Tharuhat-Birodh-Sabha_Dhangadhi-02

शेरबहादुर चौधरी

कथाकार महेश विक्रम शाहले पश्चिमी थारुहरुको बस्तीमा घट्ने यौन अपराधिक घटनामा आधारित कथा लेखेका छन्– ‘चोख्खाउनी’। अर्काको श्रीमतीलाई यौन दुर्व्यवहार गरेबापतको सजायस्वरुप एउटा सुंगुर, केही बोतल रक्सी, थौरै पैसा जारलाई (जार भनेको यौन पीडित महिलाको श्रीमान) दिएपछि दोषी दोषमुक्त हुन्छ, त्यही जरिमानाबापत मनाइने भोजलाई ‘चोख्खाउनी’ भनिन्छ।

यस्ता प्रकारका धेरै घटनाहरु न्यायिक छानबिनका लागि बाहिर आउँदैनथे र आएनन् पनि। गर्नेले जति गम्भीर अपराध गरेपनि ‘चोख्खाउनी’को भोजले सबै पवित्र हुन्छ र घटनाको दोषीलाई समाजले निर्दोषीको प्रमाणपत्र दिन्छ। कथाकार महेश विक्रम शाह अहिले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) छन्। उनले पश्चिमी थारु समाजको गलत प्रथा चोख्खाउनी लेखेबापत धेरै आलोचना खेपे तर चोख्खाउनीको प्रसंग सही, सत्थ र यथार्थ थियो।

पूर्वगृहमन्त्री बामदेव गौतमले एमाले पार्टी फुटाएर माले बनाएका थिए, जुन अहिले पनि छ र यसका अध्यक्ष सीपी मैनाली छन्। मालेका विद्यार्थी लडाकु रुपनारायण श्रेष्ठको संयोजकत्वमा यो पंक्तिकार पनि कञ्चनपुरको सीमाना कालापानी गयो र त्यहाँ हामीले नारा लगायौं, कालापानी सम्झौता खारेज गर, भारतीय विस्तारवाद मुर्दावाद, ओली चोर देश छोड’। भाषण गर्नेले भारतलाई अहिलेका प्रधानमन्त्री केपी ओलीलाई खुब गाली गरे। हामीले ताली सिट्टी बजायौं, तिनै कालापानीका दोषी नायक अहिले प्रधानमन्त्री छन्। उनले चोख्खाउनीको हर्जाना कति तिरे कुन्नी तर उनी अहिले निर्दोष सावितमात्र छैनन्, पवित्र पनि छन्। बिर्सिनेले कति चाँडो त्यो पीडा बिर्से कुन्नी। अहिले देशमा सक्कली राष्ट्रवादीका नायक ओलीमात्रै बनेका छन्।
कालापानी सम्झौतामा केपी ओली मुख्य दोषी मानिन्थ्यो। त्यसबेला भारतासँग मितेरी साइनो थियो ओलीको। अहिले कसरी पिठ्युँ फर्काए। यो त ओलीलाई नै थाहा होला।

जनयुद्धपश्चात शान्ति सम्झौतामा आइसकेपछि प्रचण्ड र बाबुरामले बाबुआमा लिएर थुप्रै मन्दिर गए। आफू मन्दिरबाहिर बसे, भित्र बाबुआमाले पूजा गरे। पश्चिम दुर्गम बस्तीका मन्दिरका मूर्ती घन्टहरुमाथि माओवादीका कार्यकर्ताले तोडफेडमात्रै गरेनन्, मन्दिरमा दिसा पिसाब गर्ने र पूजारीलाई दुर्व्यवहारसमेत गरे। चोख्खाउनीका बाबुराम, प्रचण्डका मातापिताले पूजा गरे र राजनीतिक छलकपटको परिभाषा हामी संस्कृतिविरोधी होइनौं भन्ने घोषणा गरे। यिनको विगतको क्रियाकलापमाथि ओलीले सयौं उखान टुक्काले व्यङ्य गरिरहे। यिनले नेपाली जनतालाई कस्तो ‘चोख्खाउनी’को भोज दिए कुन्नी? आजभोलि यिनको समय सम्धी सम्धीमात्रै भएको छ। जनताले माओवादीले गरेको क्रिया र ओलीको कलाप दुवै बिर्सिसके आज चोख्खाउनीबापत ओली धर्मनिरपेक्ष रााष्ट्रको प्रधानमन्त्री छन्।

माफी दिन नमिल्ने घटनाको दोषीलाई समेत चोख्खाउनीले चोख्याइदिन्छ। पश्चिम नेपालतिर थारुहरुको आन्देालन केही दिनका लागि जोडतोडले चल्छ। लक्ष्मण थारु, रेशम चौधरीहरु पश्चिमी थारु आन्दोलनका अगुवा हुन्। तर विचरा लक्ष्मण रमेश चौधरीहरु लङ्काको युद्ध त लाड्छन्, पगरीजति रामजनम चौधरीलाई गुथाइदिन्छन्। रामजनम काठमाडौंमा बसेर टिभी रेडियोमा अन्तर्वार्ता दिन्छन्, रेशम, लक्ष्मणहरु धनगढी, टीकापुरको टन्टलापुर घाममा भाषण गर्छन्। जब सरकारसँगको कचहेरी चल्छ (कचहरी भनेको छलफल) लक्ष्मण, रेशमहरु जेल जान्छन्, पत्तासाप हुन्छन्, चोख्खाउनीमा रामजनमले सयौं सुङ्गुरको बलि चढाउँछन्, रक्सीको छ्यालछ्याल गर्छन् र दोषमुक्त बन्छन्। सरकारी आसनमा बसेपछि बोराका बोरा पैसा थुपार्छन्। किनकि राजनीति गर्नका लागि सयौं चोख्खाउनी दिनुपर्ने हुन्छ। जुन चतुर रामजनमहरुलाई थाहा छ। अख्तियारलाई राम्रैसँग थाहा छ, संविधानमा सहमति जनाउने रामजनमहरुलाई कारबाही गरेपछि सरकार एक्लिन्छ र हार्नुपर्छ। आखिर एकताको संघर्षको सिपाहीको हत्या गर्न कुन अख्तियारले चाहन्छ र? बरु अलि अलि ‘चोख्खाउनी’को भोज भए त भैहाल्यो नि।

थरुहट आन्दोलनमा टीकापुर काण्ड खुब चर्चामा रह्यो। आठ जना सुरक्षाकर्मी र एक बालकको ज्यान गएपछि घटना चर्चामा रहने नै भयो। सबैलाई थाहा छ, घटनाको दोषी को को हुन्?

त्यसबेलाका गृहमन्त्री बामदेव गौतमले भने– त्यहाँ त (आन्दोलन) भारतीय अनुहार थुप्रै थिए रे! कमरेड गौतम गृहमन्त्री थिए। उनका जासुस सिपाहीलाई थाहा थियो कि थिएन? त्यहाँ माओवादीका केन्द्रीय नेता चार चार दिनसम्म गोप्य छलफलमा व्यस्त थिए।

प्रहरीका सुराकीलाई यो कुरा राम्रोसँग थाहा छ तर दोषीको सारा बिल्ला थारु जातिलाई बनाइयो, थारुका घर, होटल, एफएम, पसल सब जलाइए। सरकारले लगाएको कर्फ्यूको बीचमा भएको यो घटजाको जिम्मा सरकार पटक्कै लिन चाहन्न। बरु आजसम्म टीकापुरका ट्यापे मुन्द्रेहरुलाई एक एकको गेट, इटा, रुख सबै चोर्ने सहमति दिएको छ।

सशस्त्र प्रहरी, जनपद प्रहरीका बीचमा नमिलेको तालमेलले घटेको घटनामा निर्दोष थारुलाई दोषी बनाइयो। दोषीलाई चोख्खाउनीको भोज खुवाएर सरकारमा मन्त्रीको पगरी गुथाइ सामेल गराइयो।

अन्त्यमा, टीकापुर घटनापछि थारुहरुको बस्तीमा महिलाहरुमाथि दुर्व्यवहार भएको छ। घर लुटिएको छ। खतरनाक प्रहरी प्रशासक पठाएर अझै दमन गरिँदैछ र दमन गर्ने नीति सरकारले लिएको छ। महेश विक्रमको कथा चोख्खाउनीजस्तै नीति सरकारले लियो भने दूरदिन टाढा छैन। सहमतिका साथ न्याय भयो भने चोख्खाउनी स्वीकार छ। हुन्छ होला थारुहरुका लागि। सरकारले थारुहरुलाई क्षतिपूर्तिबापत चोख्खाउनी दियो भने, थारुका मागलाई पूरा गरियो भने, सहमति नजिक छ। दौरा सुरुवाल बिर्सेर सुट टाइ लगाउनेहरुको झुण्डले नेपालभन्दा पो हाँसो उठ्छ। कतै जनताले फोस्रो राष्ट्रवादको चोख्खाउनी खाएर यिनलाई माफ गरेका त होइनन्? जे होस् जस्तो होस भित्र घोत्लिएर निर्णय गरौं, सम्झौता चोख्खाउनीमै छ। चेतना भया।




Leave a Reply

Your email address will not be published. Required fields are marked *