेकै होलान् तर अरू समुदाय भन्दा धेरै गुणा सहजरूपले स्वतन्त्रता पाएको इतिहास छ। थारू महिलामा महिनावारीप्रति कुनै खालको सवाल छैन। उनीहरू अरू समुदाय जस्तै महिनावारी भएको बेला छाउघरमा बस्दैनन्।
थारू महिलामा महिनावारी त प्रकृतिले दिएको उपज हो भनि सरसफाइ भई सहजरूपले पूजापाठ, पानी पँधेरो, गाईबस्तु ओसार्नेदेखि सामान्य अवस्थाको जस्तै त्यो बेला सबै थोक गर्न पाउँछन्। थारू महिला बिहेवारीमा पनि स्वतन्त्र छन्। उनीहरू उमेर पुगेपछि आफूले मन पराएको केटासँग विवाह गर्नमा कुनैखालको बन्देज हुँदैन।
विवाह सम्बन्धी नेपालको कानुनलाई हेर्ने हो भने महिला १८ र पुरुष २१ वर्षको उमेरको हदबन्दी तोकेको थियो। यो आफैमा विभेदपूर्ण छ भनि महिला अधिकारकर्मीले चर्को आलोचना गरेपछि विवाहमा महिला र पुरुषको उमेर बराबर हुने भनि कानुन परिमार्जन भएको छ तर थारू समुदायमा पुस्तौदेखि केटा र केटीको उमेरले केही फरक पार्दैन।
बरु केटा भन्दा केटी उमेरले जेठो हुनु शरीरिकरूपमा सक्षम भएको ठानिन्छ। विवाहपछि महिला श्रीमानको गोत्रमा मिसिन पुग्छ र श्रीमान सरह नै घरको प्रत्येक निर्णयमा सहभागी भएर समान अधिकारको उपभोग गर्न पाउँछ। त्यति मात्र होइन विवाहमा बेहुलाले आफ्नो भाइलाई स्याउला (सैभलुवा) बनाएर लान्छन् ता कि बेहुलाको कुनै कारणबस पत्नी भन्दा अगाडि मृत्यु भइहाले भाइले भाउजूलाई स्याहार्न पाउने संस्कार रहेको छ। त्यतिबेला एउटा विदुर पुरुषले पत्नीको मृत्युपश्चात् जे–जे गर्ने अधिकार हाम्रो सामाजिक संरचनामा छ, त्यो सबै अधिकार महिलालाई पनि छ।
थारू महिला श्रीमानको मृत्युपश्चात् घर व्यवस्थापन र बालबच्चाको हेरचाहका लागि पहिलो प्राथमिकता देवरलाई ठान्छन्। यदि घरमा उपयुक्त कोही व्यक्ति नभएको खण्डमा सासूससुराले कुनै राम्रो केटा खोज्ने र छोरीको जस्तै विवाह गरिदिने चलन पनि छ भने अर्को विकल्प यदि बुहारीले घर छोड्न नचाहेको खण्डमा मन पराएको केटालाई आफ्नो घरमा ल्याई धिवतरूपले भित्र्याउन सक्ने प्रावधान पनि छ। त्यसैले थारू महिला कहिल्यै विद्युवा हुँदैनन्।
श्रीमानको मृत्युपश्चात् पनि उनीहरू सेतो कपडा लगाउँदैनन्। पुरुषले पत्नी मरेपछि जसरी अर्को विवाह गर्न पाउँछन्
त्यसैगरी महिलाले पनि अर्को विवाह गर्न पाउने संस्कार छ। थारू महिला धार्मिक रूपमा पनि स्वतन्त्र छन्। पहाडी समुदायका महिलाले लाग्नेको आयु लामो होस् भनि पानी नखाइ तीज ब्रत बसे झैँ थारू समुदायका पुरुषले दिदीबहिनीको आयु लामो पार्न आइतवारी पर्वमा ब्रत बस्ने गर्छन्।
त्यो पर्वमा पुरुषले विभिन्न परिकार आफ्नै हातले बनाएर दिदीबहिनीलाई (अग्रासन) कोसेली दिने चलन छ। थारू महिला वर्षको एक पटक चरा जस्तै स्वतन्त्र भएर गाउँ भन्दा पर गएर (चिरै भजहर) मनाउने चलन पनि छ। त्यो दिन अविवाहित थारू महिला कुनै काम गर्दैनन् केवल हाँस्छन्, खेल्छन् र रमाउँछन् मात्र। त्यो दिन महिलाले जे गरे पनि छुट हुन्छ। बाटोमा हिँड्नेहरूसँग पैसा मागे पनि नरिसाएर दिनुपर्ने हुन्छ।
साँझ बिहान आमाबुबालेमीठो मसिनो परिकार बनाएर पुर्यातउन जानुपर्ने हुन्छ। एकै चोटी साझ सूर्य अस्ताउने बेला मात्र घर फिर्ता हुने संस्कार रहेको छ। यो संस्कारले थारू महिला स्वतन्त्र भएको गतिलो उदाहरण दिएको छ। राना थारू समुदायका महिला त झन घर गृहस्थीदेखि लिएर आर्थिक जिम्मेवारीमा श्रीमान भन्दा अगाडि हुन्छन्। उनीहरूको घरको प्रत्येक निर्णयमा निर्णायक मत हुन्छ।
उनीहरूको संस्कार अनुसार लोग्ने एकदमै तल्लो स्तरको हुन्छ। श्रीमानलाई खान दिने बेला पनि खुट्टाले सारेर दिने चलन छ। राना थारूको बिहेवारीको इतिहास खोतल्ने हो भने विवाह हुनु अगाडि नै कसैसँग सम्बन्ध जोडेर गर्भ भए त्यो महिला प्रजननरूपले सक्षम भएको मानिने चलन थियो तर पछिल्लो समयमा विभिन्न समुदायसँगको समन्वयन र सहकार्यका कारण यस्ता खालका चलन हराउँदै गई रहेका छन्।
थारू महिलाले आफ्नो संस्कृति छोडेर पहाडी समुदायको संस्कृति र संस्कारप्रति मोहित हुँदै उनीको संस्कृतिको प्रवर्द्धनतिर दौडिन पुगेका छन्। नेपाली महिलाले स्वतन्त्र, समान अधिकार र समान कार्य विभाजनप्रति निर्णायक मतको खोजी गरिरहेका बेला थारू महिला अरूको संस्कारप्रति मोहित भएकै कारण आफूले पाएको अधिकार आफैबाट खोसिने स्थिति अएको छ।
यो सबै आफ्नो अलिखित मूल्य र मान्यताको महत्व नबुझ्नुको पराकाष्ठा हो। त्यसैले अन्य समुदायले अधिकार खोसेरै लिनु पर्ने अवस्थामा थारू महिलाले रम्परागतरूपमा प्राप्त भएका अधिकार आफ्नै समुदायसँग लड्नु पर्ने अवस्था नओस्।
Facebook Comment