पाहुनाको सत्कार र संस्कृति बुझ्दै थारु युवती
९ वर्षीया बालिका सीता राना अहिले आफ्नो परम्परागत पहिरन लगाएर बस्तीमा आउने पाहुनालाई स्वागतका लागि नाचगान गर्न जान्ने भइसकिन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ नयाँ बस्तीका सीता राना गाउँकै रेटिना बोर्डिङ स्कूलमा कक्षा २ मा अध्ययनरत विद्यार्थी पनि हुन् । विद्यालय समयमा अध्ययनमा बिताउने उनी गाउँमा सञ्चालनमा रहेको राना थारू होम स्टेमा हुने नाचगानदेखि पाहुनाको स्वागतसत्कार गर्नमा व्यस्त हुन्छिन् ।
‘शुरूमा त मलाई घागरिया भनेको पनि थाहा थिएन,’ आफनो परम्परागत पहिरनबारे कुरा गर्दै उनले भनिन्, ‘अहिले त दिदीहरूबाट लगाउन पनि सिकिसकेँ ।’ ‘साँझ बिहान होम स्टेमा पाहुना आएको बेला स्वागत तथा नृत्यमा दिदीहरुसित सहभागी हुन्छु,’ बालिकाले भनिन् – ‘अहिले त स्वागत गर्न लाज पनि लाग्दैन ।’ उनले राना थारू होम स्टे सञ्चालनमा आएपछि आफनो संस्कृतिका बारेमा पनि बुझ्ने मौका पाएको पनि बताइन् ।
‘होम स्टेले हाम्रो कला, संस्कृति र पहिरन, रहनसहनका बारेमा पनि हामीलाई जान्ने मौका मिलेको छ,’ उनले भनिन् ।’ त्यसैगरी गाउँकै सरस्वती उच्च माविमा कक्षा–९ मा अध्ययनरत १७ वर्षीया सोमन राना पनि होम स्टेमा आउने स्वदेशी तथा विदेशी पाहुनाको चाहनाअनुसार समूहमा परम्परागत पहिरनमा सजिएर नृत्य तथा स्वागतमा खटिने समूहकी सदस्यमा पर्छिन् । ‘पाहुनालाई स्वागत कसरी गर्ने भनेर होम स्टे खुलेपछि थाहा भयो,’ सोमनले भनिन्, ‘होम स्टेले राना थारूको संस्कृति जान्ने अवसर पनि मिलेको छ ।’ ‘पुरानो पुस्ताले प्रयोग गर्ने लुगा, उपभोग गर्ने परिकार र लगाउने वेशभूषाका बारेमा हामी नयाँ पुस्ताले जानकारी पनि यसैबाट लिँदै छौं,’ उनले भनिन्, ‘गाउँका सबै युवापुस्ता अब पुरानो संस्कृतिको जगेर्नामा लाग्नुपर्छ भन्ने मनसायमा पुगिसकेका छन् ।’
होम स्टेबाट हुने आम्दानीको केही रकम नृत्य तथा स्वागतमा सहभागी हुने थारू युवतीको अध्ययनमा खर्चिने विषयमा पनि योजना बनिरहेको राना थारू सामुदायिक होम स्टेका सचिव चेतराम रानाले बताए ।
‘स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम जारी नै छ,’ सचिव रानाले भने, ‘होम स्टेले हाम्रो समुदायका युवापुस्ता पनि आप्mनो संस्कृतिबारे चासोका साथ यसमा जुटेका छन् ।’ उनी पनि होम स्टे सञ्चालनले नयाँ पिँढीलाई संस्कृति संरक्षणमा लाग्ने प्रेरणा मिलेको बताउँछन् ।
स्थानीयवासी केसमती रानाले भनिन्, ‘गरगहना मात्रै २० भन्दा बढी प्रकारका छन् ।’ आफूहरू होम स्टे सञ्चालनपछि परम्परागत गहना, पहिरन, रीति र संस्कृतिको संरक्षणमा जुटेको उनको भनाइ थियो । शुक्लाफाँटा वन्यजन्तु आरक्षसँग जोडिएको र एशियाकै लामो महाकाली नदीमाथिको झोलुङ्गे पुलबीच क्षेत्रमा होम स्टे रहेकाले निकै फस्टाउने आशा राना थारु समुदायको छ ।
‘झिझी नाच त हामी बिर्सिसकेका थियौं,’ स्थानीय चानुराम रानाले भने, ‘अहिले गाउँमा भएका पाकापुस्ताले यो नाच सिकाउँदै छन् ।’ घङ्गरिया, अङ्गिया, उनीयाँ, पैडा, गरेला, थिच्चु, फुल्बालगायत पहिरन र वेशभूषा लगाएर युवती नृत्य गर्छन् ।
सचिव चेतराम राना गाउँमै उत्पादित अन्न र तरकारी पकाएर खुवाउँदै आएका र त्यसलाई पाहुनाले असाध्यै रुचाएको बताउँछन् । नौवटा घरमा सञ्चालन रहेका होम स्टे नेपालमै पहिलो राना थारू समुदायको होम स्टे हो । पर्यटकका लागि शुक्लाफाँटाको मयुर, चित्तललगायतका पक्षी तथा जनावर होम स्टेबाटै हेर्न समेत सकिन्छ । यहाँ बस्ने पाहुनाले विश्वकै दुर्लभ बाह्रसिङ्गाको बथानसित रमेर बस्न पाउँछ । तराई भू–परिधि कार्यक्रम (ताल) को प्राविधिक तथा भौतिक सहयोगमा होम स्टे सञ्चालन गरिएको हो । रासस
Facebook Comment